फाइनल अघि भारतसँग हार्‍यो नेपाल

मंसिर २१, पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत महिला फुटबलमा फाइनल अघि नेपाल भारतसँग पराजित भएको छ ।

पोखरा रंगशालामा भएको खेलमा भारतले आयोजक नेपाललाई १-० गोल अन्तरले हराएको हो । दुबै टोली यसअघि नै फाइनलमा पुगिसकेका थिए । त्यसैले शनिबार भएको खेललाई ‘पि्रभ्यू म्याच’ का रुपमा हेरिएको थियो, जसमा भारतले बाजी मागरेको छ ।

एनजी बालादेवीले १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाउनु भएकाे थियाे । निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले गोल फर्काउन सकेन । खेलको १० औ मिनेटमा सरु लिम्बुले डिबक्स भित्र पाएको राम्रो अवसरलाई बायाँ खुट्टाले प्रहार गर्दा बलले फस्टबार नजिकैबाट बाहिरिएको थियो ।

सावित्रा भण्डारी ‘साम्बा’लाई भारतले निकै मार्क गरेको थियो, जसका कारण उहाँले पनि पाएको अवसर सदुपयोग गर्न सक्नु भएन । नेपाली टोलीका प्रशिक्षक हरि खड्का भन्नुहुन्छ, ‘भारतसँग हाम्रो खेल एकदमै टफ लेबलको थियो । तर, पाएका चान्सेसलाई क्याच गर्न नसक्दा हार्‍यौं ।’

भारतीय प्रमुख प्रशिक्षक म्यामल रक्की खेल जित्न धेरै कठिन भएको प्रतिक्रिया दिनु भयाे । ‘आजको खेल एकदमै प्रतिस्पर्धात्मक भयो । मलाई लाग्छ हामीलाई मात्रै होइन, विपक्षीलाई पनि खेल अवधिभर उत्तिकै प्रेसर भएको हुन सक्छ,’ उहाले भन्नु भयाे ।

दुवै देश स्वर्ण पदकका लागि सोमबार मैदानमा उत्रनेछन् ।

प्रतिक्रिया दिनुहोस