कर्णालीको पीडा, पहिचान र अधिकारका सांस्कृतिक भाका काठमाडौंमा गुञ्जिदा…।

२४ जेठ, काठमाडौ । ‘न त बाटो चालखियाको, न एरपोट चलेको, कर्णालीका पीडा सम्झि, मुटु छ जलेको’ यो मार्मिक देउडा गितको टुक्का उदयीमान कलाकार प्रकाश अधिकारीको हो । उनले आफ्नो कला र गला मार्फत कर्णालीमा बाटो राम्रो नहुदा कर्णालीवासीले अकालमा जीवन गुमाउनु परेको पीडा पोखे । अनि कालिकोटको सुनथराली एरपोट बन्न सुरु भएको झण्डै साढे चार दशक भएपनि अझै सुचारु नभएको गितका शव्दबाट दुखेसो पोखे ।

शनिवार काठमाण्डौको भृकुटीमण्डपको महेन्द्र पुलिस क्लवको सुविधा सम्पन्न सभाहलमा नरहरिनाथ गाउँपालिका कालिकोट र कर्णाली कलाकार प्रतिष्ठान काठमाडौले आयोजना गरेको ‘कर्णाली पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३’ को कार्यक्रममा कलाकार अधिकारीको गित यत्तिमात्र सीमित भएन ।
उनले थप देउडा गित मार्फत भने,
निकै र आनन्दै छौक्या कर्णालीका माईस
सबैकन ढोक दर्शन छ, पड्याको छ चान्स ।
तोम्रा सुईना हाम्रा सुईना भयाका नाई पुरा
कुरा एक काम अर्को गर्दा मुटु लाग्दो छुरा ।
सदुपयोग भईजा अव, खेर जाने पानी
पीतल खानी बनाई फाल्या हुनत हो सुन खानी ।

उनका यि शव्दबाट कर्णालीको पीडा,कर्णालीको अवस्था र राज्यले गरेको व्यवहार ऐना जस्तै प्रष्ट्याएको छ । उनी जस्तै थुप्रै स्थानीय कलाकारहरुले आफ्ना सांस्कृति झाँकी तथा कलाहरु प्रस्तुत गर्दै कर्णालीको अवस्था झल्काएका छन ।

यसले सिंगो कर्णालीको संस्कृति कर्णालीको भूगोलबाट मात्र होईन काठमाडौको मुटु भृकुटीमण्डवमा प्रदर्शन भयो । जसमा कर्णालीका परम्परागत संस्कृति,माघल, झोडा, झाँकी,हुड्के नाच, देउडा,मयुर नाच,सुर्खेती टप्पा, सल्यानी भाका,दुलाली भाका, ठाडी भाका, सिगारु नृत्य लगायतका विविध सांस्कृति पहिचान झल्किए ।

मलाई लागेको थियो कर्णालीको सांस्कृति महोत्सव काठमाडौमा नै किन आयोजना ? तर वास्तविकता फरक भेटियो । महोत्सवको आयोजना गर्ने नरहरीनाथ गाउँपालिका र कर्णाली कलाकार प्रतिष्ठान काठमाडौले कर्णालीका आवाजहरु काठमाडौले कहिल्यै सुन्न नचाहेका कारण महोत्सव काठमाडौमै आयोजना गरेकोे जवाफ दिए ।

उनीहरुले कर्णालीको लोक संस्कृतिको जर्गेना हुन नसकेको, जल,जंगल, जडिवुटी र पर्यटकीय क्षेत्रको प्रवद्धन हुन नसकेको भन्दै राज्यको सौतेनी व्यवहार कर्णालीले अहिले पनि खेप्नु परेको गुनासो गरे । जसले गर्दा पनि महोत्सव सिंहदवारकै नजिक आयोजना गरिएको आयोजकहरुको जवाफ थियो । महोत्सवमा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री तथा कर्णालीवासी पूर्ण बहादुर खडका,माननीय रमेश मल्ल, नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाही, नेकपा नेता धनजित शाही लगायतका नेता,कलाकार, पत्रकार तथा वौद्धिक व्यक्तित्वहरुको गरिमामय सहभागिता थियो ।

महाेत्सवमा प्रमुख अतिथि खड्काले शुभकामना दिदै एक दिने महोत्सवले कर्णालीको सवै परम्परागत कला संस्कृतिहरु प्रस्तुत हुन नसक्ने भन्दै आउने दिनमा कम्तीमा दुईदिन गर्न सुझाव दिए । उनले सबै कर्णालीवासीको कला प्रस्तुतिलाई शुभकामना तथा बधाई दिदै थप कर्णालीको विकास,पर्यटन प्रवद्धनका लागि आफ्नो सक्दो प्रयास रहने बताए ।

खचा खच भरिएको पुलिस क्लवको सुविधा सम्पन्न हलमा धेरै जसो कर्णालीवासीका अनुहारहरु थिए । आफ्नै जन्मथलो,कला र संस्कृतिप्रति सबैको आत्मा गडेको हुन्छ । सायद ! कर्णालीवासीहरुको मन मनमा पनि कर्णालीको माया, कला र संस्कृतिप्रति गहिरो गरी आत्मा गडेको थियो ।

भावनात्मक रुपले निकै नजिक भएका कलाकार र कर्णालीवासीहरु महोत्सवको झकि झकाउ र रमझमले मख्ख नै थिए । महोत्सवको औपचारिक उद्घाटन पानसमा वत्ति बालेर प्रमुख अतिथि पूर्वमन्त्री खडकाले गरे ।

आयोजक संस्था कर्णाली कलाकार प्रतिष्ठान काठमाडौ कि अध्यक्ष टिका पुनले स्वागत मन्तव्य दिदै कर्णालीको पीडा वेदना मात्र होईन,प्राकृतिक साधन श्रोतले कर्णाली प्रचुरमात्रामा धनी भएको भन्दै त्यसको विकासका लागि काठमाडौले कर्णालीको कुरा सुन्नु पर्ने बताईन । लगत्तै स्वागत गित प्रस्तुत गरियो । स्वागत गितको प्रस्तुतीसंगै कर्णालीका लोक संस्कृतिका भाकाहरुको पर्दा खुल्यो । अभै भन्नु पर्दा कर्णालीको विविध संस्कृतिको वाढी नै सुरु भयो ।

कर्णालीका चर्चित कलाकार टिका पुन र सुरेश शाहीको स्वर र राजेन्द्र भट्टको शव्दमा सजिएको कर्णालीको मिठो देउडा भाका ‘झल्क– झल्क– झल्क हिमाल, कठै कर्मभूमी जहाँ भएपनि जन्मभूमी हो मेरो पश्चिम नेपाल’ कलाकार दिलु सुनार लगायत कलाकारहरुको टिमले प्रस्तुत गरे । प्रस्तुत गितको शव्दले भन्दै थियो,
वाई जन्म्याको वाई हुर्केको,उहि वोली जानेको
बाध्यताले भूमी छोडी टाढा फाल हानेको ।
जनभुल्या जन्मभूमी आईगया फर्केर
बन न्याउली तम्रै लागि रुदाछन धर्केर ।
खोली बनका पाटेवाघ हाड खान्छैकी मासु
जन्म्या ठाउँ सम्झयाकी बेला गहभरी आँसु ।
सालसालै फुल्याका फुल्यै हजारी फुल पनि
आँखा आँसु वग्न लाग्या पानीका मुलबनी ।
‘झल्क– झल्क –झल्क हिमाल, कठै कर्मभूमी जहाँ भएपनि जन्मभूमी हो मेरो पश्चिम नेपाल’

यो मिठो देउडा गितले हलमा सहभागीहरु निकै भावुक भए । धेरैका गह भरीएर आए । आँखाहरु रसाएर आए । कर्णालीको एकताको भावनात्मक सम्वन्धको डोरी कसिन थाल्यो । चारैतिर गुञ्जयमानहलमा कर्णाली कर्णालीका आवाजहरु घन्निरहेका थिए । चारैतिर हलमा सहभागीहरु खुसीले नाँचिरहेका थिए ।

यसले कर्णालीको एकता र मोह बढाईरहेको थियो । यस्तै कर्णालीको शुभ कार्यमा गाईने परम्परागत माघल गित जुम्ली महिलाहरुले प्रस्तुत गरे । आफ्नै भेष भुसामा यो गित प्रस्तुत गर्दा सिंगो जुम्लाको चित्र हलभित्र देखियो ।

आफ्नै भेष भुषामा हुम्लाबाट सहभागी महिलाहरुले हुम्ली देउडा प्रस्तुत गरे । मुगाली महिलाहरुले पनि परम्परागत घुम्टो प्रथालाई व्याङग्य गर्दै टाउको नदेखिने गरी नाँच्ने चम्पा नृत्यको प्रस्तुत गरे । मुगुकै दमाहा नाँच प्रदर्शन गरियो । यता कालिकोटको हुड्के नाँच र दमाहा पञ्चेवाजा प्रस्तुत गरियो । सुर्खेती टप्पा,सल्याली भाका र जाजरकोटको सिगारु नृत्य र दैलेखको दुलाली भाका पनि प्रस्तुत गरियो । यसले कर्णालीलाई काठमाडौमा नजिकबाट चिनायो ।

कलाकार कृष्ण रेउले लगायतका कलाकारहरुले सल्यानमा गाईने निकै लोकप्रिय मालै गित गाउदा हल निकै भावुक देखिन्थ्यो । कलाकार रेउलेका गितका शव्दहरु यस्ता थिए,
माथि कुमाख तल खारकोट वीचैमा सल्यान
जता जान्छु ठक्कर खान्छु भएन कल्याण ।
विहान उठी घरकै धन्धा स्याली सोतर जाउला
गाउँको दुख गाउमै भइगो सुख त कहाँ पाउला । मालै ……।

लय हालेर गाएको यो गितले गाउँको पीडा उतारेको थियो । कर्णालीको वास्तविक मर्म र पीडा यहाँ वकलिएको थियो । कर्णाली देउडा गितको धनी क्षेत्र हो । कर्णाली तथा सुदूरपश्चिमको गहना नै देउडा हो भन्नेमा कुनै विवाद छैन । महोत्सवमा देउडा गितले पनि प्राथमिकता पायो र यसले निकै हललाई ततायो । कालिकोटका कलाकार महेन्द्र शाही रास्कोटीले मञ्चमा उभिएर ‘स्याप्प काट्यो सालीम, माम खाईदेउ दुधे गालीम’ भाकामा देउडा प्रस्तुत गरे ।
कोही हुम्लाकी कोही जुम्लाकी कोहीमाथि मुगुकी
सहुँरई
लाग्या उडिकन कोलउदै पुगुकी ।
को वाईगो गुहार आज वाजुराका कुडी
खाईजापन मेरा भाग आईजा पन उडी ।
भाग्य भए लालु पोईल नभए लोखाडा
क्यानिउले भेट गर्न आईजाउ सुवा भईगई टाढा । ‘स्याप्प काट्यो सालीम, माम खाईदेउ दुधे गालीम’

उनका यी देउडाका शव्दहरु लय हालेर गाउँदा हल हल्लिएको थियो । पाईति मिलाएर देउडा धन्किएको थियो । दर्शक होईन सबै कलाकार जस्तै थिए हलमा । कर्णालीकै मैदानमा डुबुल्की मारिरहेका थिए । यो कुनै काठमाडौको भृकुटीमण्डप थिएन ।

उद्घोषकले सुर्खेती टप्पा प्रस्तुतिको कासन गर्दै गर्दा सुर्खेती कलाकारहरुले टिका पुन र अर्जुन सोनमको स्वरमा बजारमा आएको गित ‘भेरीमा मन आत्तिन्छ’ भन्ने प्रस्तुत गरेका थिए । गितका शव्दहरु यस्ता थिएः
परेलीको बलेसीले चोली भिजायो
आज तिमलाई नर्विसेर मुटु विजायो ।
‘झम्के साँझमा, सम्झना छदैन यो मुटु माझमा’
भेरीमा मन आत्तिन्छ , सम्झिदा सोल्टी ज्यू खेरीमा..।
दिनदिन जिन्दगी नै भारी हुने भयो
मुटु टुक्रा छुट्टी वारी पारी हुने भयो ।
‘खोली दोभान, दिनरातै ढल्केर गयो जोवन’
भेरीमा मनआत्तिन्छ, सम्झिदा सोल्टी ज्यू खेरीमा ..।

यो प्रस्तुतिले महोत्सवलाई थप रोचक बनायो । कर्णालीलाई सबैको आँखा अगाडि ल्याएको अनुभूति गरायो । कार्यक्रममा कर्णालीका कलाकारको वेजोर प्रस्तुति मात्र होइन राष्ट्रिय कलाकार राजु परियारले समेत कर्णालीको संस्कृतिलाई साथमा साथ दिदै आफ्नो प्रस्तुति प्रस्तुत गरे । उनले सुरुमै कर्णालीको देउडालाई प्राथमिकता दिदै
‘प्रदेशी लाहुरे मत वम्बै गईजानेछु,मेरी मनकी प्यारीलाई संगै लैजानेछु’
(लालुपात, छुट्टीम जनमथात)

यो गितले कर्णालीवासी मख्ख भए । हल सुनसान भयो । यस्तै कलाकार परियारले समाजमा देखिएको जातीय विभेद विरुद्ध गाएको अर्को गित ‘जति सक्छौ तर्क मायालु, मैले छोईदा छोईन्छ भने त सुनपानीले छर्क मायालु’ प्रस्तुत गरे । उनले हलमा अर्को ‘कोले रुमाल हल्लायो सानु, टाढैबाट सुशेली हालेर’ भन्ने दोहोरी भाकामा आफ्नो प्रस्तुति समेत प्रस्तुत गरे । यसले हललाई निकै उत्साहित बनायो । हलका सहभागीहरु चारैतिर छमछमी नाँच्न थाले । हलमा तालीले गड्गडाहट भयो । माहोल तातिएर आयो । प्रमुख अतिथिदेखि मञ्चमा भएका अतिथिहरु पनि छमछमी नाँच्न थाले । यसले कर्णालीलाई थप उर्जा दियो ।

कार्यक्रममा कर्णालीकी उदयमान कलाकार विपनासिंले पनि आफ्नो जोडदार प्रस्तुति प्रस्तुत गरिन । उनले कर्णालीलाई पछि पारिएको भाव सहित गितका शव्दहरु लयमा व्यक्त गरिन । भनिनन्
कहिले मन खुसीले गद्गद कहिले मन तर्सिन्छ
कर्णालीको मान्ठकन मेरो ढोक दर्शन छ ।
निकै र आनन्द छौ कि भन प कसाछौ
राज्यबाट झन पछाडि परेका जसाछौ ।
अघि बढ्नु भुपेन्द्र शाही,अनि रमेश मल्ल
नडराउ है पूर्ण खड्का मौका आयो,बल्ल ।
म गाउँले कलाकार मान्ठ क्यादिउ दोष कहिकन
रुदैछन कर्णालीवासी विकास नभईकन ।

यो प्रस्तुतिले हल फेरी तातियो । गड गडाहट तालिले कलाकारको स्वागत भयो । साँच्चीकै कर्णालीका पीडा गितमा समेटिएका थिए । गित गित मात्र होईन यो संस्कृति पनि थियो । यो राजनीति पनि थियो । यो विकास र नयाँ सभ्यता पनि थियो । यहि कुरालाई आत्मसाथ गर्दै कर्णालीवासीको जम्घट थियो भृकुटीमण्डपमा !

कलाकार प्रकाश अधिकारीले देउडा गितकै शव्दबाट ‘सदुपयोग भईजा अव, खेर जाने पानी पीतल खानी बनाई फाल्या हुनत हो सुन खानी’ भनेर प्रस्तुत गरेको गित निकै मार्मिक थियो । कर्णाली प्राकृतिक रुपमा सु सम्पन्न भएपनि सुनको गहना भएपनि यसलाई सदुपयोग नगरेर पीतल खानी बनाएको भाव त्यहाँ थियो । कर्णालीको कला संस्कृतिको रक्षा गर्न र सुनको खानीलाई सदुपयोग गर्न राज्यलाई झक्झकाउनु अधिकाँस प्रस्तुतिहरुका भावहरु थिए । कर्णाली पर्यटन तथा सांस्कृतिक महोसत्वको सभाअध्यक्ष महोत्सव आयोजक पालिका नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले समापन गरेको घोषणा गरेपछि पनि देउडा गितले चारैतिर कर्णालीमय थियो । महेन्द्र पुलिस क्लव होईन कर्णाली क्लवको दृश्य थियो । यसले कर्णालीको एकता,सदभाव, विकास, संस्कृतिको रक्षा र पर्यटन प्रवद्धन लगायतका विविध क्षेत्रमा इट्टा थपेको छ । कर्णालीका पीडा, पहिचान र अधिकारका सांस्कृतिक झाँकी र लोक भाकाहरु काठमाडौंको महेन्द्र पुलिस क्लवमा गुञ्जिनु सौभाग्यको विषय थियो ..।

प्रतिक्रिया दिनुहोस