नेकपाद्धारा कृष्ण बडुवाल (महेश)को स्मृतिमा ड्रागनको विरुवा रोपेर श्रद्धाञ्जली सभा

पृथ्वी लोहार

 

१७ असोज,कैलाली । नेपाल कम्युनिष्ट पार्टीले नेकपा माओवादी केन्द्रका नेता कृष्ण बडुवाल (महेश)को स्मृतिमा ड्रागन फुटको विरुवा रोपेर कम्युनिष्ट संस्कार अनुसार श्रद्धाञ्जली सभा गरेको छ ।

नेकपाले कैलालीको लम्कीमा बुधवार श्रद्धाञ्जली सभाको आयोजना गरी बडुवालको स्मृतिमा ड्रागन फुटको विरुवा समेत रोपेर श्रद्धाञ्जली सभा मार्फत बडुवाललाई श्रद्धाञ्जली व्यक्त गरेको हो ।

नेकपाले शरिर मरेर गएपनि बडुवाले क्रान्तिमा खेलेको भूमिका र इतिहास कहिल्यै नमर्ने चर्चा गर्दै बडुवालले माओवादी आन्दोलनमा महत्वपूर्ण भूमिका पुरा गरेको भन्दै उच्च मुल्याङ्कन गर्दै सम्मानसमेत व्यक्त गरेको छ । बडुवालको केही दिन अघि मात्र विरामी भई निमोनिया विग्रिएर मृत्यु भएको थियो ।

उनी जनयुद्ध देखि माओवादी आन्दोलनमा सक्रिय भएर लागेका थिए । माओवादी विभाजनका समयमा वैद्य तथा विप्लवले नेतृत्व गरेको नेकपा माओवादीमा लामो सयम सम्म नेतृत्व तहमा रहेर क्रान्तिको काम गरेका थिए ।

विचारधारात्मक रुपमा क्रान्तिकारी विचारका धनी बडुवाल एकडेढ वर्ष अघि मात्र नेकपा माओवादी केन्द्रमा प्रवेश गरेर नेकपा माओवादी केन्द्रको सुदूरपश्चि प्रदेश कमिटीको उपाध्यक्ष भएका थिए ।

बडुवाल अति मिलनसार, मिजासिलो तथा हँसिलो स्वभावका एक क्रान्तिकारी नेता थिए । उनको जीवनसंगीनी र एक छोराको गतवर्ष मात्र बस दुर्घटनामा ज्यान गएको थियो । बडुवालले त्यसपछि अर्को विवाह गरेका थिए र साथमा एक छोरी समेत रहेकी छिन । नेकपाका पोलिट व्यूरो सदस्य विकल्प सी,असल सी लगायतका नेता तथा कार्यकर्ताहरुले बडुवाल प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनको सपना पुरा गर्ने प्रतिवद्धता जनाएका छन ।

नेकपाका केन्द्रीय सदस्य असल सीले बडुवाल को स्मृतिमा उनको घरनजिकैको बारीमा ड्राईगन फुटको विरुवा पनि रोपेका थिए । श्रद्धाञ्जली कार्यक्रममा उनको फोटोमा माल्याअर्पण गरिएको थियो ।

नेकपाका पूर्वी कैलालीका सेक्रेटरी दिलबहादुर सी ले संचालन गरेको श्रद्धाञ्जली कार्यक्रममा जिल्लाका नेकपाका सम्पूर्ण नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस