ठेक्का रद्दले एमसीसी फिर्ता हुनुको विकल्प छैनः भरत सी

 

२६ असोज,बाँके । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले एमसीसीको ठेक्का रद्द हुनुले एमसीसी नेपालबाट फिर्ता जानुको विकल्प नभएको बताउनु भएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमसीसी विकासी योजना नभई अमेरिकी सैन्य योजना (आईपिएस)को अंग भएको दाबी गर्नु भयो ।

उहाँले एमसीसीको जाली,रहस्यमय गलत मान्यता र रबैयाका कारण ठेक्का प्रक्रिया रद्द भएको बताउनु भयो ।

उहाँले स्टाटसमा लेख्नु भएको छ “एमसीसीको बजेट प्रयाप्त छैन न एमसीसीमा बजेट थप्ने बैधानिक प्राबधान नै छ न त नेपाल सरकारले नै बजेटको व्यवस्था गर्नसक्ने छ । त्यसैले एमसीसी फिर्ता हुनुको विकल्प छैन ।”

नेता भरतले पहिलो गाँसमै ढुङगा भने जस्तै पहिलो पटकमै ठेक्का रद्द भएको स्थितिमा जबर्जस्त लागु गर्न खोज्नु नेपाली जनताको एकता, शान्ति र समृद्धि बिरोधी कार्य हुने बताउनु भयो ।

एमसीसीले यसअघि प्रसारण लाइन निर्माणका लागि खोलेको टेन्डरमा सबैभन्दा कम लागत प्रस्ताव नै ६६ प्रतिशत आएको थियो । तीन लटमा तीनवटा टेन्डर आह्वान गरिएकोमा सबैभन्दा कम लागत प्रस्ताव गर्ने कम्पनीहरूसँग एमसीए नेपालले लागत कम गर्ने प्रयासस्वरूप प्रारम्भिक चरणको वार्ता गरेको थियो ।

सकेसम्म अहिलेकै बोलपत्रदाताहरूबाट लागत कम गराएर काम गराउन चाहेको तर त्यो सम्भव नभएपछि ठेक्का नै रद्द गर्नतिर जानुपरेको एमसीए नेपालको भनाई छ ।
बोलपत्रदाता कम्पनीहरूले कम लागतमा परियोजना निर्माण गर्न असमर्थता जनाएपछि सरकार र एमसीसीले परियोजनामा बजेट थप गर्न सकिन्छ कि भन्ने विकल्पमा पनि छलफल गरेका थिए ।

तर, यो परियोजनामा अहिलेसम्म स्वीकृतबाहेक थप बजेट विनियोजन गर्न नसक्ने कुरा अर्थ मन्त्रालयले बताएको थियो । ‘अर्थमन्त्री प्रकाशशरण महतले नै नेपाल सरकारले अहिल्यै १९ करोड ७० लाख अमेरिकी डलर खर्च गर्ने प्रतिबद्धता गरिसकेकाले थप रकम योगदान गर्न नसकिने प्रष्ट पार्नु भएको थियो ।

बोलपत्रदाता कम्पनीहरूसँग गरिएको प्रारम्भिक वार्ताबाट आएको निष्कर्षहरूसमेत समावेश गरेर एमसीए– नेपालले ठेक्का सम्पूर्ण रूपमा रद्द गर्ने प्रस्ताव स्वीकृतिका लागि मिलेनियम च्यालेञ्ज कर्पोरेशनको मुख्यालयमा पठाएको थियो ।

एमसीसीले त्यसका लागि स्वीकृति दिएपछि एमसीए नेपालले बुधवार ठेक्का रद्द गरेको जानकारी ठेकेदार कम्पनीहरूलाई पठाएको थियो ।

यसरी रद्द भएको ठेक्कालाई पुन टेण्डर गर्ने र जसरी पनि नेपालमा एमसीसी परियोजना लागु गरी अमेरिकी हस्तक्षेप बढाउने षड्यन्त्र भईरहेको बेला नेकपाका नेता भरतले यो परियोजना फिर्ता हुनुुको विकल्प नभएको धारणा सार्वजनिक गर्नु भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस