बाबुरामले संसदमै मागे प्रधानमन्त्री ओलीको राजीनामा

वैशाख २६, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नु भएकाे छ । संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्रीलाई आग्रह गर्नु भएकाे हाे ।

राजनीतिक दल फुटाउने र संवैधानिक परिषद्मा विपक्षी दलको नेता नभए पनि निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको अध्यादेश लोकतन्त्रविरोधी हर्कत भएको भन्दै उहाँले ‘फिर्ता लिइहाल्यो, भइहाल्यो भन्ने अवस्था नरहेको बताउनु भयाे ।

सांसद अपहरण प्रकरणमा प्रधानमन्त्री वा निकटस्थ संलग्न भएको र उनीहरुविरुद्ध जाहेरीसमेत नलिएको उहाँले बताउनु भयाे । भट्टराईले अघि भन्नु भयाे ‘उल्टै हामीमाथि नै मुद्दा लगाउने र परोक्ष र प्रत्यक्ष ढंगले फच्चे गर्न पहल गर्ने ?’

प्रधानमन्त्रीबाट लोकतन्त्रविरोधी गम्भीर गतिविधि भएको भन्दै उहाँले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गर्नु भयाे । ‘प्रधानमन्त्रीसँग मेरो आग्रह छ, जुन उचाईमा पुग्नुभएको छ । त्यही रहनुस्’ उहाँले अघि भन्नु भयाे, ‘तपाईले अनावश्यक ढंगले यस्ता गतिविधिमा संलग्न हुँदा आफैंमाथि अन्याय भएको छ । रोगले जीर्ण भएको शरीरलाई तपाईले आराम दिनुपर्छ । लोकतन्त्र र आफैं छविलाई बचाउन तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ ।’

ओलीको विकल्प के हुन्छ भन्ने प्रश्न उठ्ने भन्दै उहाँले पूर्वप्रधानमन्त्रीहरुले दाबेदार नबन्ने प्रस्ताव गर्नु भयाे । ‘६०/६५ उमेर कटेकाहरु प्रत्यक्ष कार्यकारीको भूमिकामा नरहने, प्रधानमन्त्रीको दाबेदार नबन्ने र हामीले नयाँ पुस्तालाई अगाडि ल्याउने दिशातिर गयौं भने देशले निकास पाउँछ । लोकतन्त्र सुदृढ हुन्छ’ उहाँले भन्नु भयाे ।

प्रतिस्पर्धासँगै न्यूनतम राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्ने भन्दै उहाँले कांग्रेस कम्युनिस्ट, पहिचानवादी शक्तिहरुबीच मेलमिलाप कायम गर्न आग्रह गर्नु भयाे । ‘तर तपाईहरुको सरकार गिरोस्, फेरि च्याखे थापेर सरकारमा जाउँ भन्ने मनसाय छैन । तपाईहरुले आफ्नै पार्टीका असल मान्छेहरुलाई अगाडि बढाउनुस् । पाँच वर्षलाई जनताले जनादेश दिएका छन् । त्यहाँ हाम्रो दाबी हुँदैन’ उहाँले भन्नु भयाे, ‘तर महत्वपूर्ण राष्ट्रिय मुद्दामा मेलमिलाप कायम गरेर जाऊँ ।’

यसका लागि टीकापुर घटनामा दोषी ठहर भएर निलम्बनमा रहेका सांसद रेशम चौधरीको मुद्दा फिर्ता लिन र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई सहमतिमा ल्याउन पूर्वप्रधानमन्त्री डा. भट्टराईले आग्रह गर्नु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस