व्यक्तिको नोकर चाकर हुन सकिएन, हामीले जागिर छाड्यौः पूर्व नगरप्रहरीहरु

२० भाद्र, कालिकोट । रास्कोट नगरपालिकाका ४ जना पूर्व नगरप्रहरीहरुले कोही व्यक्तिको नोकर चाकर हुन नसकेका कारण आफूहरुले जागिर छाडेको बताएका छन ।

उनीहरुले नगरप्रहरीकोवारे अहिले उठिरहेको वादविवाद र छलफलप्रति आफुहरुको पनि गम्भीर ध्यानाकर्षण भएको बताउदै जसले जे भनेपनि आफुहरुमाथि नोकर जस्तै व्यवहार गरिएकाले जागिर छाड्नु परेको बताएका हुन ।

पूर्व नगरप्रहरी कपुरे विश्वकर्माले तलव दिने १६५०० तर काममा पेल्ने २२ घण्टा भएपछि कसरी काम गर्नु ? भनि गुनासो गर्नु भयो ।

उहाँले नगरप्रहरीलाई नगरसरकारको काममा लगाउनु त स्वभाविक भएपनि हवल्दार धनवहादुर शाहीको घरको व्यक्तिगत काममा समेत लगाउनेसम्म गरिएको बताउनु भयो ।

‘हामीलाई कुनै सेवा सुविधा थिएन । तलव १६५०० र रासन ५००० गरी २१५०० पाउथ्यौ । त्यो पनि रासनको पैसामा अनियमिता गरिन्थ्यो । रातदिन जतिबेला पनि काममा पेल्ने, तलव त खान मात्रै ठिक्क हुने हुन्थ्यो । म केही मद्यपान र धुम्रपान गर्दिन थिए’ पूर्व नगरप्रहरी कपुरेले ज्वाला खवरलाई भन्नु भयो, ‘तर पनि तलव महिनामा १० हजार पनि बचाउन सक्दिन थिए । त्यसले केही नहुने घरपरिवार पाल्न समेत गाह्रो हुने भएकोले जागिर छोडेको हुँ ।’

‘नगरले सेवा सुविधा राम्रै दिएको भए, नियमअनुसार श्रममा लगाएको भए घरको पायकपर्ने जागिर छोडेर विदेशीनु कुनै रहर थिएन । पारिश्रमिक छैन, काम २२/२३ घण्टा गर्नुपर्छ । कसरी बस्नु त नोकर झैं भएर ?’ उहाँले भन्नुु भयो । उहाँ अहिले जागिर छोडर रोजगारीको लागि जापानकाे तयारी गरिरहनु भएको छ ।

अर्का पूर्वनगरप्रहरी खम्ब सार्कीले पनि कसैको नोकर हुन नसकेर जागिरबाट विदा लिएको बताउनु भएको छ । उहाँले सरकारी काम मात्र नभई प्राईभेट व्यक्तिको काम पनि नोकर जस्तै गर्नु परेको गुनासो गर्नु भयो ।

‘व्यक्तिगत काममा घरको नोकर झै भएर बस्न सकिएन । कहिले मेयर धर्मराज शाहीको त कहिले प्रहरी प्रमुख धनबहादुर शाहीको रक्सी बोक्न लगाईयो’ पूर्व नगरप्रहरी सार्कीले भन्नु भयो, ‘घरको काममा लगाउने, काममा पनि पावरको भरमा पेलिने, न्युन सेवा सुविधामा २४ सैं घण्टा काममा खटिनु पर्ने, मानशिक टर्चर दिने, पारिश्रमिक पनि समयमा नदिने ६ महिनापछि तलव दिने जस्तो धेरै समस्या भएपछि जागिर छोडियो ।’

नगरप्रहरीमाथि गरिएको चरम श्रम शोषणको पूर्व नगरप्रहरीहरुले दुखेसो गरेका हुन । उनीहरुले आफुबाट निकै दुख गरेपनि त्यसको जस नदिएको गुनासो गरेका छन ।

पूर्व नगरप्रहरी रविन्द्र लुवारले आफुहरुमाथि धेरै अमानवीय व्यवहार गरिएपछि जागिर छोडनु परेको प्रतिक्रिया दिनु भएको छ । उहाँले नगरका विभिन्न बेथितिको साँच्चि मात्र होईन कसैको नोकर भएर वस्नु पर्ने जस्तो भएपछि जागिर छाडेको ज्वाला खवरलाई बताउनु भयो ।

‘नगर प्रहरी ऐन अनुसार काममा नखटाई व्यक्तिगत नोकर जस्तो बनाईयो । सेवा सुविधा र उपकरण विना २४ सौं घण्टा खटिनुपर्याे’ पूर्व नगरप्रहरी लुवारले भन्नुभयो, ‘नगर प्रहरीको नाममा सामान देखि रासनमा समेत नगर प्रहरी प्रमुखले घोटाला गर्थे । हामीले व्यक्तिगत रूपमा बनाएको बाइकको विल समेत नगरमा पेस गरेर प्रहरी प्रमुखले पैसा खानेसम्म काम गरे । उनी नगरप्रमुखका फुपुको छोरा थिए । जति भनेपनि नगरप्रमुखबाटै संरक्षण गरिन्थ्यो ।’

