२ फागुन, कालिकोट । विप्लव नेतृत्वको नेकपा र नेकपा माओवादी केन्द्रले कालिकोट जिल्लाका अधिकांस पालिकामा यो बर्ष ३० औं जनयुद्ध दिवस संगै मनाए ।
जिल्लाको नरहरिथान गाउँपालिका, शान्नि त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, शुभकालिका गाउँपालिकामा यो वर्ष ३० औं जनयुद्ध दिवस संगै मनाए । जनयुद्ध दिवसको कार्यक्रममा दुवै पार्टीका नेताहरुले उत्साहका साथ पार्टी एकताको मन्तव्य पनि दिए ।
कतिपय नेताहरुले एकतामा मात्र जोड दिएर मन्तव्य तथा शुभकामना दिए भने केही नेताहरुले माओवादीहरुको रुपान्तरण सहित एकताको मन्तव्य सहित शुभकामना दिए ।
रास्कोटको आरसीपी वजारमा नेकपाका केन्द्रीय सदस्य रणदिप सी, शान्त्रित्रिवेणीको मुम्रामा नेकपाका केन्द्रीय सदस्य विवेक सी, नरहरिनाथको माल्कोटमा नेकपाका केन्द्रीय सदस्य बलमान सी,पलाँताको राहुनेटामा नेकपाका केन्द्रीय सदस्य साहसी सी र शुभकालिकामा नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तुफान सीको प्रमुख आतिथ्यतामा कार्यक्रम भए । ती कार्यक्रमहरुमा दुवै पार्टीका नेता सहभागी भएर जनयुद्ध दिवसको शुभकामना मन्तव्य मार्फत एकताको शुभकामना आदान प्रदान गरे ।
यो स्वागत योग्य कदम थियो । यसले माओवादी मनहरुमा नयाँ खुसी दिएको छ । किनकी जनयुद्धमा यी दुवै पार्टीमा लागेका नेताहरु कैयौ रात संगै लडेको, संगै हाँसेको, संगै रोएको, दुख सुखको साथी भएका क्षणहरु थिए । यसले भावनात्म सम्वन्ध अझै प्रगाड बनाउने भूमिका खेलेको थियो । जसले गर्दा ३० औं जनयुद्ध दिवस भनेको माओवादी घटकहरुका लागि प्रिय थियो, छ र हुनेछ पनि ।
यस्तै अछामको रामारोशनमा, बाँकेको नेपालगंज उपमहानगरपालिका र वैजनाथ गाउँपालिकामा पनि नेकपा र माओवादी केन्द्रले संगै जनयुद्ध दिवस मनाए ।
देशभर अन्य ठाउँमा पनि संगै मनाईएको खवर छ । यी सबै परिदृश्यहरु जनयुद्धमा सहभागी जनुसुकै नेता कार्यकर्ता र जनताको लागि सामान्य होईनन् । सबै ठाउँमा भव्य तामझामका साथ जनयुद्ध दिवस मनाईएको छ । जनताको लोक सांस्कृति भाँकि,देउडा लगायतका क्रियाकलापहरु गरेर दिवस मनाइयो । दिवस मनाउदै गर्दा कालिकोट अछाम तथा जनयुद्ध प्रभावित क्षेत्रमा जनयुद्धकालिन माओवादीको झल्को दिएको छ ।
बाँकेमा संगै मनाईको जनयुद्ध दिवसको कार्यक्रममा प्रमुख अतिथिमा भने केही फरक देखियो । पार्टी जिम्मेवारीको आधारले प्रमुख अतिथि बनाउने भन्दा पनि ठुलो पार्टी र सानो पार्टीका आधारले प्रमुख अतिथि बनाईयो ।
नेपालगंजमा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य शेखर सी कार्यक्रममा सहभागी हुदा हुदै पनि नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य अक्कल व.बम प्रमुख अतिथि भए । यो माओवादीको संगठनात्मक पद्धति भन्दा ठीक उल्टो थियो । जसले नेकपाका केन्द्रीय सदस्यमाथिको अपमान भएको अनुभूति भयो । यो प्रतिनिधिमुलक घटना मात्र हो ।
जनयुद्ध दिवस संगै मनाउदै गर्दा देशभर अरु ठाउँहरुमा पनि यस्ता दृश्य देखिए होलान । यो कुराले माओवादीमा रुपान्तरण सहित एकताको बातावरण बन्ने अवस्था कम छ भन्ने प्रमाण हो ।
तर जनतामा भने दुवै पार्टीका नेताहरु एउटै मञ्चमा देखिने कुरा अनौठो थियो । जसले गर्दा जनयुद्ध दिवसमा जनता र स्थानीय नेता तथा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहयो ।
