३१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो ।
सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै सर्वोच्च अदालतले आत्माको चीर शान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
सर्वोच्च अदालतका तर्फ वाट अदालतका प्रवक्ता भद्रकाली पोखरेलले वुधावर एक प्रेस विज्ञप्ति जारी गरी यस्तो जानकारी गराउनु भएको हो ।
सप्तरी जिल्लामा वि.स. १९७६ सालमा जन्मिनु भएका सिंहले २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गर्नु भएको थियो । विसं २००३ देखि सरकारी सेवामा बडाहाकिम पदबाट सिंहले सेवा प्रारम्भ गर्नु भएको थियो ।