दाङमा २१ वर्षे महिला बलात्कारको अभियोगमा प्रहरी हवल्दार पक्राउ

फागुन ३, दाङ । दाङमा एक प्रहरी हवल्दार बलात्कारको अभियोगमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय फूलबारी मझघटुवामा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्द स्थानीय एक महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन्।

कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १८ निवासी चन्दले गए राति सवा १० बजेतिर एक जना महिलालाई जवरजस्ती बलात्कार गरेको अभियोग लागेको छ।

बलात्कारको अभियोग खेपेका हवल्दार चन्दलाई प्रहरीले गए राति नै पक्राउ गरेको प्रहरी स्रोतले सेतोपाटीलाई जानकारी दियो।

उनलाई हाल इप्रका तुलसीपुरको थुनुवा कोठामा राखिएको छ। हवल्दार चन्दमाथि स्थानीय एक २१ वर्षीया दलित महिलामाथि बलात्कार गरेको आरोप लागेको छ।

पीडित महिलाले शुक्रबार नै इप्रका तुलसीपुरमा आएर चन्दविरुद्ध उजुरी दर्ता गराइसकेकी छन्। पीडित महिलाका अनुसार उनको घरको आसपासमा होहल्ला भएको भन्दै ढोका खोल्न लगाएर चन्दले बलात्कार गरेका थिए।

पीडित महिलाको आरोप यस्तो छ

पीडित महिलाका अनुसार आफू निदाएको समयमा मदिराले मातेका प्रहरी हवल्दार चन्द उनको घरमा गएर राति ढोका हानिरहेका थिए।

धेरैबेर ढोका हानेपछि उनको कानमा पर्‍यो र उनले किन ढोका हानेको भनेर घरभित्रै झ्यालबाट बोलिन्। त्यसपछि प्रहरी हवल्दार चन्दले आफूहरू थानाबाट आएको हुँदा एकैछिन उठेर त्यसअगाडि त्यहाँ हल्ला गर्ने मानिस को थिए? त्यो भन्नुहोस भन्दै ताकेता गरेछन्।

‘ए बहिनी उठ्नुहोस न एक्कैछिन मात्रै हामी थानाबाट आएका प्रहरी हौं, तपाईंलाई केही हुँदैन। अघि यहाँ हल्ला गर्ने मानिस को हुन् र ती कता गए? बताइदिनुस भन्दै ढोका खोल्न आग्रह गर्‍यो,’ पीडित महिलाले भनिन्।

त्यति भन्दा पनि उनले ढोका खोलिनन्, बरु झ्यालबाटै लाइट लगाएर हेरिन्। उनले त्यहाँ प्रहरी देखिनन्। त्यसपछि चन्दले फेरि लाईट नलगाउन र एकैछिन तल झरेर जानकारी दिन आग्रह गरे।

ती पीडित महिलाका श्रीमान कामको खोजीमा भारत गएका थिए। उनका ४ र ५ वर्षका दुई छोरा पनि छन्। तर, शुक्रबार राति एउटा छोरा आफन्तकको गएका हुँदा ४ वर्षीय छोरा र आमा मात्र घरमा थिए।

निकै कर गरेपछि उनले ढोका खोल्दा घर बाहिर चन्द एक्लै थिए। पीडितका अनुसार सुरूमा हामी दुई/तीन जना छौं भनेर प्रहरी हवल्दार चन्दले विकलाई ढोका खोल्न लगाएका रहेछन्। ‘ढोका खोल्ने वित्तिकै पल्लो घरको मानिस कहाँ छ भन्दै सोध्नुभयो, त्यसपछि उहाँले फेरि यहाँ अघि हल्ला गर्ने को हो? भन्दै सोध्नु भयो,’ पीडित महिलाले भनिन्, ‘मैले चिन्दिनँ तर, एक जना दाइ हुनुहुन्थ्यो उहाँ जानुभयो भन्ने जवाफ दिएँ।’

त्यसपछि उनी ढोका भित्र छिर्दै गर्दा प्रहरी हवल्दार पनि सँगै भित्र पसे। त्यति बेला हवल्दार चन्दले उनलाई हुत्याएर आफैं ढोका लगाए।

उनले के गरेको भनेर सोधिन्? त्यसपछि पानी देउ भनेछन्। ‘मैले गाग्रीबाट पानी सारेर लोटामा दिएपछि पानी पनि खानुभयो र त्यो लोटा राख्ने वित्तिकै मलाई घाँटीमा समातेर ग्वाम्मै ढाल्नु भयो, मुख बन्द भयो र जवर्जस्ती गर्नुभयो,’ उनले सेतोपाटीसँग भनिन्।

बलात्कारपछि प्रहरी हवल्दार चन्दले त्यो कुरा कतै भने उनीसँगै नाबालक छोराको हत्या गर्ने चेतावनी दिए।

‘मैले सुसुरालाई भन्दिन्छु भन्दा घाँटी फेरि दबाउनुभयो, कपाल लुछ्नुभयो र लठ्ठीले हान्नुभयो,’ पीडित महिलाले भनिन्, ‘मैले त्यतिबेला बाँच्नकै लागि भए पनि कतै भन्दिनँ भनेर उम्किएकी थिएँ।’

हातपाउ जोड्दै भन्दिनँ भनेपछि हवल्दार चन्दले उनलाई छोडेछन्। ‘त्यसपछि मलाई उहाँले एक हजारको नोट समातेर लैजा भन्नुभयो। त्यसपछि म पैसामा बिक्ने महिला होइन, तपाईँ यहाँबाट जानुहोस् म कही भन्दिनँ भन्दै तपाईंलाई केही गर्दिन म अब सुत्छु भनेँ,’ उनले भनिन्, ‘उ अलिकति ढोकाबाट निस्कन खोज्दै थियो मैले धकेलेर फालिदिए र घर्‍याप्पै ढोका लगाएर भित्र गएँ।’

उनको घर एकान्तमा छ। ससुराको घर १० मिनेटको दूरीमा पर्थ्यो।

त्यसपछि प्रहरी हवल्दार चन्द बाहिर उभिएर के गर्छे भन्दै चियोचर्चा गर्दै थिए। तर, त्यसपछि पीडित महिलाले आफन्तलाई फोन डायल गरेर घटनाबारे भनिन्।

त्यसपछि उनका ससुरा अन्य गाउँले आएपछि आफू इप्रका मझघटुवा रातिनै पुगेको उनले बताइन्। पीडित महिलाले पीडकमाथि हदैसम्मको कडा कारवाही हुनुपर्ने माग गरिन्।

फूपुले मलाई मध्यरातमा रूँदै सहयोग माग्नुभयो – पीडितकी भतिजी

तुलसीपुरमा भेटिएकी पीडित महिलाकी २२ वर्षीया भतिजीका अनुसार बिहीबार राति साढे दश बजेतिर सबैभन्दा पहिले उनकी फूपुले रुँदै फोन गरिकी थिइन्।

‘पानी खाने बाहानामा एउटा प्रहरीले मलाई बलात्कार गर्‍यो र कतै भने ज्यानै लिने धम्की दिएको छ,’ फूपुले रूँदै भनेको कुरा स्मरण गर्दै भतिजीले सेतोपाटीसँग भनिन्, ‘म त मरे मर्छु अहिलै थाना जान लागेकी छु। तिमी मलाई सहयोग गर्छौं कि नाई भनेर भन्नुभयो।’

त्यसपछि पीडित महिलाकी भतिजीले उक्त कुरा बैतडीमा रहेका आफ्ना पतिलाई बताइन्। त्यसपछि उनका पतिले नाताले आफ्ना फुपाजु तथा पीडित महिलाका ससुरालाई त्यो कुरा भनिदिए।

लगतै उनका ससुरा र अन्य गाउँले बुहारीको घरमा पुग्दा बुहारीले प्रहरी हवल्दार चन्दले गरेको सबै कुरा भनिदिइन्। त्यहीबाट गाउँले र उनका ससुरा मिलेर जिल्ला प्रहरी प्रमुख एवम् एसपी बेलबहादुर पाण्डे र प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजाललाई घटनाबारे जानकारी गराए।

त्यसपछि तत्कालै एसपीले तुलसीपुरलाई निर्देशन दिएर उक्त हवल्दारलाई पक्राउ गर्न आदेश दिए। ‘मलाई पीडित महिला र आफन्तले मध्यराततिर फोन गर्नुभयो । त्यसपछि मैले तत्कालै त्यहाँ गएर आरोपितलाई पक्राउ गरेर थुनामा राख्न निर्देशन दिएको हुँ,’ एसपी पाण्डेले सेतोपाटीसँग भने, ‘तपाँईहरु ढुक्क हुनुहोस् पीडितको जाहेरी परेको छ। छानविन हुन्छ र आरोप प्रमाणित भए सामान्य नागरिकलाई झैं काननु अनुसार कारबाही हुन्छ।’

पीडित महिलाका ससुराले पनि रक्षक नै भक्षक बनेको भन्दै हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन्। उनका अनुसार बलात्कारको अभियुक्त प्रहरी हवल्दार राति गाउँकै इप्रका मझघटुवा पुग्दा भित्र पुगिसकेका थिए।

त्यहाँ रहेका केहीले प्रहरी हवल्दार चन्दको बचाउ गर्दै गर्दा एक जना प्रहरीले भने हवल्दार चन्द भर्खरै आएको जानकारी दिएका थिए।

‘एक जना प्रहरी मित्रले राम्रो गर्नुभयो। गलत गर्ने कसैलाई पनि जोगाउन हुँदैन भन्दै हवल्दार चन्द भर्खरै भित्र प्रवेश गरेको आफूले देखेको बताइदिनुभयो,’ पीडित महिलाका ससुराले भने, ‘त्यसको केही बेरमै तुलसीपुरबाट प्रहरीको गाडी आइपुग्यो र प्रहरी हवल्दार चन्दलाई समातेर लग्यो।’

प्रतिक्रिया दिनुहोस