दुस्मनको कालकोठरीबाट महान् सहिदहरूलाई चिठी

आदरणीय सहिद
अटुट सम्झना ! अविरल सम्झना !

हालसम्मलाई म ठिकै छु । महान् सहिद तपाईं पनि आत्माको बलिदानमा पश्चाताप नगरी केही बेचैनीसहित बस्नुभएको होला भन्ने आशा गरेको छु । सहिदहरूको अमरत्वको स्थायी सत्यको आलोकमा ज्युँदो मानिसको हैसियतले एउटा चिठी लेख्दैछु तिम्रो नाममा । माफ गर्नुहोला, म आफूमा उत्पन्न भावना र विचार अभिव्यक्ति सहजताका लागि ‘तिमी’ प्रिय शब्दद्वारा सम्बोधनको अनुमति चाहन्छु ।

प्रिय सहिदहरू !

आज मेरो देशमा तिम्रो रगतबाट खरिद गरिएको हाँसो हाँस्नेहरूको बिगबिगी छ । त्यसैले कहिल्यै तिमीलाई आफ्नो उत्सर्गमा थकथकी त लागेको छैन ? प्रश्नद्वारा रगरगी गर्ने मन लागेको छ ।

प्रिय सहिद !

निरन्तर मेरो दिमागमा प्रतिबिम्बित तिमीलाई साक्षी राखेर सामान्य समझदारीपूर्ण विश्वासका साथ भन्न सक्छु– सहिदको पवित्र उद्देश्य तत्कालीन समाजको यथास्थितिमा परिवर्तन गर्नु हुन्छ जुन परिवर्तनमा देश र जनताले सापेक्षिक राम्रो जीवन बाँच्न सकून् । यसका लागि यथास्थितिवादी, मूर्ख, घमण्डी पहाडलाई कुल्चन आवश्यक आफ्नो अमूल्य जीवनको बलिदान गर्न तयार हुनु हो । स्पष्टतः नियन्त्रित र उत्पीडित मानव जातिको स्वतन्त्रता, समानता र समुन्नतिका लागि देश र जनताको पूर्ण मुक्ति र सुन्दर नयाँ भविष्यका लागि हाँसीहाँसी जीवनको आहुती दिनु हो । आधारभूत रूपमा नेपाललाई सामन्तवाद र साम्राज्यवादको उत्पीडनबाट मुक्त गर्नु हो । ठोस रूपमा नेपाललाई एक स्वतन्त्र र आत्मनिर्भर राष्ट्रको पहिचान दिनु हो जहाँ जनताहरूका आधारभूत आवश्यकताहरू पूरा हुँदै जाऊन् । कसैले पनि आफूलाई अपहेलित र दोस्रो दर्जाको नागरिक महसुस गर्न नपरोस् । मानिसहरूले तत्कालीन सामाजिक जीवनभन्दा अझ राम्रो जीवन बाँच्न पाऊन् । तिम्रो पिँढीले भोगेका समस्याहरू फेरि नदोहोरिऊन् । यो समस्या समाधानमा तिम्रो रगत बग्यो । सकेसम्म अरूले पुनः रगत बगाउनु नपरोस् । तर आजको परिवर्तनले तिम्रो शिर उँधोमुन्टो पारेर बेस्सरी गिज्याइरहेको छ । समस्याहरू सङ्कटउन्मुख छन् । देश र जनताहरूले पुरानै समस्याको भुमरी भोग्दैछन् जुन भुमरीको वेग र अन्धकारले मानिसहरूलाई तर्साउँदै र छोप्दै लगेको छ । यो स्थितिमा तिम्रो महानता र अमरत्वमा प्रश्न उठ्दैछ । सम्मान र सम्झना केवल कर्मकाण्डीय औपचारिकता बन्न पुगेको छ । वास्तवमा शासकका लागि तिमी स्वयम् अत्यधिक नाफामूलक एक बिकाउ मालमा पो फेरिएका छौ । हो, साँच्चै सहिद तिम्रो रगतको सौदा गरिँदैछ । हो, यहाँ जनताको आँसु र पसिनाको लाखौँलाख बेरोजगार युवाहरूको, देशको स्वाभिमानको, कालापानी र सुस्ताको, राजनीतिक र आर्थिक क्रान्तिलगायत परिवर्तनका नारा र एजेन्डा सबैसबै व्यापार मात्र भैरहेको छ । खासमा राजनीति एक फस्टाउँदो व्यवसाय बनेको छ । यो सत्य उजागर गरी कहिलेकहीँ मन अमिलो भई निचोरिएर आँखाले आफ्नै भाषा बोल्दै जीवनको आभास दिए पनि वास्तविक जीवन नभएको महसुस हुन्छ । ज्युँदो लाससरह हुन्छ । तर मैले ज्युँदो लासमाथि टेकेर शासकलाई निर्बाध अगाडि बढ्न दिएको छैन ।

