पाइप बाेकेर आफैं जनताकाे घरदैलाेमा नगर प्रमुख शाही

२१ जेष्ठ, कालिकोट । खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाही खानेपानीको पाइप बाेकेर आफैं जनताको घरदैलोमा पुग्नुभएकाे छ ।

नगरबासीका माग र आवश्यकतालाई बुझ्दै नगर प्रमुख शाही आइतबार खानेपानीको पाइप बाेकेर आफैं २ नम्बर वडाको दलित बस्ती आहालामा पुग्नुभएकाे हाे ।

नगर प्रमुख शाहीले १४/ १५ घरदुरी रहेको आहालामा खानेपानीको समस्या भएको गुनासो आएपछि आफैं पाइप बाेकेर जानुभएको थियो । उहाँले तत्काल खानेपानीको समस्या समाधानको लागि पाइप उपलब्ध गराएको र विस्तारै एक घर धारा बनाउने नगरको याेजना रहेको बताउनुभयो ।

उहाँले उत्पीडित समुदाय आफ्नो पहिलो प्राथमिकता रहने भन्दै नगर सरकारले बनाउने हरेक विकासे याेजनाहरू दलित लक्षित हुने पनि बताउनुभयो ।

भेटघाटको क्रममा नगर प्रमुख शाहीले खरका छानाेले आगलागीको जोखिम हुने भएकोले खरकाे छानामुक्त नगर बनाइरहेको र खरका छाना भएका घरधनीले नगरमा आएर सेवा लिन पनि आग्रह गर्नुभयो ।

नगर प्रमुख शाहीले खरको छाना भएको घरहरुको तथ्यांक संकलन गरि याे वर्ष चार सय घररूमा जस्ताकाे छाना हाल्ने काम भइरहेको बताउनुभयो ।

नगर प्रमुख शाहीले नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउन घरदैलोमै पुगेर सेवा प्रवाह सँगै नगरवासीका गुनासो सुन्ने र समस्या बारे बुझने गरेको पनि बताउनु भयो ।

वडाका योजना साना छन् । सम्झौताका लागि नगरपालिका पुग्नुपर्ने उपभोक्ताको बाध्यता छ । उनीहरूको समय र स्रोतको बचतकाे लागि पनि आफू घरदैलोमै पुग्ने गरेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस