२० असाेज, कालिकोट । समाजवादका पक्षमा जनमत निर्माण गर्ने र कम्युनिष्ट एकताकाे पहलका लागि घोषणा गरिएको ‘समाजवादी मोर्चा’ काे कालिकोट जिल्लाको घोषणा सभा असाेज २३ गते हुने भएको छ ।
सदरमुकाम मान्ममा शनिवार बसेको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल लगायतका राजनीतिक दलका नेताहरूकाे बसेकाे बैठकले समाजवादी मोर्चा जिल्लाको घाेषणा यही असाेज २३ गते गर्ने निर्णय गरेको हाे ।
समाजवादी माेर्चाकाे केन्द्रीय कार्यक्रम अनुसार प्रदेश सभा घाेषणा सभा सँगै जिल्ला र स्थानीय तहसम्म संरचना बनाउने निति अनुरूप जिल्लाको घाेषणा सभा हुन लागेको नेकपा जिल्ला सेक्रेटरी शाहासी सीले जानकारी दिनुभयो ।
समाजवादी माेर्चा सम्बद्ध दलहरूका नेता कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी, नेकपा केन्द्रीय सदस्य तथा माेर्चाका प्रदेश सदस्य कर्णबहादुर सी, मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी, जिल्ला इन्चार्ज बलवान् सी, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सचिव धनजित शाही, जिल्ला संयोजक शैलेन्द्र चाैलागाई, एकीकृत समाजवादीका नेता तुलराज विष्ट, धिरबहादुर विष्ट, चित्रसिंह गाउँले र जनता समाजवादी पार्टीका नेता लगायतकाे बैठकमा सहभागिता रहेको थियो ।
बैठकले माेर्चाकाे घाेषणा सभा कार्यक्रमको प्रमुख अतिथिकाे रूपमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति भरत सीलाई आमन्त्रण गर्ने निर्णय गरेको छ ।
मोर्चाले समाजवादी विचार धारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने भएको छ । यसले देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न दबाबकारी भूमिकासमेत खेल्ने बताइएको छ ।