भदौ २४, काठमाडौं । सर्बोच्च अदालतको आदेशमा रिहा हुनु भएका जनपत्रकार संगठनका केन्द्रीय सदस्य ओम हमाललाई संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव राम प्रसाद दाहाल, संगठनका केन्द्रीय महासचिव हिम विष्टले स्वागत गर्नु भएकाे छ ।
मंगलबार पत्रकार हमाल रिहा भएपछि जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले हमाललाई स्वागत गर्दै उहाँको रिहाईको लागि पहल गर्ने र दबाब सिर्जना गर्ने सबैलाई संगठनको तर्फबाट धन्यवाद दिनु भएकाे छ ।
हमाल सर्वोच्च अदालतको दोस्रो पटकको आदेशमा रिहा हुनु भएकाे हाे । बन्दी प्रत्येक्षीकरणको रीटमा सुनुवाई गर्दै गत मंगलबार सर्वोच्च अदालतको आदेशमा रिहा भएपनि गेटबाटै प्रहरीले पक्राउ गरेको थियो ।
पत्रकार हमालको गिरफ्तारी गैरकानुनी भन्दै जनपत्रकार संगठनकी सदस्य मोनिका गुरूङले पुनः बन्दी प्रत्यक्षीकरणको रीट दायर गर्नु भएकाे थियाे ।
रीटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले पत्रकार हमाललाई रिहा गर्न आदेश दिएको हो ।
गत भदौ ६ गते पक्राउ परेका हमाललाई मंगलबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि गेटबाटै प्रहरीले पक्राउ गरेको थियो । अघिल्लो पटक राज्य विरुद्धको मुद्दा लगाएको प्रहरीले दोस्रो पटक दुरव्यहार सम्बन्धी मुद्वा लगाएर थुनामा राखेको थियो ।
पत्रकार हमालको रिहाइको लागि देशभरका पत्रकार सम्बद्ध संघ संगठनहरुले दबाब दिदै आएका थिए भने जनपत्रकार संगठन नेपालका केन्द्रीय पदाधिकारीहरु हमालको गैरकानुनी गिरफ्तारीको विरुद्ध नेपाल पत्रकार महासंघ लगायत पत्रकार सम्बद्ध संघ संगठनहरु संग भेटघाट एवम् छलफल गरी विचार तथा आस्थाका आधारमा गिरफ्तार पत्रकारहरुको पक्षमा दबाब दिन अनुरोध गर्दै आइरहेका थिए ।
यस्तै रिहा लगत्तै नेपाल बार एशोसियनको प्राङ्गणमा नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले हमाललाई सम्मान गर्नु भएकाे छ ।
नेपाल पत्रकार केन्द्रीय सदस्य जैसीले पत्रकार हमाललाई सम्मान गर्दै पत्रकारहरुमाथि राज्य निरंकुश नबन्न र अनाहकमैं पत्रकारलाई पक्राऊ गरेर दुख नदिन चेतावनी दिनु भयाे । साथै पत्रकारमाथिको ज्यादती तत्कालै रोक्न र आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन सरकारलाई आग्रह गर्नु भएकाे छ ।
भदौ ८ गते नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट उपर आदेश जारी गर्दै सर्वोच्च अदालतले मंगलबार रिहा गर्न आदेश दिएको थियो । तर पत्रकार हमाललाई पुन पक्राउ गरी बुधबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालबाट ७ दिनको म्याद थपिएको थियो । उहाँलाई सर्वोच्चको आदेश विपरीत पुनः पक्राउ गरेपछि पत्रकार महासंघले सञ्चार तथा सुचना प्रविधि मन्त्रीलाई ध्यानाकर्षण गराएको थियो ।