२२ मंसिर, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ ।
सांसद सिंहले मलेसियाली कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको एनसेलको सेयर गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनीलाई गरेको भनिएको बिक्री रोक्न माग गर्दै रिट दायर गर्नुभएको हाे । आगामी आइतबार रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ ।
आजियाटाले रेनोल्ड होल्डिङ्स नामक कम्पनीको सबै शेयर बेलायतमा स्थापना भएको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो । शेयर खरिदबिक्रीको निर्णय सार्वजनिक भए लगत्तै विभिन्न तहबाट प्रश्न उठेको छ ।
पूँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविक भन्दा कम मूल्यमा शेयर बिक्री गर्न खोजिएको सांसद सिंहले दाबी गर्नुभएको छ । आजिएटाले टेलिकम क्षेत्रका व्यवसायी सतिशलाल आचार्यलाई ५० मिलियन अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ) मा शेयर बिक्रीको घोषणा गरेको थियो ।
‘आजियाटा र स्पेक्ट्रलाइट युके लिमिटेडबीच कारोबार अपारदर्शी छ किनभने एनसेलको अनुमतिपत्र रहुञ्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी शेयर खरिदबिक्रीको सम्झौता भएको छ’ रिट निवेदनमा सांसद सिंहले भन्नुभएको छ, ‘कुनै पनि व्यापारको सम्झौता यस प्रकारको हुँदैन ।’
सन् २०१६ मा एक खर्ब ४३ अर्ब रुपैयाँमा आजियाटाले एनसेलको ८० प्रतिशत शेयर किनेको थियो । सात वर्षमा नै ठूलो रकम घटाएर शेयर खरिदबिक्री भएको भन्दै सांसद सिंहले प्रश्न उठाउनु भएको हाे ।
एनसेलले वार्षिक करिब ४० अर्ब रुपैयाँ आम्दानी गरेको अवस्थामा कौडीको भाउमा शेयर बिक्री गरिनु गलत भएको उहाँको दावी छ । एनसेलले नेपालका तीन ठूला बैंकहरुबाट ४० अर्ब ऋण लिएको अवस्थामा ६ अर्बमा मात्रै कम्पनीको ८० प्रतिशत शेयर बिक्री हुन नसक्ने उहाँको दावी छ ।
उहाँले एनसेलको शेयर खरिदबिक्री गरी नामसारी गर्ने काम नगर्न नगराउन कम्पनी रजिष्ट्रारको कार्यालयका नाममा अन्तरिम आदेश जारी हुनुपर्ने माग गर्नुभएको छ ।
उहाँले रिट निवेदनमा एनसेल, नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा कार्यालय, आन्तरिक राजस्व कार्यालयलाई पनि विपक्षी बनाउनु भएको छ ।