अनेमसंघ(क्रान्तिकारी) द्वारा महिलामाथि हुने सबै प्रकारका हिंसाहरु बन्द गर्न माग

२२ असोज, कालिकोट । अखिल नेपाल महिला संघ (क्रान्तिकरी) कालिकोटले महिलाहरुमाथि हुने सबै प्रकारका हिंसाहरु यथाशिघ्र बन्द गर्न प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेको छ ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कालिकोट जिल्ला संयोजक नविना सीको नेतृत्वमा मध्य कर्णाली ब्युरो संयोजक सभ्यता सी सहितको महिलाहरुको टिमले आइतबार प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझीलाई ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेको हो ।

घरेलु हिंसा भाेग्दै आएकी गिता जैसीकाे सोसेक नेपाल नामको गैरसरकारी संस्थाको संरक्षणमा राखिएको अवस्थामा संकाष्पद मृत्यु भएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरि दाेषि उपर कार्वाहीकाे माग गरेको छ ।

महिला संगठनले मृतक जैसीलाई न्याय दिलाउनल माग गर्दै मृतक जैसीकाे बच्चाको सुरक्षित भरणपोषणकाे व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

क्रान्तिकारी महिला संगठनले दाइजो, छाउपडी, बोक्सी जस्ता सामाजिक कुरीति र कुसंस्कारको कारणले पनि महिलामाथि हिंसा र दुव्यवहार मात्र होइन, ज्यान समेत लिने काम भैरहेकाे भन्दै यसको समाधानको लागि प्रशासनले यथाशीघ्र आवश्यक पहल लिन ध्यानाकर्षण गराएको छ ।

यस्तै क्रान्तिकारी महिला संगठनले वित्तीय संस्था लघुवित्तहरूले बचत संकलन र ऋण प्रवाहकाे नाममा चर्को ब्याज असुली गरेर महिलालाई ऋणी बनाएर गाउँबाट विस्थापित हुन बाध्य पारेको बन्दै वित्तीय संस्थाको आतंक बन्द माग गरेको छ ।

ज्ञापनपत्रमा परिवारमा व्याप्त गरिबी, बेरोजगारी, मादकपदार्थ सेवन आदिजस्ता कारणले महिलाहरु बढी भन्दा बढी पुरुषहरुबाट घरेलु हिंसाका सिकार हुने गरेको उल्लेख छ ।

संगठनले बढ्दो महंगी, आधारभूत आवश्यकताको बढोत्तरी र रोजगारीको अभावका कारण युवापुस्ता (महिला पुरुष)) दिनप्रतिदिन विदेश पलायन हुने गरेको र किशोरकिशोरीहरु लागुऔषध सेवन तथा कारोवारमा संलग्न हुने गरेको भन्दै यस्तो कार्यहरु यथाशिघ्र रोक्न माग गरेको छ ।

संगठनले महिलामाथि हुने शोषण, उत्पीडन र हिंसाका वाह्य कारणहरु जे जस्ता भए पनि त्यसको आन्तरिक र चुरो कारण भनेको महिला आत्मनिर्भर नहुनु वा हुन नसक्नु भएको ठहर गरेको छ ।

महिला संघ (क्रान्तिकारी)ले समस्याहरुको गहिरो खोज अनुसन्धान र विश्लेषण गरी समयमै समाधानको पहल गर्नु राज्यको दायित्व भएको ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

यस्तै क्रान्तिकारी महिला संगठन दैलेखले पनि महिला हुने सबैखाले हिंसाको अन्त्यको माग गर्दै जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस