प्रचण्डको प्रतिवेदनमा ‘ओली प्रवृत्ति’ को व्याख्या


कार्तिक २९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी, आन्दोलन र देशकै निम्ति ‘ओली प्रवृत्ति’ को व्यापक चिरफार आवश्यक रहेको बताउनु भएको छ ।
शुक्रबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष प्रचण्डले ‘ओली प्रवृत्ति’लाई सैद्धान्तिकरण गरेर त्यसको व्याख्यासमेत गर्नु भएको छ ।
प्रचण्डले सचिवालयमा पेश गरेको लिखित प्रस्तावमा ‘ओली प्रवृत्ति’को व्याख्या गर्दै भनिएको छ, ‘वैचारिक(राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्दति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अतिक्रमणद्वारा कमरेड केपी शर्मा ओलीले आफू चरम व्यक्तिवादी, गुटवादी सावित गर्नुभएको छ ।’
प्रचण्डको दस्तावेजमा अगाडि भनिएको छ, ‘उहाँमा विद्यमान यो प्रवृत्तिको व्यापक चिरफार पार्टी, आन्दोलन र देशकै निमित्त आवश्यक हुन गएको छ । यो कुनै व्यक्तिगत आग्रह पूर्वाग्रहको कुरा होइन, अपितु पार्टी निर्माण र देश निर्माणको अनिवार्य शर्त हो ।’
प्रचण्डले अब पार्टीभित्र पदीय भागवण्डा गरेर मात्रै समस्या समाधान नहुने बताउनु भएको छ । ‘गम्भीर र जटील समस्याहरुको सामना अब स साना प्राविधिक जोडघटाउ वा पदीय भागवण्डाबाट गर्न असम्भव छ’ प्रचण्डको प्रस्तावमा भनिएको छ, ‘यसका निमित्त वैचारिक राजनैतिक कार्यदिशा, संगठनात्मक विधि पद्दति र कम्युनिष्ट आचरणका बारेमा गम्भीर समीक्षासहित समुचित निकास खोज्नु अनिवार्य छ ।’
यसका लागि अब केपी ओलीले ‘त्याग देखाउनुपर्ने’ निश्कर्षसहितको प्रस्ताव पेश गर्नु भएको छ । प्रधानमन्त्री ओली पार्टी र सरकार सञ्चालनमा पूरै असफल भएको प्रचण्डको निश्कर्ष छ । ‘आज पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउने जस्तो उल्टो व्यवहार भइरहेको छ’ प्रचण्डको प्रस्तावमा भनिएको छ, ‘वस्तुतः, अन्ततः र मुख्यतः पार्टी र सरकारको उपरोक्त स्थितिका लागि पार्टी र सरकार दुबैको मुख्य नेतृत्वमा रहेका कमरेड केपी शर्मा ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेका छन् ।’
सचिवालय बैठकमा के के भयो ?
शुक्रबार अपरान्ह ४ बजेपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सचिवालय बैठकमा सुरुमा प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलतर्फ लक्षित गर्दै ‘ल भन्नुस् केके भन् एजेण्डा ?’ भनेर विषयवस्तुमा प्रवेश गर्नु भएको थियो ।

