कार्तिक २०, वाँके । नायिका केकी अधिकारीले चलचित्र ‘कोहलपुर एक्सप्रेस’पछि नयाँ चलचित्र बनाउने तयारी गर्नु भएको छ । हाल, चलचित्रको लागि वर्कशप चलिरहेको केकीले संचारमाध्यमलाई जानकारी दिनु भएको छ । केकीले भन्नु भयो ‘चलचित्रको पूर्व तयारी चलिरहेको छ । यसैले, अहिले नै कलाकारको बिषयमा भन्न गाह्रो छ ।’
केकीले चलचित्रमा ‘कोहलपुर एक्सप्रेस’का निर्देशक विशाल भण्डारी भने निर्देशकको रुपमा नरहने बताउनु भयो । विशालले ‘केमडी च्याम्पियन्स २’को तयारी गर्नुपर्ने भएकाले उहाँले यसपटक चलचित्र निर्देशन नगर्ने केकीको भनाई छ ।
केकीले भन्नु भयो ‘मैले पहिलो चलचित्र कमेडी कथामा निर्माण गरेकी थिएँ । यसपटक भने सामाजिक कथामा चलचित्र बनाउँदैछु । यसैले पनि यसको पूर्व तयारीका लागि केही समय लिनुपर्नेछ । वर्कशप सुरु भएको १ महिना भयो । अझै २ महिना वर्कशप नै हुनेछ ।’
केकीले चलचित्रको सम्पूर्ण टिमको जानकारी केही समयपछि दिने बताउनु भयो । केकीका अनुसार, फागुनबाट चलचित्रको छायांकन सुरु गर्ने तयारी गरिएको छ ।