महाप्रसाद अधिकारी बने राष्ट्र बैंकको नयाँ गभर्नर

चैत २४, काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र  पूर्वसचिव केशव भट्टराईको नाम सिफारिस गरेको थियो ।

तर लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत समेत रहेका अधिकारीले बाजी मार्नुभयाे ।

पाँच वर्षअघिको त्यो प्रस्ताव

आजभन्दा पाँच वर्षअघि राष्ट्र बैंकको नयाँ गभर्नर पद खाली हुनैलाग्दा तत्कालीन डेपुटी गभर्नर महाप्रसाद अधिकारीसहित तीनजनाको नाम गभर्नरको लागि सिफारिस भएको थियो। सिफारिसकर्ता थिए तत्कालीन अर्थमन्त्री डा. रामशरण महत । एक डेपुटी गभर्नर सहित कम्तीमा तीन जनाको नाम सिफारिस गर्नै पर्ने प्रावधान अन्तर्गत उहाँको पनि नाम सिफारिस भएको थियो ।

तर, त्यतिबेला डा. चिरञ्जीवी नेपाल गभर्नरको बाजी मार्नुभएकाे थियाे ।

त्यतिबेला डा. नेपाल तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार हुनुहुन्थ्याे । प्रधानमन्त्री हाबी हुने गभर्नरको नियुक्ति प्रकृयामा त्यतिबेला नेपालले नै बाजी मारेपछि अधिकारीको गभर्नरको दौड केही समयको लागि रोकियो । उहाँको डेपुटी गभर्नरको पद बाँकी नै थियो । गभर्नरका प्रतिस्पर्धी नेपालसँगै दुई वर्ष काम गरेर अधिकारी ०७३ सालमा डेपुटी गभर्नरको कार्यकाल पूरा गरी राष्ट्र बैंकबाट बाहिरिनु भयाे ।

अधिकारीले त्यसको पाँच वर्षपछि अहिले गभर्नरको दौडमा बाजी मार्नुभएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद‍्ले अधिकारीलाई अबको पाँच वर्षको लागि राष्ट्र बैङ्कको नयाँ गभर्नरको रुपमा नियुक्त गर्ने निर्णय गर्‍यो ।

प्रतिक्रिया दिनुहोस