अध्यक्ष ओलीको रुलिङपछि महासचिव पौडेलले स्थायी कमिटीको बैठकका निर्णयहरु कार्यान्वयन सम्बन्धमा‘. यस्तै विषयहरु त हुन् भन्नु भयो । महासचिव बोल्दै गर्दा अर्का अध्यक्ष प्रचण्डले उहाँलाई ‘क्रस’ गरेर भन्नु भयो , म केही बोल्छु ।
प्रचण्डले पार्टीमा उत्पन्न संकटका बारेमा बताउँदै पाँचजना नेताले बैठकको माग गरेको, प्रधानमन्त्रीले पत्र लेखेको र आफूले पनि त्यसको जवाफमा पत्र लिएर आएको बैठकमा बताउनु भयो । साथै उहाँले लिखित राजनीति प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्नु भयो ।
आफूले पेश गरेको प्रस्तावमाथि सबै सदस्यले छलफल गरेपछि स्थायी कमिटीमा जाऔं भन्ने प्रचण्डले प्रस्ताव गर्नु भयो । प्रचण्डको भनाइमा साथ दिँदै बरिष्ठ नेता माधवकुमार नेपालले पनि स्थायी कमिटी बैठकमा जाऔं भन्नु भयो ।
तर, प्रधानमन्त्री ओलीले मलाई धेरै छलफल गर्नु छैन भन्दै सचिवालयमै छलफल नगरिएको विषय स्थायी कमिटीमा जान नमिल्ने बताउनु भयो । अर्का नेता वामदेव गौतमले पनि सचिवालयमै छलफल गरौं भनेपछि मंसिर ३ गते दिउँसो १ बजे फेरि सचिवालय बैठक राख्ने र अध्यक्षका पत्र अनि प्रचण्डको लिखित प्रस्तावमाथि छलफल गर्ने सहमतिका साथ बैठक टुंगिएको एक नेताले वताउनु भयो ।
शुक्रबारको बैठकमा लिखित कागजातहरु बाँडिएका कारण मौखिकरुपमा लामो छलफलै नभएको स्रोतले बतायो ।
प्रचण्डले औंल्याएका ‘ओली प्रवृत्ति’ का विशेषताहरु !
प्रधानमन्त्री ओलीमा देखापरेको व्यवहार र विचारलाई ‘सैद्धान्तीकरण’ गर्ने प्रयास गर्दै प्रचण्डले उहाँको चरित्र चित्रण गर्नु भएको छ । राजनीतिक प्रस्तावको मुख्य भाग नै केपी ओलीमाथि केन्द्रित छ । र, ओलीमा देखापरेको प्रवृत्तिको चिरफारका देशका लागि आवश्यक रहेको प्रतिवेदनमा निश्कर्ष निकालिएको छ । प्रचण्डका अनुसार प्रधानमन्त्री ओलीले चारवटा क्षेत्रमा प्रहार गरिरहेका छन् ः
पार्टी एकताका वैचारिक राजनैतिक आधार र भावनामाथि प्रहार ।
संगठनात्मक, सिद्धान्त र विधि पद्धतिमाथि प्रहार ।
सरकार सञ्चालनमा अनुत्तरदायी व्यवहार ।
स्थायी समितिको पछिल्लो बैठकका निर्णयहरुमाथि प्रहार ।
प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावमा ‘क्वाइन’ गर्न खोजेको ‘ओली प्रवृत्ति’ का केही विवरण यस्ता छन

(कमरेड केपी शर्मा ओलीले न कहिल्यै समाजवादको कुरा गर्नुहुन्छ न समाजवाद उन्मुख जनताको जनवादको न कहिल्यै समाजवादी आर्थिक, राजनैतिक, सांस्कृतिक नीतिबारे चर्चा गर्नुहुन्छ, न सरकारका तर्फबाट समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि सार्नु भएको छ । व्यवहारतः उहाँले दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने नवउदारवादी पूँजीवादलाई नै पच्छ्याइरहनु भएको छ ।
– कमरेड केपी ओलीले पार्टी एकताको वैचारिक राजनैतिक आधार र भावनालाई आत्मसात नगरेको मात्र होइन बरु त्यसका विरुद्ध आफ्ना क्रियाकलापहरु बढाइरहनुभएको छ ।
– कमरेड ओलीले संविधानको मर्म र भावनाअनुसार प्रदेशहरुलाई बलियो बनाउन पहल गर्नुको साटो सकेसम्म प्रदेशहरुको अधिकार कटौती गरी एकात्मक केन्द्रीकृत मान्यता अनुसार नै शासन चलाउन जोड गरिरहनु भयो । हालै कर्णाली प्रदेशका पार्टी पदाधिकारीहरुसँगको छलफलका क्रममा प्रदेशलाई संघीय सरकारको प्रशासनिक इकाइ मात्र रहेको तथा सबै प्रदेश र देशकै दल नेता आफू मात्र भएको व्याख्या गरेर उहाँले आफूलाई संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म र भावना विपरित रहेको तथ्य प्रमाणित गरिरहनुभएको छ । पार्टी एकता र संविधानका आधारभूत वैचारिक राजनैतिक पक्षमाथि कमरेड केपी ओलीबाट निरन्तर प्रहार भएकै कारण आज पार्टी र सरकारमा गम्भीर संकट उत्पन्न भइरहेको छ ।
(कमरेड ओलीको सोच र कार्यशैली कम्युनिष्ट पार्टीको यो संगठनात्मक सिद्धान्त र मान्यताहरुको विल्कुल विपरीत रहेको छ । बहुमतको निर्णय म मान्दिन, मेरो निर्णय बहुमतले मान्नुपर्दछ भन्ने मान्यता नै कमरेड ओलीका संगठनात्मक मान्यता हुन् । स्पष्ट छ कि यसप्रकारको सोच र शैलीको कम्युनिष्ट पार्टीको सिद्धान्त श्रमजीवि वर्गको स्वार्थसँग कुनै सम्बन्ध छैन, बरु उपरोक्त सोच र शैलीको सिधा सम्बन्ध बुर्जुवा अराजकतावादी व्यक्तिवाद र सामन्ती निरंकुशतासँग रहेको हुन्छ

प्रतिक्रिया दिनुहोस