२६ जेठ, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत कर्मचारीहरुले पदावधि सकिनै लाग्दा रजिष्ट्रार नृपेन्द्र महतले आफ्ना आसेपासे कर्मचारीमा भर्ति गर्न प्रतिष्ठानमा कर्मचारी भर्नाको विज्ञापन खोलेको भन्दै आन्दोलित भएका छन ।
प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुले आईतवार खलंगामा पत्रकार सम्मेलन गर्दै रजिष्ट्रार नृपेन्द्र महतले आफ्ना आसेपासे भर्ति गर्न प्रतिष्ठानमा कर्मचारी भर्नाको विज्ञापन खोलेको भन्दै आन्दोलित भएको घोषणा गरेका हुन ।
कर्मचारीहरुले पत्रकार सम्मेलन मार्फत पछिल्लो समय जेठ २३ गते एकलौटी, प्रतिष्ठानको प्रणालीबाट बाहिर गएर विज्ञापन खोलेको भन्दै आपत्ति जनाउदै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
कर्मचारीहरुको तर्फबाट प्रतिष्ठानका बरिष्ठ प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले पत्रकार सम्मेलनमा गम्भीर ध्यानाकर्षण पत्र प्रस्तुत गर्दै नियम विपरित नयाँ खोलिएको विज्ञापनमा असहमति जनाउनु भएको हो ।
उहाँले जेठ २३ गते प्रतिष्ठानको वेवसाईटमा प्रकाशित भएको विज्ञापनप्रति आपत्ति जनाउदै कर्मचारीहरु आन्दोलित हुनु परेको बताउनु भयो ।
कर्मचारीहरुले पदावधि सकिने बेला रजिष्ट्रार नृपेन्द्रले विज्ञापन खोलेको आरोप लगाउदै निमित्त उपकुलपति डा. डवलबहादुर धामी, प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति तथा स्वास्थ्य मन्त्रीलाई समेत ध्यानाकर्षण पत्र बुझाएका छन ।
ध्यानाकर्षण पत्र
कर्मचारीहरुले भनेका छन ‘प्रतिष्ठानको विज्ञापन कार्यकारी परिषदबाट स्वीकृत गराई विज्ञापन गर्नुपर्नेमा रजिष्ट्रारको एकल निर्णयले विज्ञापन गरेको तथा प्रकाशित विज्ञापन प्रतिष्ठानको स्वीकृत दरबन्दी किताबमा नभएको पदहरु समेत राखी विज्ञापन गर्नुमा रजिष्ट्रारको कुनियत प्रष्ट देखिन्छ ।’
कर्मचारीहरुले प्रतिष्ठानको आर्थिक कार्यभारको ख्याल नगरी दरबन्दी कितावमा नभएका पदहरुको विज्ञापन गरिनु संस्थाको हितमा नहुने बताएका छन ।
कर्मचारीहरुले खोलिएको विज्ञापन रद्द गर्न माग गरेका छन । कर्मचारीहरुले निर्णय नसच्याए आफुहरु कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन । कर्मचारीहरुले सोमवार अस्पतालको इमरजेन्सी सेवा वाहेक सम्पूर्ण सेवा बन्द गरेका छन ।
यस्तै विभिन्न कर्मचारी संगठनहरुले पनि विज्ञापन रद्द गर्न माग गरेका छन । पत्रकार सम्मेलनमा कर्मचारी कल्याण समितिका अध्यक्ष रामाकान्त उपाध्याय र कर्मचारी यूनियन कर्णाली प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हरिशचन्द्र रावतको हस्ताक्षेरमा प्रकाशित प्रेस बिज्ञप्तिमा विज्ञापनको विरोध गरिएको छ ।
प्रेस विज्ञप्ति
कर्मचारी संगठनहरुले २६ गतेदेखि प्रतिष्ठानको ईमरजेन्सी सेवा वाहेक शैक्षिक तथा प्रशासनिक कार्यक्रमहरु वन्द गरेका छन ।
२३ जेठमा प्रोफेसर, एशोसियट प्रोफेसर,एसिष्टेन्ट प्रोफेसर, लेक्चर सहितका केही पद, एम ईन सोसियोलोजीमा एक जना एशोसियट प्रोफेसर, एक जना एसिष्टेन्ट प्रोफेसर र ३ बर्ष अधिकृत तहमा अनुभव गरेको व्यक्ति, सातौ तहको खरिद अधिकृत विज्ञापन पद खोलिएको छ ।
हेर्नुहाेस् यस्तो छ विज्ञापन
खरिद अधिकृत प्रतिष्ठानको दरवन्दी र कार्यकारी समितिको वैठकको निर्णय समेत नभएको प्रतिष्ठानका बरिष्ठ प्रशासकीय अधिकृत शाहीले बताउनुभयो ।
उहाँले स्थायी परीक्षा खोलिसकेपनि ७ वटा विज्ञापन गरिएको बताउनु भएको छ । उहाँका अनुसार रजिष्ट्रार महतको असार पहिलो साता पदावधि सकिदैछ । तर पनि उहाँले आसेपासे भर्ति गर्न विज्ञापन खोल्नु भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निमित्त उपकुलपति डाक्टर डवलसिंह धामीले जेठ २३ गतेको विज्ञापन बिषयमा कर्मचारीहरुले जानकारी गरापछि गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाँले रजिष्ट्रार नृपेन्द्र महतलाई सो विषयमा के भएको हो ? लिखित जानकारी माग गरिने जानकारी दिनु भयो ।
स्मरणरहोस्ः यसअघि पनि विभिन्न समयमा रजिष्ट्रार नृपेन्द्रले आफ्ना आसेपासे आफन्तहरु कर्मचारीको रुपमा भर्ति गर्न विज्ञापन खोल्नु भएको थियो र त्यतिवेला पनि यो विषयमा उहाँ विवादमा तानिनु भएको थियो ।