विप्लवको कर्णाली यात्राको नाली बेली !

“विप्लव जुम्ला धौलापानी र कालिकोटको फोईमा स्याउ रोपेर रास्कोटको जनसभा सकेर भेडाफर्म उद्घाटन गर्न पुग्नुभयो । उहाँ कहिले स्याउ रोपनमा त कहिले भेडाफर्म उद्घाटनमा देखिदा, कहिले धान रोपन त कहिले मञ्चमा भाषण गर्न देखिदा अनौठो मान्नेहरु पनि छन । श्रम र उत्पादनसंग विश्वास गर्ने विप्लवको यो कार्य देश र जनताको आत्मनिर्भरताका लागि महान हो”


“आत्मनिर्भर पार्टी,आत्मनिर्भर नेता कार्यकर्ता, आत्मनिर्भर जनता र आत्मनिर्भर देश बनाउने उद्देश्य सहित राजनीति क्रान्ति सँगसँगै कृषि क्रान्तिलाई नेकपाले जोड दिएकोछ । जसलाई व्यवहारिक रुप दिन नेकपाले देशभर माटो अनुसारको उत्पादन गरिरहेको छ । नेकपाले कर्णालीलाई पनि उत्पादनको मुख्य केन्द्र बनाएको छ । कर्णालीको माथिल्लो भाग जुम्ला र कालिकोटमा स्याउ रोपेको छ भने भेडापालन समेत गरेको छ । यसलाई थप औपचारिकता दिन २०८१ साल फागुन ९ गते राति नेकपाका महासचिव विप्लव सीको टिम रोल्पा,रुकुम,सल्यान, दैलेख सदरमुकाम हुदै जुम्ला पुग्यो ।

विप्लव आउने थाहा पाएपछि जुम्लाको धाँचुगाउँमा स्वागतको तयारी थियो । स्थानीय पार्टी कार्यकर्ता, जनता र शुभचिन्तकको ठाउँ ठाउँमा स्वागत थाप्दै टोली कर्णाली राजमार्गको कठिन यात्रा धुवा, धुलो खाल्डा र खुल्डी छिचोल्दै राति ८ बजे जुम्लाको धाँचुगाउँ पुग्यो । राति भैसकेको थियो । तर पनि बाटोमा महासचिवलाई स्वागतका लागि स्थानीय वाजागाजा र हुड्के नाच लिएर पहिल्यै पर्खिरहेका थिए । गाउँदेखि तलबाट स्थानीयले वाजागाजा सहित हुड्के नाचले स्वागत (पर्छो) गर्दै पार्टी नेता कार्यकर्ता र जनताले हिमा गाउँपालिकाको धाँचुमा पुर्याए । रातिसम्म पनि पार्टी नेता कार्यकता र स्थानीय जनताले विप्लवको स्वागतमा नाचगान रमाइलो गरेर मनाए । रातिको खाना प्रभाजीतको घरको आगनमा पकाइएको थियो । सबै टिमले खाना खायो र जनताको घर घरमा २/३ जना भएर सुत्न गयौ ।

फागुन १० गते विहान पार्टीका नेता कार्यकतासँग भेटघाट र छलफलमा ब्यस्त रहनु भएका विप्लव दिउसो खाना खाएर कर्णाली प्रदेश समितिले संचालन गरेको ५ दिने माध्यमिक तहको स्कुलिङ्ग कार्यक्रमको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभयो । स्कुलिङ्गमा प्रशिक्षणको लागि फागुन ५ गते नै नेकपा स्थायी समिति सदस्य भरत सी, पिविएम भेषराज सी, असल सी, केन्द्रीय सदस्य तिर्थ सी, र प्रयास सी जुम्ला पुगेर प्रशिक्षण दिइरहनु भएको थियो ।