एक दशक पहिले २०६९ साल असारमा विभाजन भएका यी दुवै माओवादी घटकहरु यो बर्ष एउटै मञ्चमा उभिएर जनयुद्ध दिवस मनाउनु अनौठो विषय नै हो ।
यसले दुवै पार्टी बिचको एकताको विषयलाई पनि अब नजिक ल्याएको होकी भन्ने जनतामा आभास हुन्थ्यो । यो भनेको आम नेता कार्यकर्ता र जनतामा माओवादी घटकको चाडो एकता होस भन्ने अपेक्षा थियो ।
नेकपाका नेताहरुले माओवादीको एकता आवश्यक भएको भएपनि रुपान्तरण सहित माओवादी एकता विना एकताको कुनै अर्थ नहुने तर्क गरे ।
सत्ताको स्वाद लिएको माओवादी केन्द्रले जनताको भावना विपरित थुपै काम गरेको, जनयुद्धको सपना विचमै छोडेको, पद प्रतिष्ठा र पैसा थुपार्न लागेको, शान्ति प्रक्रियापछि विचार राजनीतिमा विकास नगरेको, संसदीय व्यवस्थामै रमाएको र जनताको मुद्धा छोडेको नेकपाको आरोपहरु छन ।
नेकपाका नेताहरुले यसवाट रुपान्तरण नभएसम्म माओवादी केन्द्रसंग एकताको कुनै अर्थ नहुने बताउदै आएका छन । उता माओवादी केन्द्रभित्रका केही नेताहरु भने यो कुराले झस्किएका छन ।
‘माओवादी केन्द्रभित्र इमान्दार माओवादी नभएको होईन । तर ती माओवादीहरुको कुनै स्थान छैन । एउटा तप्का साँच्चीकै इमान्दार र क्रान्तिकारी विचारमा प्रतिबद्ध छ । तर त्यो तप्का उत्तिकै पीडित छ’ माओवादी केन्द्रका एक नेताले भने ।
माओवादी केन्द्र भित्र केही निश्चित तप्का भने अकुत सम्पत्ति कुम्ल्याउने, भ्रष्टाचार र कमिसनको खेलमा लाग्ने, पद प्रतिष्ठाका लागि मरिहत्या गर्ने, ,नातावाद र कृपावादमा तल्लिन हुने, जनता सहिद परिवार, कार्यकर्ताको मुद्धामा संघर्ष नगर्ने र म,मेरो र मेरा लागि गर्ने हो भन्ने प्रवृति देखाउने, माओवादी सिद्धान्त र आचरण विपरितका क्रियाकलापहरु गर्ने खेलमा छ । यो तप्का सधै सत्ताको पावरमा रहिरहने र सत्ताको दुरुपयो गर्ने गरिरहेको यथार्थता छ ।
शान्ति प्रक्रिया पछि देखिएका माओवादी भित्रका यी तमाम प्रवृतिका विरुद्ध पार्टीमा संघर्ष गर्दै रुपान्तरणको विषय विप्लवले उठाए । तर माओवादी नसच्चिएपछि पार्टी विभाजन सम्म पुग्यो । आज पनि माओवादी केन्द्रमा त्यो प्रवृतिले ठुलो घर बनाएर वसेको छर्लङ्ग छ ।
जसले गर्दा माओवादी एकता धेरै राम्रो कुरा भएपनि माओवादी भित्रको खरावीहरु धोई पखालेर मात्र एकता गर्ने नेकपा भित्रका नेताहरुको भनाई छ ।
हुन त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजभोलि माओवादीले गल्ती गरेको भनेर स्वयम स्वीकार गरिरहनु भएको छ । उहाँले भनिरहनु भएको छ, ‘हामी सत्तामा हुने माओवादी विग्रिएका छौ, धुलो माटो लागेको छ, फोहर मैला लागेको छ, हामी सच्चिनु पर्छ ।विप्लवहरुसंगको एकता र सहकार्यले हाम्रो धुलोमाटो पनि पखालिने छ ।’
साँच्चीकै प्रचण्डले भनेको यो कुरालाई माओवादी केन्द्रभित्र यदि आत्मासाथ गरियो भने माओवादी केन्द्र र विप्लवको नेकपा विच एकताको दुरी टाढा छैन । तर यो कुराको वेवास्ता गरियो भने विप्लव र प्रचण्डको पार्टी बिचको एकताको सम्भावना नजिक पनि छैन ।
नेकपाका नेताहरुले माओवादी आन्दोलनको गम्भीर समिक्षा सहित साझा निश्कर्ष निकाल्नु पर्ने विचार राखेका छन । विप्लवले माओवादी के कारणले कमजोर भयो ? कहाँ कहाँ कमजोरीहरु भए ? विचार र राजनीतिमा कहाँ ध्यान पुगेन ? नेता कार्यकर्ता, सेना, जनसत्ता, जनकम्युन, जनअदालत, जनशिक्षा, जनस्वास्थ्य, आदि जनयुद्धका उपलब्धीहरुको व्यवस्थापन र संरक्षण गर्न माओवादी कहाँ चुक्यो ? यसको गम्भीर समिक्षा सहित साझा निश्कर्ष निकाल्नु पर्ने धारणा राख्नु भएको छ ।
त्यसपछि माओवादीले लिने अबको बाटो के हुने ? विचार कस्तो हुने ? कार्यदिशा के हुने ? नेतृत्व कस्तो हुने ? नेतृत्व छनौट विधि के हुने ? आदि विषयका वारे छलफल गरी साझा निश्कर्ष निकाल्नु पर्ने विप्लवको धारणा छ ।
यो कुरामा प्रचण्ड सकरात्म भएपनि माओवादी केन्द्र भित्रको गुट र उपगुटको राजनीतिकले एकताको लागि साझा धारणा बन्न सकेको छैन । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पनि यस वारे ठोस धारणा बनाउन नसकेको प्रष्ट नै छ । पार्टी एकताका लागि कतिपयले विप्लवले आत्माआलोचना गर्नुपर्ने तर्क समेत गरेका थिए । यो कुराले माओवादी भित्रको एकता होईन अनेकता हुने निश्चित छ ।
जसले माओवादीको विचार राजनीतिक र सान जोगाएर क्रान्तिको निरन्तर नेतृत्व गरेको छ उसले आत्माआलोचना गर्ने की ? जसले विचार राजनीतिक सिद्धान्त, जनता छोडेर संसदवादमा जान्छ उसले आत्माआलोचना गर्ने ? यो निकै महत्वपूर्ण प्रश्न छ विप्लवले एक कार्यक्रममा भन्नु भएको थियोे ।
जेहोस आजभोलि यो आवाज कम सुनिएपनि माओवादी केन्द्रभित्र एकताको कुराले केहीको टाउको नै दुखेको छ । प्रचण्डले जनार्दन र बर्षमान विचको शक्ति सन्तुलन मिलाउन विप्लवसंगको एकताको कुरा गरिएको बताउनेहरु पनि छन । उता पूर्व उपराष्ट्रपति नन्द व पुन लाई सक्रिय राजनीतिमा फर्काएर पार्टीको उपाध्यक्ष बनाउने प्रचण्डको सपना पनि पुरा हुन पाएन । पार्टी भित्र एकमत नहुदा प्रचण्डलाई पार्टी एकता पुरा गर्ने विषय पनि यस्तै फलामको चिउरा छ ।
किनकि माओवादी आन्दोलनमा विकल्पको नेता विप्लव देखिएपछि धेरैले प्रचण्डपछिको नेताको रुपमा अर्थाएका छन । यो कुराले नारायणकाजी जस्ता कतिपय माओवादी भित्रका नेताहरुलाई एकता मन नपर्नु अन्यथा होईन ।
नेकपा भने इमान्दार भएर गत बैसाख भित्रै माओवादी घटकहरु विचको एकतामा तयार भएको भन्दै केन्द्रीय समितिबाट निर्णय नै गर्यो । यो निर्णय भएको ६।७ महिना पछि मात्र माओवादी केन्द्रले एकताको वहस गर्यो त्यो पनि सार्थक निश्कर्ष निकाल्न सकेन । अहिले समाजवादी मोर्चा मार्फत सहकार्य गर्दै जाने र एकता गर्ने दुवै पार्टीले रणनीति लिएका छन ।
जनयुद्धको मुलबाट आएका यी दुवै पार्टीका नेताहरुले भने केही ठाउँमा संयुक्त जनयुद्ध दिवस मनाउनु निकै सकरात्मक पक्ष हो । यसले एकताको वातारण बनाउन दवाव पनि दिन्छ । कार्यकर्ता र जनताको दवाद विना नेताहरु सजिलै एकतामा आउने सम्भावना पनि कम छ । कार्यक्रमले जनतामा सकरात्मक आसा दिएपनि त्यो कुनै सार्थक दिशातिर गएको पाइएको छैन ।
माओवादीको रुपान्तरण सहितको एकता आजको मुख्य आवश्यकता हो । एकताको नाममा एकता मात्र होईन । समाजवादी क्रान्ति पुरा गर्ने सर्तमा देश र जनताले खोजेको वास्तविक एकता हो ।
जनयुद्धमा बगेको सहिदको रगतको अधुरो सपना पुरा गर्ने स्प्रिड बोकेको दरो एकता हो । यो माओवादीहरु भित्रको खरावी विरुद्ध रुपान्तरण सहितको एकता हो । जनयुद्ध दिवसका संयुक्त कार्यक्रमहरुले यो सन्देश दिएका छन ।
केवल एकताको नाममा एकता असम्भव छ । सहिदहरुको अधूरो सपना पुरा गर्न पनि माओवादी घटकहरुको रुपान्तरण सहितको एकता इतिहासको अनिवार्यता र अपरिहार्यता छ ।