संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री ओली स्वतः पदमुक्त

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनु भएको छ । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त हुनु भएको हो ।

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत खसेको छ । सोमबारको बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसेका छन् ।

प्रस्तावको पक्षमा आएको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नु भयो ।

संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर प्रधानमन्त्री ओलीले आफैं दलको सबै मत पाउन सक्नु भएन । एमालेमा समानान्तर संरचना बनाएको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित भएका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।
जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का एक सांसद तटस्थ बसेका छन् ।

प्रतिक्रिया दिनुहोस