समापन कार्यक्रमको अध्यक्षता स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशिल सीले गर्नु भएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि रहनु भएका महासचिव विप्लवले सम्बोधन गर्दै नेपालमा समाजवाद ल्याउने एकीकृत जनक्रान्तिको स्कुल नेकपाको भएको बताउनु भयो । उहाँले नेपालमा समाजवाद चाहिएको र समाजवाद ल्याउने बाटो नै नेकपाको स्कुल भएको भन्दै यो नयाँ र अरु पार्टीको स्कुल भन्दा फरक भएको बताउनु भयो । उहाँले दलाल पुँजीवादका विरुद्ध समाजवादी क्रान्तिमा देशलाई लिने स्कुल अहिलेको आवश्यकता भएको पनि टिप्पणी गर्नु भयो । कार्यक्रममा स्थायी समिति सदस्य सन्तोष सी, भरत सी, पिविएम भेसराज सी, असल सी, युवा संगठन नेपालका अध्यक्ष दिनेश सी, सिसिएम तिर्थ सी, प्रयास सी अपर कर्णालीका सिसीएम, सिआरसी जनपत्रकार संगठनका केन्द्रीय सचिव वसन्त विक, केन्द्रीय सदस्य केवी गुरुङ्ग, गोपाल चन्द्र,कर्ण विश्वकर्मा र जनवर्गिय संगठनका जिल्ला इन्चार्ज लगायतको सहभागिता रहेको थियो ।

समापन कार्यक्रमपछि महासचिव विप्लव सहितको टिम त्यहि धाँचुगाउँमा भएको प्रगतिशील बैवाहिक कार्यक्रममा सहभागि भयो । जनयुद्धकै झल्को दिने गरि भएको प्रगतिशील विवाहमा नेकपा जुम्ला जिल्ला कमिटी सदस्य तथा पुर्व सामना परिवारको कलाकार शीला सी र कैलालीबासी लोकेश सी विच भएको थियो । विवाह कार्यक्रममा वैवाहिक अक्षय कोषको स्थापना पनि गरियो । कार्यक्रममा बधाई मन्तब्य दिदै महासचिव विप्लवले बैवाहिक जीवन सफताको शुभकामना सँगै समाजवादी क्रान्तिमा निरन्तर लाग्ने पे्ररण मिलोस् भन्ने शुभकामना दिनु भयो । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य सन्तोष सी र विप्लव पत्नी शोभा सी लगायले बधाई र शुभकामना मन्तब्य दिनु भयो । बैवाहिक कार्यक्रम पछि पार्टी कार्यकर्ता र स्थानीय जनताको साथमा विप्लव नेता कार्यकर्ता र जनतासँगै देउडा खेलमा सहभागि भएर रमाइलो गर्नु भयो । केही समयको रमाइलो पछि खाजा खाएर टोलि त्यहाँबाट निस्कीयो ।

फागुन ११ गते धौलापानीमा स्याउ रोप्नको तयारी थियो । जब उज्यालो भयो, तब महासचिव विप्लव हातमा साबेल र घैंटी बोकेर धौलापानी पुग्नुभयो । स्याउका विरुवाहरु सदरमुकामवाट पुग्न समय लाग्ने भएकाले विप्लव स्याउ लगाउने खाल्डाहरु खन्नमा व्यस्त हुनुभयो । उहाँको साथमा नेकपाका स्थायी समिति सदस्य संन्तोष सी, भरत सी, सुशिल सी, पिविएमहरु असल सी भेषराज सी, केन्द्रीय सदस्यहरु पार्टीका अन्य नेता तथा कार्यकर्ताहरु र स्थानीय जनता सहभागी थिए । विप्लवले साबेल, घैटीले खाल्डा खन्ने र बेल्चाले माटो फाल्ने गरिरहनु भयो । खाल्डो खन्दै गर्दा उहाँले यो स्याउ रोप्ने खाल्डा मात्रै नभइ आत्मनिर्भर अर्थतन्त्रलाई पक्डदै दलाल पुजीँवादलाई गाड्ने खाल्डो भएको पनि टिपणी गर्नु भयो । स्याउको विरुवा पुग्दासम्म करिब १५० वटा खाल्डा विप्लव सहितको टिमले खनिसकेको थियो ।

करिब १२ बजेतिर स्याउका विरुवाहरु स्याउ रोपन स्थलमा पुगे । त्यसपछि स्याउ रोपनको उद्घाटन भयो । उद्घाटन कार्यक्रममा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, जनता, पत्रकार र सुरक्षाकर्मीहरुको सहभागिता देखिन्थ्यो । कार्यक्रमको उद्घाटन गर्दै महासचिव विप्लवले आत्मनिर्भर अर्थतन्त्रका लागि जुम्ला पुगेर स्याउ रोप्न थालेको बताउनु भयो । उहाँले जुम्लामा उत्पादन भएको स्याउ सबै पार्टीले नलिने र जनताको लागि पनि केही हिस्सा दिने बताउनु भयो । उहाँले आफ्नै देशमा श्रम गर्न र अरुलाई पे्ररणा दिन आवश्यक भएको पनि बताउनु भयो । लगत्तै महासचिव विप्लवले स्याउको विरुवा हातमा लिएर स्याउ रोपनको शुरु गर्नु भयो ।

उहाँले जय देश र जय स्याउ भन्दै स्याउको विरुवा खाल्डोमा हाल्दै स्याउ रोपन गर्नु भयो । चारै तिर राता झण्डाहरु खुसीले फरफराइरहेका थिए । सहभागी सबैले स्याउ रोपिरहेका थिए । पत्रकार, सुरक्षाकर्मी, जनता, नेता, कार्यकर्ता सबै समान रुपमा स्याउ रोप्नमा व्यस्त थिए । साँझ अवेरसम्म महासचिव विप्लव स्याउ रोपनमा व्यक्त हुनु भयो । त्यो दिन विप्लवको जन्मोउत्सवको दिन पनि थियो । आफू जन्मिएको दिन स्याउ रोपनमा पसिना बगाइरहनु भएको थियो । नेकपा कर्णाली प्रदेशले विप्लवको जन्मदिनको अवसरमा वेलुका सानो भएपनि शुभकामना दिने कार्यक्रम राख्यो ।

जन्मोउत्सव कार्यक्रममा सहभागी सबैले टिका लगाउदै पुष्पगुच्छा दिदै जन्मदिनको शुभकामना दिदै थिए । भावुक देखिनु भएका विप्लवले आफू अन्तीमसम्म देश र जनताको पक्षमा कामगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले स्याउ रोपनसंगै जन्मदिन मनाउने कार्यक्रम जोडेकोमा पार्टी र जुम्ली जनतालाई धन्यवाद दिनुभयो । राति ११ बजेसम्म जुम्ली जनता र स्थानीय कार्यकर्तासंग महासचिव विप्लव देउडामा छमछमी रमाउनु भयो र पाईतिमा पाईति मिलाउदै कर्णालीको देउडा खेलमा सहभागि हुनुभयो ।

विप्लवले अघिल्लो बर्ष पनि हिमाको हाडुल्य लेकमा पुगेर करिव १ हजार स्याउका विरुवा रोप्नु भएको थियो । यसैको निरन्तरता दिन र विस्तार गर्न विप्लवले यो बर्षपनि थप स्याउ रोपनका लागि जुम्ला पुग्नु भएको थियो । जुम्लाको स्याउ रोपन सकेर फागुन १२ गते कालिकोटको फोईमा स्याउ रोप्ने तयारी थियो । विहानको उज्यालोसंगै खाजा खाएर कालिकोटको फोईमा पुग्नु भयो । स्थानीय सरकारका प्रतिनिधि, पार्टी नेता कार्यकर्ता र जनताले बाजागाजा र हुड्के नाच सहित भव्य स्वागत गरेका थिए ।
अघिल्लो वर्ष फोईमा करिव ५ सय स्याउका विरुवा रोप्नु भएका विप्लवले फेरी पनि यो बर्ष थप एक हजार स्याउका विरुवा र ५ सय ओखरको विरुवा रोप्नु भयो । माटोमा रमाउदै कालिकोटे जनतासंग स्याउ रोपनमा व्यस्त विप्लवको यो कदमले हरेक नेपालीको मनमा आसा र खुसीको सन्देश दियो । यसलाई सबैले अनुकरण गर्नसके नेपाल आत्मनिर्भर हुदै समृद्धितिर पुग्न कुनै समय लाग्ने थिएन ।

स्याउ रोपन सकिए लगत्तै विप्लव रास्कोट पुग्नु पर्ने थियो । नेकपा कालिकोटले विप्लवलाई जनतासंग जोड्न रास्कोटमा जनसभाको आयोजना गरेको थियो । फागुन १४ गते रास्कोटको जनसभाको लागि विप्लव सहितको टिम फोईबाट फागुन १३ गते रास्कोटतिर  हिड्यो । फोईमा खाजा खाएर हिडेको टिमले खाँडाचक्रको त्रेसो बजारमा विमर्शको दिदिको घरमा खाना खान पुग्यो । त्यहाँ स्वागतको लागि विमर्शको तिन वटा दाईहरु, दिदि र स्थानीय जनता जुटेका थिए । महाचिव विप्लवलाई भेट्न भनेर ३÷४ घण्टाको लामो बाटो हिडेर शुभकालिकाको हाउडीबाट विमर्शको दाईहरु आउनु भएको रहेछ । न्यायो आतिथ्यता र मिठो भेटघाट पछि खाना खाएर त्यहाँबाट निस्कियौं । दिउसो ४ बजे रास्कोट पुग्यौं । रास्कोटमा पार्टी कार्यकर्ता, अन्य राजनीतिक दल, कर्मचारी र शुभचिन्तकहरुले फुलमाला र अविर लगाएर भव्य स्वागत गरे । स्वागत पछिको छोटो भेटमा बोल्दै विप्लवले नेता कार्यकर्ता र पार्टीलाई आत्मनिर्भर बनाउदै जनतालाई समेत आत्मनिर्भर बनाउनका लागि जुम्ला कालिकोटमा स्याउ रोपेर आएको र रुप्सामा भेडा फर्म उद्धघाटन गर्न जाने बताउनु भयो । उहाँले देशभर नेकपा उत्पादनमा केन्द्रीत भएकोे र डेढवर्षमै पार्टीलाई आत्मनिर्भर बनाउने ठाउँमा पुगेको बताउनु भयो । उहाँले भन्नुभयो, “राजनीति कृषि उत्पादनमा जोडदिएन, उद्योग कलकारखाना बनाउनेमा जोड दिएन, थोरै भएको पैसा पनि सहि सदुपयोग भएन, जनताको जीवन परिवर्तन हुने गरी उत्पादनको योजना कुनै पार्टीसंग भएन । जसले गर्दा देशका नेताहरु दलाल हुन थाले । विदेशीको मुख ताकेर वस्ने भए । यो कुराले नेपाल पछाडि परेको हो ।”

फागुन १४ गते जुन दिन सहिद सप्ताहको पहिलो दिन पनि थियो । जुन दिन ११ बर्षिय वालक दिल वहादुर रम्तेलको हत्यारा प्रहरीहरुले निर्मम हत्या गरेको दिन पनि थियो । हामी रास्कोटको आरसीपी बजारमा थियौ । आरसीपी बजार जनयुद्धकै ऐतिहासिक उपलब्धी पनि हो । जसको स्थापना जनयुद्धले गरेको थियो र नामाकरण पनि सहिदको नामहरुबाट जुराईएर बनाइको थियो । यहाँ क्रान्तिकारी योद्धा विप्लव पुग्नु भएको थियो । बजार पनि तातिदै थियो । दिउसोको १२ बज्यो, विस्तारै बजारको चारैतिर राता झण्डा र मान्छेहरु देखिन थाले । जहाँ एकीकृत जनक्रान्ति जिन्दावाद ! नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद ! महान सहिदहरु अमर रहुन ! भन्दै नाराहरु गुन्जिन थाल्यो । दमाह बजाउदै हुड्के नाच नाच्दै र झाँकी प्रस्तुत गर्दै नारा जुलुस सुरु भयो । आफैपनि महासचिव विप्लव सी पनि त्यो जुलुसमा सहभागि हुनुभयो । फुलमालाले विप्लवलाई भव्य स्वागत गरिदै थियो । रास्कोटी जनताले जननेता आउँदा अभिभावक पाएको अनुभूति गरिरहेका थिए । र्याली नारा जुलुस सहित विस्तारै मन्चको अगाडि पुग्यो ।

