नेपालमा पहिलो पटक स्थानीयमा देखियो कोरोना संक्रमण

चैत २२, कैलाली । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमण स्थानीयबासीमा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन नयाँ संक्रमित मध्ये एक कैलालीकी ३४ वर्षीया महिला स्थानीय हुन् । उनी चौथो संक्रमितका आफन्त हुन् ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीका अनुसार ‘चौथो संक्रमित विदेशबाट आएर घर बसेका थिए । ज्वरो आउने लगायतका समस्या देखिएपछि अस्पताल गएका थिए । अहिले उनकै आफन्तलाई संक्रमण देखिनु भनेको कोरोना संक्रमणको लोकल ट्रान्समिसन हो ।’

‘विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रोटोकल अनुसार यसलाई कोरोना संक्रमणको दोस्रो चरण मानिन्छ,’ उहाँले अघि भन्नु भयाे, ‘यदि छरछिमेकलाई पनि संक्रमण भएको रहेछ भने त्यसलाई कम्युनिटी (समुदाय) ट्रान्समिसन भनिन्छ ।’

कम्युनिटी ट्रान्समिसन महामारी पूर्वको अवस्था हो । त्यसैले नेपालका लागि यो साता निकै महत्वपूर्ण हुने मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्कीले बताउनु भयाे ।

यसअघि नेपालमा देखिएको ६ वटा संक्रमण विदेशबाट आएकाहरुमा मात्र देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस