कांग्रेसको विवाद समाधान उन्मुख, विभागमा अझै कुरो मिलेन


२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो १६ बुँदे विरोधपत्रमाथि आइतबार भएको छलफल सहमति उन्मुख भएपछि सभापति शेरबहादुर देउवाको तारिफ गर्नु भएको छ छ । उहाँले भन्नु भयो ‘कम्तिमा तपाईँ केपी ओलीजस्तो त हुनुहुन्न । बैठक राख्नुभयो, हाम्रा कुरा सुन्नुभयो, तपाईलाई धन्यवाद छ ।’
पौडेलले गरेको देउवाको तारिफसँगै कांग्रेसमा सभापति देउवा र पौडेल समूहको विवाद लगभग कम भएको छ ।
कांग्रेस नेताहरुका अनुसार महाधिवेशनसम्बन्धी सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा दुई महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्कालाई दिइएको छ । दुई महामन्त्रीले आफ्नो पक्षका केही नेताहरुलाई राखेर प्रस्ताव तयार पारेपछि २७ कात्तिकमा केन्द्रीय कार्यसमितिको बैठक बस्ने सहमति जुटेको छ ।
पौडेल समूहले विभाग गठन, समायोजन र क्रियाशील सदस्यता, भ्रातृ तथा सुभेक्षुक संगठन लगायतका मुद्दा अघि सारेर १२ असोजमा १६ बुँदे विरोधपत्र बुझाएको थियो ।
त्यसबारे छलफल गर्दैगर्दा १७ असोजमा केही नेतालाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक प्रभावित भएको थियो । २१ कात्तिकमा केन्द्रीय कार्यसमिति बैठकको मिति तोक्नुु भएका देउवाले त्यसअघि नै फेरि पदाधिकारी, पूर्वपदाधिकारी र केही नेताहरुको बैठक बोलाए र नेताहरुका कुरा सुन्नु भयो ।
छलफल लम्बिएपछि केन्द्रीय कार्यसमितिलाई केही दिन पर सारेर देउवाले सम्वादलाई निरन्तरता दिनु भयो । नेताहरुका अनुसार आइतबार पौडेल समूहले उठाएका बुँदाबुँदामा छलफल भएको छ ।
विभाग गठनबारे भने दुबै पक्ष आ आफ्नो अडानमा रहेका छन । वरिष्ठ नेता पौडेलले विधान विपरीत र महाधिवेशनको मिति तोकिसकेको अवस्थामा बनेको विभाग मान्दिनँ भन्नु भयो । सभापति देउवाले चाहिँ मैले बनाइसकेँ, सकियो भन्ने जवाफ दिनु भएको छ ।
यो १४ औं महाधिवेशनसँग सम्बन्धित नभएकाले पौडेल समूहले खारेजीमा अड्डी लिनुका साटो विभागलाई नमान्ने, यसका कार्यक्रमहरुमा नजाने रणनीति लिएको छ ।
अरु पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई दिइएको क्रियाशील सदस्यतालाई विधानअनुसार मिलाउन सभापति देउवा सहमत हुनु भएको छ । कांग्रेसको विधानअनुसार यसरी आएकाहरुलाई केन्द्रीय कार्यसमितिले क्रियाशील सदस्यता दिनसक्छ ।

आइतबारको बैठकमा १४ औं महाधिवेशनको मितिबारे भने कुनै छलफल भएन । कांग्रेसले फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाए पनि त्यसअनुसार समायोजन, क्रियाशील सदस्यता वितरण लगायतका काम हुन सकेका छैनन् । नेताहरुले फागुनमा महाधिवेशन हुन्न भन्ने पनि बुझेका छन् । तर, नयाँ मिति तोक्न कोही तयार छैनन् ।

प्रतिक्रिया दिनुहोस