अर्का पूर्व नगरप्रहरी समिर शाहीले त नगर प्रहरीमाथि भएको दुरव्यवार बारे यसअघि पनि सबै लेखेरै सार्वजनिक गर्नु भएको छ । उहाँले नगरप्रहरीले दारु वोक्नेदेखि कसैको नोकर जस्तै भएर काम गर्नु परेको सार्वजनिक गर्नु भएको छ ।

उहाँले धार्मिक मेला, महोत्सव, सभा–गोष्ठी, सडक सुरक्षा, स्कुल सुरक्षा, भीड–भाड व्यवस्थापन, आगलागी वा आपतकालीन अवस्थामा सहयोग, बालबालिका तथा महिलाको सुरक्षा, वृद्ध–वृद्धा सुरक्षा जस्ता जिम्मेवारीहरू भोक, प्यास नभनी नगरप्रहरीले इमानदारीपूर्वक पूरा गरेको दाबी गर्नु भएको छ ।

उहाँले आफ्नो लेखमा लेख्नु भएको छ ‘राति–राति पनि हामी सक्रिय भएर खटिन्थ्यौं । बालुवा, गिट्टी, काठ तस्कर नियन्त्रण, बाटो निर्माण, ढुङ्गा फुटाउने, पुरानो भवनको काठ र फलाम लोड/अनलोड गर्ने कार्यहरू रातको समयमा समेत गरियो । तर नगरप्रहरीले काम कार्यबिधि भन्दा बढि गरेर पनि सेवा – सुविधा भने केही थिएन । उपकरण पनि केहि भनेको जस्तो थिएन ।’

पूर्व नगरप्रहरी शाहीले हवल्दार धनवहादु शाहीको आदेशमा कहिले ढुङ्गा फुटाउने, ट्याक्टर लोड गराउने त कहिले शान्तिघाटमा बालुवा , गिट्टि लोड त कहिले रास्कोट भित्रकै खोला खोल्सामा बालुवा उतार्ने त कहिले काठ बोकाएर लोड तथा निर्माण कार्यमा लगाउने गरिएको बताउनु भयो ।

‘हामीलाई कहिले व्यक्तिगत बोइलर कुखुराको दाना बोकाउनेसम्म काममा लगाईयो, कहिले लोकल कुखुरा बोकाउनेसम्म काममा लगाईयो । कहिले दारु होटल वा घरमै पुर्याउने कामसम्म गराईयो । यो नगर प्रहरीलाई निजी नोकरझैँ प्रयोग गरियो । अहिले पनि गरिरहेका छन’ पूर्व नगरप्रहरी शाहीले सार्वजनिक गरेको लेखमा लेख्नु भएको छ ।

पूर्व नगरप्रहरी श्रृष्टी शाहीले भने आफू धेरै यसवारे बोल्न नसक्ने बताउनु भएको छ । आफूले बोल्दा विवादमा तान्ने भएकाले केही बोल्न नचाहेको ज्वाला खवरलाई बताउनु भयो । नगरपालिकाका नगरप्रमुख धर्मराज शाहीको आफन्ती भएकाले पनि श्रृष्टीले केही बोल्न नचाहेको हुनसक्छ ।

नगरप्रहरीको यो चर्चाकाविच नगरपालिकाले फेरी नगरप्रहरी भर्नाको प्रक्रिया सुरु गरेको छ । हवल्दारमा पुरानो जनशक्तिबाट बढुवा नगरी २ पदमा नयाँ विज्ञापन खोल्दा अहिले मौजुदा रहेको नगरप्रहरीभित्र असन्तुष्टि फैलिएको नगर श्रोतले बताएको छ ।

अहिलेसम्म ६ जना नगर प्रहरीले जागिर छाेडेर भारतको गल्ली देखि खाडीसम्म पुगेका छन । पूर्व नगर प्रहरी समीर शाहीले एक वर्ष अघि नगरप्रहरीको जागिर छोडेर अहिले दुबईमा रोजगारीको लागि पुगेका छन । उनीसंगै रविन्द लुवार र खम्ब सार्की राेजगारीकाे लागि भारत पुगेका छन भने अशाेक बम नगर प्रहरीको जागिर एक वर्ष नपुग्दै छाेडेर जापान गएका थिए ।

अर्का पूर्व नगरप्रहरी कपुरे विक जापानको तयारी गरिरहेका छन । श्रीष्टी शाहीले भने नेपामै बसेर नेपाली सेनाको तयारी गरिरहेको बताउनुभयो । नगरप्रहरीहरुले चर्को श्रम शोषण गरिन थालेपछि जागिरमाथि लात हाल्दै रोजगारीको लागि विदेश पुगेका छन । १५ जना नगरप्रहरीको विज्ञापन मार्फत नगरप्रहरी भर्ना गरिएपनि अहिले आधाजसो भन्दा कम मात्र संख्या नगरप्रहरी वाँकी रहेका छन ।

प्रतिक्रिया दिनुहोस