चारैतिर झकिझकाउ मञ्चमा नेकपाका केन्द्रीय सदस्य बलवान सीको संचालन र विवेक सीको सभाअध्यक्षताा जनसभा सुरु भयो । जनसभामा प्रमुख अतिथिको रुपमा महासचिव विप्लव सीको आसनग्रहण भयो । अन्य अतिथिहरुको पनि आसनग्रहण भयो । सहिद पत्नी विरिन्द्रा न्यौपाने, संगीता योगीको नाम पनि आसन ग्रहणका लागि बोलाईयो । कार्यक्रम सहिदको चिहानमाथि भइरहेको थियो । सहिदहरुको चिहानमाथि उभिएर नेकपाका महासचिव विप्लव सहितका नेताहरुले सहिदका सपना जसरी पनि पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेकपाका,स्थायी समिति सदस्य सन्तोष सी, भरत सी, केन्द्रीय सदस्यहरु प्रयास सी, दिनेश सी र नरेन्द्र सीले पनि अधुरो क्रान्ति पुरा गरेरै छोड्ने र सहिदहरुको सपना गन्तव्यसम्म पर्याएरै छोड्ने प्रतिवद्धता जनाउनु भयो  । हजारौंको संख्यामा सहभागि रास्कोटी जनताहरुले विप्लव सीलाई निकै चासोका साथ लिएका थिए । सहिद परिवार, बुद्धिजीवी र अरु विभिन्न पार्टीका आस्थावान मान्छेले समेत चासोका साथ लिए । जनयुद्धको समयमा हरेक कालिकोटका बस्ति– वस्ति हिडेको भएपनि शान्ति प्रक्रिया पछि रास्कोटमा विप्लवको पहिलो आगमन थियो । कार्यक्रममा गाउँ –गाउँवाट ल्याइएका देउडाले आफ्ना गित मार्फत देशमा विप्लव चाहिएको छ भन्दै थिए । कार्यक्रमको समापन पछि रास्कोटवासी जनताको बिचमा महासचिव विप्लव आफैपनि देउडामा छमछमी नाच्दै रमाउनु भयो ।

फागुन १६ गते रुप्साको चिसापानीमा भेडार्फम उद्घाटन गर्ने नेकपा महासचिव विप्लवको योजना थियो । जसका लागि रास्कोटबाट फागुन १५ गते विहान खाना खाएर रुप्सातिर हिड्नु भयो । ठाउँ ठाँउमा स्वागत तथा सम्मानका कारण राति ८ बजे मात्र रुप्साको अदेला पुग्नुभयो । १६ गते विहानदेखि साँझसम्म निरन्तर पानी परेकाले भेडाफर्म उद्घाटन हुन सकेन । विप्लव एक दिन ढिलागरी फागुन १७ गते मात्र भेडाफर्म उद्घाटन गर्ने निधोमा पुग्नुभयो । फागुन १७ गतेको विहान मिरमिरे उज्यालो सँगै बर्षापनि विस्तारै रोकिदै गयो । मौषम सफा र उज्यालो हुदा विप्लव लगायतको टिम विहानको खाना आएर साढे ९ वजे रुप्साबाट चिसापानी भन्ने ठाउँतिर लाग्यो । खोलै खोलाको यात्रामा विप्लव रमाउदै ठाउँ ठाउँमा फाटो खिच्दै हिड्न थाल्नु भयो । बाटो सजिलो थिएन । खोलाका अप्ठ्यारा ढुङ्गासंग रड्दै पड्दै अविराम हिडिरहनु भयो । बाटो असजिलो भएपनि विप्लवमा उत्साह कमी थिएन । यात्रामा विप्लव सहित उहाँको साथमा पत्नी शोभा, स्थायी समिति सदस्य सन्तोष सी, भरत सी, लगायतका नेता कार्यकर्ता र जनताहरु सहभागी थिए । जनयुद्धको समयमा हिडेका बाटाहरु भएको भन्दै विप्लवले पटक पटक स्मरण गर्दै हुनुहुन्थ्यो । जनयुद्धको झ–झल्को दिने गरी खोलामा लस्करै हिडिरहेका थिए । निरन्तरको यात्रासंगै कुनै थकान विना विप्लव सहितको टिम दिउसो १ बजे चिसापानी पुग्यो ।

वरपरका उच्च पहाडहरु हिँउले सेताम्य थिए । चिसापानीको हावा र पानी पनि चिसै थियो । त्यहाँको थोरै भएपनि समथर फाँटमा भेडाहरुले सेताम्य नै थियो । भेडाहरु आफ्नै चरनमा व्यस्त थिए । केही समय पछि भेडाफर्म उद्घाटनको तयारी भयो । त्रिवेणी साझेदारी भेडाफर्मको नामाकरण राखिएको रहेछ । त्यसको अध्यक्ष ध्रुव सीलाई बनाईएको थियो । वरपर तितर वितर भएका भेडाहरु उद्घाटन कार्यक्रम नजिक ल्याईए । भेडाहरु भ्या भ्या गर्दै थिए । राता झण्डाहरु वरपर फरफराईरहेका थिए । चारैतिरका सेताम्य हिमालहरु थप चम्किरहेका थिए ।

कार्यक्रमको नेकपा केन्द्रीय सदस्य विवेक सीले संचालन गरेको कार्यक्रमको अध्यक्षता स्थायी समिति सदस्य सन्तोष सीले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि महासचिव विप्लव हुनुहुन्थ्यो । अतिथिहरु सहिद परिवारबाट चम्फ वोगटी, कांगे्रस प्रतिनिधिवाट हरी वोगटी, वडासचिव पर्व वोगटी, युवा संगठन नेपालका अध्यक्ष दिनेश सी र जनपत्रकार संगठनका सचिव वसन्त विक भए । कार्यक्रममा भेडाफर्मका अध्यक्ष ध्रुवले स्वागत मन्तव्य दिदै सबैलाई एकपटक भावुक बनाउनु भयो । उहाँले पार्टीको योजना अनुसार आफू भेडाफर्ममा खटिएको बताउनु भयो । उहाँले पहिलेको पनि भेडीगोठाला थिए तर पहिलेको भन्दा अहिलेको भेडी गोठालामा म निकै फरक छु भन्नुभयो ।

महासचिव विप्लवले भेडाफर्मको व्यानर पढेर उद्घाटन गर्दै नेपाली युवाहरुले मरुभूमिका भेडा पाल्ने नभएर नेपालमै भेडापाल्न अपिल गर्नुभयो । उहाँले भेडाको बथानको बिचमा लाठ्ठी समातेर उभिदै आफू नेपाली जनताको हितको लागि भेडीगोठालो हुन तयार भएको टिप्पणी गर्नु भयो । जनताको लागि गोरु जस्तै जोतिएर सेवा गर्ने इच्छा व्यक्त गरिरहनु भएका विप्लवले भेडी गोठालो भएर पनि जनसेवा गर्न तयार छु भनेर बताउनु भयो । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य भरत सीले पनि शुभकामना दिदै गफ गर्ने पार्टी र नेता होईन काम गर्ने पार्टी र नेता चाहिएकोे बताउदै त्यो नेकपा र विप्लवबाट मात्र सम्भव हुने बताउनु भयो । शुभकामना दिदै युवा संगठन नेपालका अध्यक्ष दिनेश सी, पत्रकार वसन्त विक, सहिद परिवार चम्फ वोगटी, कांग्रेस प्रतिनिधि हरी वोगटी, वडासचिव पर्व वोगटीले नेकपाको कदमलाई स्वागत गर्दै धन्यवाद दिनु भयो ।

नेकपाले नरहरीनाथ गाउँपालिका ५ रुप्साका रामबहादुर वोगटीका ९० वटा भेडा २०८१ कार्तिक १६ गते २० लाखमा किनेको थियो । भेडा किने पछि भेडाफर्म नै दर्ता गरेको नेकपाले महासचिव विप्लवकै उपस्थितिमा फागनु १७ गते औपचारिक उद्घाटन गरेको हो । नेकपाका भेडाफर्मका अध्यक्ष धु्रवका अनुसार अहिले फर्ममा ११८ वटा भेडा छन । उहाँले भन्नुभयो ‘थुमा १८, साँड २, ल्याउरु २४ र ७४ वटा ठुला भेडा छन । यो फर्ममा काम गर्न पाउदा मैले गर्भको अनुभूति गरेको छु ।’ अहिले भेडाफर्ममा ध्रुव सहित जीवन, गणेश, धिरेन्द्र र राजेश गरी ५ जना गोठालाहरु छन । उनीहरुले भेडाहरुलाई कालिकोट, अछाम र वाजुरा जिल्लाका उच्च पाटक क्षेत्रका चरनक्षेत्रहरुमा डुलाएर चराउने गरेका छन । ध्रुवलाई पार्टी केन्द्रीय कार्यालयले खटाएको छ भने अरु ४ जना स्थानीय युवाहरु पनि खटिएका छन ।

विप्लव जुम्ला धौलापानी र कालिकोटको फोईमा स्याउ रोपेर रास्कोटको जनसभा सकेर भेडाफर्म उद्घाटन गर्न पुग्नुभयो । उहाँ कहिले स्याउ रोपनमा त कहिले भेडाफर्म उद्घाटनमा देखिदा, कहिले धान रोपन त कहिले मञ्चमा भाषण गर्न देखिदा अनौठो मान्नेहरु पनि छन । श्रम र उत्पादनसंग विश्वास गर्ने विप्लवको यो कार्य देश र जनताको आत्मनिर्भरताका लागि महान हो । कतिपयले विप्लवले राजनीति क्रान्ति छोडेर आर्थिक क्रान्तिमा मात्र लागेको आरोप लगाउने गरेका छन । तर यसप्रति विप्लव कुनै नयाँ मान्नु हुदैन । किनकी आर्थिक क्रान्ति र राजनीतिक क्रान्तिसंगै नलिएसम्म देश स्वाधीन र आत्मनिर्भर नहुने उहाँको दाबी छ । विप्लवले २४ सैं घण्टामा राजनीति गरेर नहुने निश्कर्ष निकाल्दै नयाँ आर्थिक मार्गको नीति अनुसार आर्थिक क्रान्तिलाई राजनीति क्रान्तिसंग अनिवार्य जोडनु पर्ने बताउने गर्नु भएको छ  ।

महासचिव विप्लव प्रति कर्णालीका जनताको आशा र भरोसा छ । नेकपालाई साथ दिदै आएका छन । जनयुद्ध होस या एकीकृत जनक्रान्ति कालिकोटका जनताहरुले क्रान्तिलाई पकड्दै आएका छन । कर्णाली यात्रामा महासचिव विप्लवलाई सहिद परिवार, घाइते योद्घा, राजनीतिक पार्टी, मित्र शक्ति, शुभ चिन्तक र जनताले अरु त त्यस्तै हुन तपाईहरुको नै आशा छ धोका नदिनु भनेर सुझाव सल्लाह र हौसला दिएका छन । पक्कै महासचिव विप्लवले कर्णाली यात्रामा नयाँ अनुभूति र थप हौसला हासिल गर्नु भएको होला । विप्लव सी कालिकोटबाट फाल्गुन १८ गते विदाई भएर सुर्खेत हुँदै कपिलवस्तु लाग्नु भयो भने म जुम्ला तिर !

प्रतिक्रिया दिनुहोस