२४ वैसाख,वाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ स्थित सोनार मण्डी यतिबेला पुरै शोकमा डुबेको छ । एउटै घरका तीन दाजुभाइको कोरोना संक्रमणबाट मृत्यु भएपछि टोल शोकमा डुबेको हो ।
नेपालगन्ज–३ का वडाध्यक्ष मोहम्मद अयुव सिद्धिकीका अनुसार उक्त टोलका एकैघरका तीन दाजुभाइको तीन दिनको फरकमा मृत्यु भएको हो ।
सिद्धिकीका अनुसार घरका माईला छोरा ४२ वर्षीय जाहिर अहमद हल्वाईको बुधबार कोरोना संक्रमणबाट भेरी अस्पतालमा मृत्यु भएको थियो ।
उहाको मृत्युले परिवार शोकमै डुबेका बेला त्यसको भोलिपल्टै ४८ वर्षीय अर्का छोरा ईजाज अहमद हल्वाईको मृत्यु भयो ।
त्यसपछि पनि घरमा मृत्यु हुनेको श्रृंखला रोकिएन ।
परिवारकै अर्का छोरा ५२ वर्षीय ईन्तियाज अहमद हल्वाईको पनि शुक्रबार मृत्यु भयो ।
भेरी अस्पतालमा उपचारका क्रममा उहाको बिहान ३ बजेतिर मृत्यु भएको थियो । भेरी अस्पतालमा यही वैशाख १६ गते पिसिआर परीक्षण गराउँदा उहालाई कोरोना पुष्टी भएको थियो ।
वडाध्यक्ष सिद्धिकीले घरमा अझैपनि केही ब्यक्ति बिरामी रहेको भन्दै घरमा अझै केही बिरामी भएर थला र कोरोनाको लक्षण रहेको वताउनु भएको छ । ‘
मृतक सबैको मुस्लिम धर्म अनुसार अन्त्येष्टी गरिएको छ ।
उक्त वडाकै बासिन्दा संविधान सभा सदस्य मोहम्मदी सिद्धिकीको पनि यसअघि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
वडामा अहिलेसम्म कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भइसकेको वडाध्यक्ष सिद्धिकीले जानकारी दिनु भयो ।