सहिद परिवारबिरुद्ध घेराबन्दी गर्नेलाई छाडिन्न ः विप्लव

२३ मंसिर,इलाम । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सहिद परिवारबिरुद्ध घेराबन्दी गर्नेहरूलाई नछाड्ने बताउनु भएको छ ।

बुधबार इलाम जिल्ला कार्यालयमा सहिद परिवारहरूसँग भएको भेटघाटमा उक्त कुरा बताउनु भएको हो । सहिद परिवारको तर्फबाट कुरा राख्ने सहिद परिवारहरूले यतिबेला समाजमा सहिद परिवारलाई हेप्ने र घेराबन्दीमा पारेर दुःख दिन थालेको बताएका थिए ।

सहिद परिवारलाई सम्बोधन गर्दै विप्लवले भन्नु भयो , “सहिद परिवारलाई दुःख दिएर जनतालाई निरास पार्ने षड्यन्त्र भइरहेको छ, यो क्रान्तिबिरुद्ध छ । हामी सहिद परिवारबिरुद्ध लाग्ने जो सुकै होस् छाड्ने छैनौँ ।’

सोही क्रममा उहाँले हामी सहिद परिवारसँग दुःख बाँड्न सधैँ तयार छौँ, हामीले सक्ने सहयोग गर्न हरदम तयार छौ भन्नु भयो ।
महासचिव विप्लवले वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र सहिदको सपना साकार पार्न सकिने भएको हुनाले सबै सहिद परिवारहरू आ–आफ्ना आफन्तहरूको सपनाप्रति इमान्दार बनेर क्रान्तिलाई सहयोग गर्न अपिलसमेत गर्नु भयो ।

स्थानीय जनताको घरमा खाना खाएपछि उहाँ केहिबेर भेटघाट र छलफलमा सहभागी समेत हुनु भएको थियो ।

इलामका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का र जिल्ला प्रहरी प्रमुख महेन्द्रबहादुर श्रेष्ठसँग जनताकै घरमा भेटघाट भएको थियो । केही स्थानीय युवाहरूसँग समेत भेटघाट गर्नु भएका महासचिव विप्लवले इलाम कारागार पुगेर आस्थाका बन्दीहरूसँग समेत भेट्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस