२७ जेठ, काठमाडौ । नेकपा(माओवादी)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सीेले विवादित व्यक्तिलाई चोख्याएर फेरी गृहमन्त्रालयमा भित्र्याउनु सरकारको जनविरोधी काम भएको टिप्पणी गर्नु भएको छ ।
उहाँले गुरुङमाथि लागेको आरोप छानविन समितिले निश्पक्ष रुपमा छानविन नगरी ‘आफै वोक्सी र आफै झाँक्री’ भएर क्लिन चिट दिने सुनियोजित काम गरेको आरोप पनि लगाउनु भयो ।
प्रवक्ता प्रकाण्ड सीले जेनजी आन्दोलनपछि बनेको सरकारनै साम्राज्यवादीहरुको गोटी र नवदलालहरुको सरकार भएको भन्दै यसभित्रका मन्त्रीहरु पनि जनविरोधी अनुहारका भएको बताउनु भयो ।
काठमाडौमा ज्वाला खवरका सम्पादक वसन्त विकसंगको संक्षिप्त कुराकानीमा मंगलवार प्रवक्ता प्रकाण्ड सीले वर्तमान राजनीतिक अवस्था निकै संवेदनशील रहेको भन्दै यसको निकास सहि विचार र नेतृत्वबाट मात्र सम्भव हुने जिकिर गर्नु भयो ।

उहाँले त्यसको लागि आफ्नो पार्टीले उठाउदै आएको विचार र विकल्प नै अवको निकासको उत्तम विकल्प हुने दाबी गर्नु भयो ।
प्रवक्ता प्रकाण्डले पुराना दलालहरुको खरावीका कारण नवदलालहरु उदाएको ठोकुवा गर्दै नवदलालहरुले पनि राष्ट्रिय स्वाधीनता र जनअधिकारका सवालमा चरम जनविरोधी काम गरिरहेको आरोप लगाउनु भयो ।
विकल्प विना सुकुमवासीहरुको उठ्ठिवास गर्ने सरकारी कार्यको खरो विरोध गर्दै प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री जस्तो व्यक्तिबाट सदनमा पुगेर नेपालले पनि भारतको सिमा अतिक्रमण गरेको छ भनेर बोलिनु आपत्तिजनक भएको बताउनु भयो ।
‘अर्थमन्त्रीद्धारा सदनमा पेशभई स्वीकृत भएको विधेयकको करका दर हेरफेर गरिएको छ, रास्वपा भित्रका मन्त्री र नेताको खरावकाम चोख्याउने काम भएको छ’ प्रवक्ता प्रकाण्डले भन्नु भयो, ‘रवीको सहकारी ठगीको मुद्धा फिर्ता लिने काम भएको छ, जेनजी आन्दोलनलाई हिंसात्मक बनाउने र पछिल्लो समय दिपक भट्टसंगको मुद्धामा विवादमा तानिएका व्यक्तिलाई फेरी गृहमै फर्काउने जस्ता घृणित कार्यहरु भएको छ’ ।
उहाँले यी यस्तै सरकारका खराव कामले यो सरकार देश र जनताप्रति जिम्मेवार नभएको र विदेशीलाई खुसी पार्ने खालका काम गरिरहेको दाबी गर्नु भयो ।
प्रवक्ता प्रकाण्डले नेपालमा रुपान्तरण सहित नयाँ कम्युनिष्ट केन्द्र बनाउनुको विकल्प नभएको भन्दै कम्युनिष्टहरु कम्युनिष्ट जस्तो भएर सिद्धान्तलाई दरोसंग ग्रहण गरी रुपान्तरण भएर कम्युनिष्ट केन्द्र बनाउने तिर लाग्नु पर्ने विचार पनि राख्नु भयो ।
पार्टी भित्र देखिएको केही विचलनताकावारे सोधिएको प्रश्नको जवाफमा प्रवक्ता प्रकाण्डले कम्युनिष्ट पार्टीमा विशेषमोडमा यस्तो हुने गरेको स्मरण गर्दै पार्टीमा सानो तिनो समस्या र विचलनता देखिनु स्वाभाविक भएको बताउनु भयो । उहाँले पार्टीलाई सुदृढिकरण नगरेसम्म नेतृत्व र विचार अनुसारको पार्टी बनाउन नसकिने र एकीकृत जनक्रान्ति पनि पुरा गर्न नसकिने भनाई राख्नु भयो ।