भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पाइयो ः प्रहरी


२७ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले पोष्टमार्टम रिपोर्टले भट्टको घाँटी थिचेरले हत्या भएको पाइएको बताउनु भएको हो ।
भट्टको बलात्कार भएको पुष्टि भएको समाचार आइतबारै प्रकाशित भएको थियो । , बलात्कारपछि हत्या भएको देखिएको छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुवेदीले भन्नु भयो ।
स्रोतका अनुसार प्रहरीलाई दिइएको रिपोर्टको कज अफ डेथ खण्डमा ‘डेथ ड्यु टु स्ट्याङ्गुलेसन’ भनिएको छ । रिपोर्ट अनुसार भट्टको यौनाङ्गमा पनि गहिरो चोट लागेको छ भने टाउको र हातमा पनि चोट देखिएको छ ।
शरीरको विभिन्न भागमा स–साना दागहरु पनि देखिएका छन् । त्यसले उनलाई घिसारिएको हुनसक्ने संकेत गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ‘शव भेटिए वरपरको स्थानमा झाडी मडारिएकाले पनि त्यसलाई पुष्टि गरेको छ’, एक प्रहरी अधिकृतले भनेका छन ।
सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भट्ट बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो । यो बैतडी सदरमुकामबाट डेढ घन्टाको दुरीमा पर्ने ठाउँ हो । प्रहरीले अहिले सम्म कसैलाई पक्राउ गरेको छैन ।

प्रतिक्रिया दिनुहोस