वैज्ञानिक समाजवादी व्यवस्थाको प्रचार गर ः भृकुटी

१ माघ,पाल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य धीरेन्द्रा कुमारी उपाध्याय ‘भृकुटी’ ले दलाल संसदीय व्यवस्थाको घृणित चरित्रको भण्डाफोर गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाको प्रचार गर्न आग्रह गर्नु भएको छ ।

जनपत्रकार सङ्गठन नेपाल पाल्पाले जिल्ला सदरमुकाम तानसेनमा शनिवार आयोजना गरेको तीनदिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै उहाँले यस्तो आग्रह गर्नु भएको हो ।

पाल्पा गुल्मी जिल्ला इन्चार्ज समेत रहनु भएकी नेतृ भृकुटीले दलाल पुँजीवादले महिलालाई जीवन निर्वाहका लागि शरीर बेच्न बाध्य बनाएको भन्दै यो व्यवस्थाको घृणित चरित्रको भण्डाफोर जरुरी रहेको वताउनु भयो ।

नेतृ भृकुटीले पुरानालाई भत्काएर नयाँ निर्माणका लागि युवा जनपत्रकारहरूको भूमिका महत्वपूर्ण हुने पनि वताउनु भयो ।

तालिमका प्रशिक्षक रातो खबर प्रकाशन गृहका सम्पादक तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदीले वर्गीय समाजमा राजनीति, अर्थ र संस्कृति जस्तै पत्रकारिता पनि वर्गीय हुने वताउनु भयो ।

उहाँले जनपत्रकारहरूले श्रमिक जनताका पक्षमा र दलाल पुँजीवादी सत्ताका विरुद्ध सञ्चारकर्मीलाई केन्द्रित गर्नुपर्ने बताउनु भयो । नेकपा पाल्पाका सेक्रेटरी भुवन जीसीले अबको युग सञ्चारको युग भएको बताउनु भयो ।

जनपत्रकार सङ्गठन लुम्बिनीका कोषाध्यक्ष तथा सङ्गठनका पाल्पा इन्चार्ज मुक्ति गैरेको अध्यक्षतामा उद्घाटन भएको तालिमको सञ्चालन मोहन निवाङले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस