२२ साउन,बाँके । नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादास्पद व्यक्ति ल्हारक्याल लामालाई नियुक्त गरेको विषयमा नेकपा माओवादी केन्द्र भित्र र वाहिर चर्को विरोध भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार सम्वन्धि केही राम्रो काम गरी जनतामा आसा जगाईरहेको बेला एउटा विवादमा तानिएको व्यक्तिलाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने कुराले माओवादीको ‘रुपान्तरण नएर रकमान्तरण’ भएको माओवादी भित्रकै कार्यकर्ताले ठहर गरेका छन ।
नेकपा माओवादी केन्द्रका बाँकेका जिल्ला सदस्य तथा माओवादी केन्द्र निकट प्रेस सेन्टरका लुम्विनी प्रदेशका उपाध्यक्ष प्रदिप वाक्लेले आफ्नो फेुसबुकवालमा स्टाट्स लेख्दै माओवादी रुपान्तरण नभएर रकमान्तरण भएको भन्दै पार्टीको चर्को आलोचना गर्नु भएको छ ।
उहाँले स्टाट्समा लेख्नु भएको छ “यस्ता नियुक्तिहरुले रुपान्तरणको होइन रकमान्तरणको सन्देश दिन्छ । सरकारले यो निर्णय तत्काल सच्याउनु पर्छ ।”
नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटाले पनि विवादास्पद व्यक्तिलाई माओवादीले बोकिरहने कुराले माओवादी फैलिने भन्दा पनि खुम्चिने वताउनु भएको छ ।
उहाँले आफ्नो फेसवुकवालमा स्टाट्स लेख्दै विवादास्पद व्यक्तिलाई पुरस्कृत नभई दण्डित गर्नु पर्ने माग गर्नु भयो ।
पत्रकार देवकोटाले आफ्नो स्टाट्समा लेख्नु भएको छ “एउटा विवादास्पद ब्यक्तिलाई जबसम्म माओवादीले बोकिरहन्छ नि, तबसम्म माओवादी फैलिने होइन, खुम्चिने हो । अहिलेको अवस्थामा विवादास्पद ब्यक्तिलाई पुरस्कृत होईन माओवादीले दण्डित गर्नुपर्ने हो । तर उल्टो भइरहेछ ।”
लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादस्पद व्यक्ति नियुक्त भएको विषयमा पार्टी भित्र मात्र होइन वाहिर पनि चर्को विरोध भएको छ । सत्तारुढ दलका नेता, विपक्षिय दलका नेता,वुद्धिजीवी,लेखक तथा जनताबाट पनि विरोध भएको छ ।
लेखक तथा वुद्धिजीवी डम्वर खतिवडाले ‘किन फर्की–फर्की आउँछन् ‘ल्हारक्याल’ हरू ?’ भन्ने शिर्षकको अनलाईन खवर डट्कममा लेख लेख्दै माओवादी नेतृत्वको सरकारको कामको चर्को विरोध गर्नु भएको छ । उहाँले यो नियुक्तिले प्रचण्ड सरकारको छवि एकाएक धुलिसात भएको ठोकुवा गर्नु भयो ।
लेखक खतिवडाले ‘तस्कर राज्य’ र ल्हारक्याल लामाहरूबीचको सम्बन्ध पुनश्चः एकपटक सतहमा आएको दाबी गर्नु भयो ।
लेखक खतिवडाले लेखमा लेख्नु भएको छ “लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादास्पद व्यक्ति ल्हारक्याल लामाको नियुक्तिसँगै सबै एकाएक सपनाबाट ब्युँझे झैं भएका छन् । अनेक काकतालीले सकारात्मक बन्दै गएको प्रचण्ड सरकारको छवि एकाएक धुलिसात भएको छ । ‘तस्कर राज्य’ र ल्हारक्याल लामाहरूबीचको सम्बन्ध पुनश्चः एकपटक सतहमा आएको छ । ठूला गफ पिट्दै र अनेक ‘स्टन्ट’ हान्दै हिंडेका पर्यटन तथा संस्कृतिमन्त्री सुदन किरातीको क्विन्टल सुन प्रकरणदेखि बोली मलिन हुन थालेको थियो । ल्हारक्याल लामा नियुक्ति प्रकरणसम्म आइपुग्दा उनी ‘परेको बेहोर्ने’ मनस्थितिमा देखिएका छन् ।”
विवादास्पद पृष्ठभूमिका लामा पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य हुनुहुन्छ । उहाँ ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक–पटक पक्राउ पर्नेु भएको थियो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनु भएका उहाँलाई पाँच वर्षका लागि मन्त्रिपरिषद्ले लुम्विनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त गरेको छ ।
यसअघि कोषको उपाध्यक्ष रहनु भएका अवधेश कुमार त्रिपाठीको कार्यकाल साउन १० मा पूरा भएपछि विवादित व्यक्तिलाई नयाँ उपाध्यक्ष पदमा नियुक्त गरिएको हो । लामा माओवादीमा आउनु भन्दा पहिला कांग्रेस र एमालेमा संगठित भई विभिन्न लाभहरु लिदै आउनु भएको थियो ।
के हुन त ? लामाका विवादास्पद घटनाहरु
३० फागुन २०७२ मा नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालयको लकरमा १४ थान गोली फेला प¥यो । अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने क्रममा गोली भेटीएको थियो । लकरमा सुनचाँदीजस्ता बहुमूल्य धातु नभई पेस्तोलका गोली राख्ने व्यक्ति संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री ल्यारक्याल लामा हुनुहुन्थ्यो । ल्यारक्यालको धार्मिक नाम डा. खेन्पो छिमे छिरिङ हो र सिन्धुपाल्चोक हेलम्बुका बासिन्दा हुनुहुन्छ ।
ठगी र भ्रष्टाचारका आरोपी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ सालमा लामाविरुद्ध भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर गर्यो । झण्डै १० करोड रुपैयाँ भ्रष्टाचारको अभियोग लगाइएको थियो । २०५८ पुस १९ गते गुम्बा विकास समितिमा नियुक्त हुनु भयो ।
वास्तविक आय भन्दा ९ करोड ४४ लाख रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको देखिएको भन्दै अख्तियारले उहाँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उहाँलाई भ्रष्टाचार निवारण ऐन, २०१७ र २०५९ अनुसार जरिवाना र कैद सजाय माग गरिएको थियो ।
तर विशेष अदालतले सफाइ दिएपछि भने सो फैसलाको सर्वत्र विरोध भयो ।
त्यसअघि पनि लामाको लकरमा १४ राउण्ड गोली भेटिएपछि र वैदेशिक रोजगारी ठगीको आरोपमा समेत गरेर उहाँ जेल बस्नु भएको थियो ।
उहाँले मकाउ पठाइदिने भन्दै २ करोड १९ लाख रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेपछि प्रहरीले पक्राउ गरेको थियो ।
अपरच्युनिटी म्यानपावर सर्भिसेजका अध्यक्ष केशबबहादुर गुरुङले ल्यारक्यालसहित फुर्वा लामा र तिरिङडोल्मा लामाविरुद्ध २०६९ भदौमा उजुरी दिनु भएको थियो ।
गुरुङले निवेदनमा ‘ल्यारक्यालकी भाञ्जी भन्ने खिनाले मकाउमा हाउसकिपिङ, क्लिनर, वेटर र सेक्युरिटी गार्डको ३ सय २० जनाको कोटा ल्याइदिने भन्दै पटक पटक गरी २ करोड १९ लाख रुपैयाँ ठगी गरेको’ उल्लेख गर्नु भएको थियो कोटा ल्याएबापत कमिसनस्वरुप उहाँहरुले सो रकम लिएर आफूलाई ठगेको उहाँको निवेदनमा छ ।
२०५८ मा गुम्बा विकास समितिको अध्यक्ष चाहिँ उहाँलाई कांग्रेसले सिफारिस गरेको थियो । उनी मन्त्री हुँदा समेत दोहोरो नागरिकताको विवादमा फस्नु भएको थियो सोही बेला उहाँले राजीनामा समेत दिनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस