३१ भदौ, सुर्खेत । नेकपा (माओवादी केन्द्र)की नेतृ तथा पूर्वमन्त्री उर्मिला विकले आधारभूत वर्गको अधिकार खोस्ने गरी संविधान संशोधन गर्न नमिल्ने चेतावनी दिनु भएको छ । समाजवादी सम्पर्क मञ्च कर्णाली प्रदेशको आयोजनामा सोमवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको ‘समाजवाद र संविधान संशोधन’ विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै नेतृ विकले यस्तो चेतावनी दिनु भएको हो ।
उहाँले देशी विदेशी प्रतिगामी शक्तिहरुले संविधान संशोधन गर्न खोजेको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो ‘संविधान संसोधनको कुराले आधारभूत वर्ग दलित महिला र पछाडि पारिएको वर्गको अधिकार खोस्न मिल्दैन । यो समावेशी र समानुपातिक प्रणालीले पछाडि पारिएको वर्गलाई राज्यसत्ताको पहुँचमा पुर्याएको हो । यो ठुलो बदिदानबाट आएको अधिकार हो ।’
उहाँले महिलालाई ३३ प्रतिशत अधिकार पुर्ण नभएको भन्दै यो पनि कार्यान्वयनमा आउन नसकेको बताउनु भयो । जनता र देशको आवश्यकता अनुसार संविधान संशोधन हुनुपर्छ तर नेताको स्वार्थमा होईन उहाँले भन्नु भयो । उहाँले माओवादी कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने भन्दै समाजवादका लागि जस्तो सुकै त्याग गर्न तयार भएको बताउनु भयो ।