बरु गर्वका साथ भन्न मन छ फेरि, सहिदहरूको महान् आदर्शमा दृढतापूर्वक उभिएको छु । तिम्रा अधुरा सपना पूरा गर्न तिमो मार्ग अनुसरण गरेको छु । तिमो रगतबाट खरिदिएको हाँसो हाँस्नेहरूमाझ एक नयाँ चुनौती बनेर उठेको छु । महान् जनयुद्ध सहिदको रगतको खेती त थिएन तर बनाइयो । जसरी मानवहरूमा सहिद एक सर्वोत्कृष्ट मानव हो, ठीक त्यसरी महान् जनयुद्धका सहिदहरू पनि सर्वोत्कृष्ट मानिस नै हुन् तर विडम्बना ! ती सहिद भैसकेका छैनन् । राज्यले सहिद मानेकै छैन, बरु सहिद बनाउनेहरू पनि सहिद छन् । यसको पङ्क्तिमा भिरबाट लडेका र गाडीबाट कुल्चिएका सहभागी छन् । यो दलाल पुँजीवादको खास विशेषता पनि हो । अनि सहिदहरूका सन्ततिहरूको गुनासो र असन्तुष्टि पोखिएको छ । जसले परिवर्तनका खातिर आफ्नो अमूल्य जीवनको आहुती दिए उनकै सन्ततिहरूलाई पनि सम्बोधन गरी सन्तुष्टि दिन नसक्ने परिवर्तनले अझ जनतालाई खुसी दिन सक्ला भनेर कसरी विश्वास गरौँ ? तत्कालीन जनयुद्धको मूल नेतृत्वको विचलन र पलायनले सहिदको परिभाषा खण्डित र विकृत बनाएको छ । सहिदलाई एक बिक्रीको वस्तुमा परिणत गरिदिएको छ । अब सहिद, बेपत्ता परिवारका समस्याहरू, घाइते योद्धाका दुःख–पीडाहरू, भुइँ तहका कार्यकर्ता र जनताका समस्याहरू केवल विज्ञापन र व्यापारका वस्तुहरू बनेका छन् । यहाँ वस्तुहरू र बातहरू (कुराहरू) को दलाली खुबै मौलाएको छ । यी यस्तै समस्या देखाएर नवधनाढ्यले चुनाव जित्ने भर्याङ मात्र बनाउँदैछन् । जनयुद्धताका आलोचकहरूले लगाएको सहिदको खेतीको आरोपलाई सही साबित गर्ने आधार प्रदान गरेको छ ।

ओ ! प्रिय सहिद !!

अन्त्यमा यति मात्र भन्नु छ मैले– नेपालमा सहिदको व्यापार गर्ने मात्र छैनन् । तिम्रो रगतबाट साटिएको हाँसो हाँस्नेहरू मात्र छैनन् । तिम्रो आदर्शको आँसु पिएर बाँच्नेहरू पनि छन् । तिम्रा अधुरा सपना पूरा गर्न फेरि मोर्चा कस्नेहरू पनि छन् जुन तिम्रो सपना पूरा हुँदा साँच्चीको नयाँ, वैज्ञानिक, सुन्दर र नयाँ संसार प्राप्त हुनेछ । त्यसैले आफ्नो बलिदानको कहिल्यै पश्चाताप नगर्नू, बरु मार्गदर्शक बनिरहनू क्रान्तिकारीका लागि । आफन्तहरूलाई ढाडस दिँदै भन्नू– धैर्य गरे, जति नै दुःख भए पनि सहिदको रगत र गरिबको आँसुको सौदा गर्नेहरूका सामु आँसु नपोख्नू, बरु अर्को क्रान्तिका लागि सोच्नु अनि प्रतिक्रान्तिकारीलाई चुनौती दिनू र भन्नू– अवश्य एक दिन तिम्रो पतन हुनेछ जसको कारण तिम्रो उत्थानमा बगेको हाम्रो रगत र जनताको आँसु बन्नेछ ।

प्रिय सहिद ! प्रतिक्रान्तिको दबाबमा परेर अब तिमीले निराशा र विवश आफन्तहरूलाई सपनीमा आएर मेरो काजकिरिया गर नभन्नू, बरु अधुरो जनक्रान्ति पूरा गर भन्नू । विपनामा क्रान्तिकारीका लागि मार्गदर्शन बनिरहनेछौ भन्ने पूर्ण आशासहित अहिलेलाई यति नै ।

उही तिम्रो शुभचिन्तक
भरत बम ‘रणवीर’
हाल बर्दिया कारागार

प्रतिक्रिया दिनुहोस