नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाख, काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौ रकम ठगी गरी खाएको आरोपमा एमाले सचिव टोपबहादुर रायमाझी आईतवार साझ पक्राउ पर्नु भएको छ ।

प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उहाँलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको गृहमन्त्रालयले जनाएको छ ।
प्रहरीका अनुसार रायमाझी शनिबार मात्र राजधानी पुग्नु भएको थियो । उहाँ पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउने देखि करोडौको आर्थिक चलखेल गरेको आरोप छ । उहाँको सहयोगमा नेपाली नागरिकलाई नक्करी शरणार्थी बनाउने गिरोहले गृहमन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको प्रहरी अधिकृतहरुले खुलासा गरेका छन ।
उहाँ विरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसदिन अर्घाखाँचीमा रहनु भएका उहाँ पक्राउ पुर्जी जारी भएपछि फरार हुनु भएको थियो । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

पक्राउ पूर्जी जारी भएको दिन राति ९ बजे उहाँ भैरहवा विमानस्थलबाट काठमाडौं फर्कने तयारीमा हुनुहुन्थ्यो । त्यहीबेला उहाँले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग सम्पर्क गरेर करिब १५ मिनेट कुराकानी गर्नु भएको थियो । त्यसक्रममा रायमाझीले आफूविरुद्ध पक्राउ पूर्जी जारी भए÷नभएकोबारे सोध्नु भएको थियो ।

जवाफमा कुँवरले ‘आफूलाई त्यसबारे थाहा नभएको बताउँदै सम्बन्धित प्रहरी परिसरका प्रमुख वा त्यहाँका अधिकृतसँग सम्पर्क राख्न’ भनेको स्रोतले वताएको छ । आईजीपीसँगको कुराकानीमा रायमाझीले आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गर्नु भएको थियो । अनुसन्धानमा सहयोग गर्न आफैं आउँछु भन्नु भएका टोपबहादुर काठमाडौं पग्नु भएन ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा १२ चैतमा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ पर्नु भएको थियो । दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्र मन्त्री भएका बेला उहाँको सचिवालयमा कार्यरत हुनुहुन्थ्यो । उहाँहरुको बयानका आधारमा रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

रायमाझीका छोरा सन्दीपको नाममा डेढ करोड रुपैयाँको चेक यो गिरोहका सदस्यले काटेको पाइएको प्रहरीले वताएको छ । तर, रायमाझीले महानिरीक्षक कुँवरसँग आफूहरुसँग त्यस्तो कुनै चेक नआएको भन्दै फसाउन खोजिएको दाबी गर्नु भएको थियो । सानु भण्डारी गाउँले भएकाले चिनजान भएको बताउँदै अरु सिलसिलामा भेट भएको विषयलाई तोडमोड गरेर फसाइएको दाबी महानिरीक्षक कुँवरसमक्ष रायमाझीले गर्नु भएको थियो ।

अर्का आरोपी केशव दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उहाँको निजी सचिव हुनुहन्थ्यो । ‘त्यतिबेला म पनि शान्ति प्रक्रियाको काममा संलग्न भएकाले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र उहाँसँग पनि भेट भइराख्थ्यो’, रायमाझीले प्रहरी प्रमुखसँग दाबी गर्नु भएको छ ‘त्यहीक्रममा चिनजान भएपछि सम्पर्क र भेटघाट हुन थालेको हो, मैले गलत उद्देश्यले केही गरेको छैन ।’ उहाँले अर्कै प्रसंगमा घुम्न गोसाइँकुण्ड गएको विषयलाई पनि जोडिएको भन्दै आपत्ति जनाउनु भएको थियो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेकाहरुले रायमाझी संलग्न रहेको बयान दिएपछि प्रहरीको आग्रहमा जिल्ला अदालतले उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १२ जना पक्राउ परिसकेका छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले ४ दिन हिरासतमा राख्न आइतबार नै अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस