२५ असाेज, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विवेक सीले असमानता र विभेदकारी पुँजीवादी संस्कृतिको विकल्पमा सी स्मृति दिवस भएको बताउनुभयो ।
मंगलबार सहिद स्मृति गाउँपालिकाकाे माल्काेटमा आयाेजित सी स्मृति कार्यक्रम बाेल्दै नेता विवेक सीले यस्तो बताउनुभएको हाे । उहाँले मान्छे मर्दा गर्ने परम्परागत क्रियाकर्म पुँजीवादी संस्कृतिको विकल्पमा नयाँ संस्कृति र सभ्यता अन्तर्गत सी स्मृति दिवस पार्टीले ९औं महाधिवेशनबाट अगाडि सारेको बताउनुभयो ।
नेता विवेक सीले पार्टी प्रवक्ता प्रकाण्डको नाममा तीन बुँदे सहमतिको उल्लंघन गर्दै जिल्ला अदातल बाँकेले पक्राउ पुर्जी जारी गरेको प्रति आपत्ति जनाउनु भयाे । उहाँले सरकार र नेकपा बीच भएको तीन बुँदे सहमतिको विरुद्ध मात्र होइन नेपालको शान्ति प्रक्रियाका विरुद्ध समेत लक्षित हुने गरी प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरिएको तर्क गर्नुभयो ।
उहाँले तीन बुँदे सहमति अनुसार मुद्धा फिर्ता, बन्दि रिहाइ र प्रतिबन्ध फुकुवा भएको भए पनि अझै सम्म मुद्धा फिर्ता नभएको र उल्टै समाजवादी मोर्चाका तीन घटक नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सरकारमा भएका वेला प्रवक्ता प्रकाण्ड विरुद्ध पक्राउ पुर्जी जारी गर्नु गम्भीर र आपत्तिजनक भएको भन्दै यो प्रतिगामी तथा देशी विदेशीहरुको षड्यन्त्रमा भएकाले आफूहरू पनि हातमा दही जमाएर नबस्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान् सीले सहिद र बेपत्ता अनि मृत्यु भएका आफन्तहरुकाे सम्झनामा प्रत्येक वर्ष असाेज २५ गते केही रचनात्मक र सिर्जनात्मक काम गर्दै सी स्मृति लाई जनस्तरसम्म विस्तार गरेर लाैजानुपर्ने बताउनुभयो ।
कार्यक्रममा जनयुद्धदेखि एकीकृत जनक्रान्तिका महान सहिदहरु र आफन्तहरूकाे फाेटाेमा माल्यार्पण सँगै तिनीहरूको सम्झनामा वृक्षरोपण गरिएको थियोे ।
पश्चिम कालिकोट जिल्ला सेक्रेटरी शाहासी सीकाे अध्यक्षता रहेको थियोे भने कार्यक्रमको संचालन पुर्वी कालिकोट जिल्ला सेक्रेटरी रमेश सीले गर्नुभएको थियो । कार्यक्रममा प्रभात स्मृति साँस्कृतिक परिवारले विभिन्न साँस्कृतिक प्रस्तुति देखाएको थियो ।