२६ चैत, कालिकोट । जुम्लादेखि कालीकोट हुँदै नेपालगन्ज बिरामी बोकेर गएको हिमा गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
जुम्लादेखि बुधबार दिउँसो साढे २ बजे छुटेको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाडाचक्र नगरपालिका-२ मेयरखोला नजिकै दुर्घटना भएको हो । मृत्यु हुनेमा हिमा-६ पातरखोला बस्ने ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा-७ मर्चीगाउँ बस्ने एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाही रहेका छन् ।
कालीकोट जिल्ला प्रहरीका अनुसार एम्बुलेन्स सडकदेखि ३० मिटर तल खसेको छ । एम्बुलेन्सले हिमा-६ का ७१ वर्षीय बिरामी कलबहादुर अधिकारीलाई बोकेको थियो । उनी गत चैत २० गतेदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएका थिए । सुगरको मात्रा नियन्त्रण हुन नसकेको र प्रोस्टेडको समेत समस्या भएकोले युरो सर्जरीका लागि नेपालगन्ज रेफर गरिएको अस्पताल निर्देशक डा. कमल थानीले जानकारी दिए ।
बिरामी बुवालाई लिएर ३२ वर्षीय भीमबहादुर गएका थिए । तर उनको मृत्यु भएको हो । कालीकोट प्रहरीका अनुसार बिरामी भनिएका कलबहादुरको खुट्टामा चोट लागेको छ भने अर्का हिमा-७ मर्चीका २० वर्षीय लोकेन्द्र शाहीको कान र पेटमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
कालीकोट प्रहरी प्रमुख हिमबहादुर खत्रीले बाटोमा बाक्लो हुस्सु लागेका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको बताए । घाइते दुवै जनाको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।