मान गुमाउँदै माननीयहरू !

असाेज २९, काठमाडौं । यौन दुर्व्यवहार आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पद मात्र गुमाउनु भएन, प्रहरी हिरासतमै पुग्नु भएकाे छ। उहाँ तत्कालीन माओवादीबाट दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएकाे थियाे ।

कांग्रेसका तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित मो. अफ्ताब आलम १२ वर्ष अघिको घटनामा तानिनु भएकाे छ । आइतबार पक्राउ पर्नु भएकाे उहाँ पनि हिरासतमै हुनुहुन्छ । पहिलो संविधानसभा चुनावका बेला बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोग उहाँलाई लागेको छ।

 

 

 

राष्ट्रिय जनता दल (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रमोद कुमार साहलाई मंगलबार मात्रै प्रहरीले पक्राउ गरेको छ। जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोप उहाँमाथि लागेको छ।

कानुन बनाउने महवपूर्ण जिम्मेवारीमा रहेका जनप्रतिनिधि एकपछि अर्काे गरी पक्राउ पर्न थालेका छन्। यौन दुर्व्यवहारदेखि व्यक्ति हत्याजस्ता जघन्य अपराधमा तानिनुले नेताहरूमा नैतिकताको प्रश्न उठ्न थालेको छ। ‘ल मेकर नै ल ब्रेकर भएपछि यस्ता घटना दोहोरिरहन्छन्’, विश्लेषक चन्द्रदेव भट्ट भन्नुहुन्छ, ‘आम मान्छेले सोच्न पनि नसक्ने घटनामा सांसदको नाम जोडिएर नियमित जसो पक्राउ पर्नुले राजनीतिमा नैतिक आचरणको खडेरी रहेको प्रस्ट हुन्छ।’

सांसद नै एकपछि अर्का कानुनविपरीतका कार्यमा संलग्न भएका घटना सार्वजनिक हुनुले सार्वभौम संसद्कै बदनामी भइरहेको विश्लेषक बताउँछन्। सांसदहरूको गैरकानुनी कार्यले राजनीतिप्रति गलत सन्देश गइरहेको टिप्पणी हुँदै आएको छ।

राजनीतिलाई सही मार्गमा लैजान कानुनसँगै नैतिक आचरण महत्तवपूर्ण हुने बताउनु हुन्छ, वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्य। ‘विगतमा हामीले परिवर्तनका नाममा समाजको नैतिक पुँजीलाई समग्र रूपमा नष्ट गर्‍यौं। नैतिक पुँजी सकिएपछि यसले समाजमा अपराधलाई प्र श्रय दिने नै भयो’, उहाँ भन्नुहुन्छ, ‘हिंसाको राजनीतिलाई हामीले वैधानिकता दियौं। पैसा, शक्ति र अहंकारको राजनीतिको परिणाम राजनीतिमा अपराध बढेको छ।’

तत्कालीन सभासदहरू गायत्री साह, बीपी यादव, शिवपुजन राय यादव र नारदमुनी राना कूटनीतिक राहदानी दुरुपयोगमा मुछिएका थिए। उनीहरूविरुद्धको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ । रानाले विशेष अदालतबाट सफाइ पाउनु भएकाे छ । सांसद रेशमलाल चौधरी टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई जेल सजाय भोगिरहनु भएकाे छ । उहाँ राजपाका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएकाे थियाे । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित समाजवादी पार्टी नेता हरिनारायण रौनियार भ्रष्टाचार मुद्दामा निलम्बित हुनु भयाे ।

बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरूबारे दिएको अभिव्यक्ति विवादास्पद भएपछि शेरबहादुर तामाङ मन्त्री पदबाटै हट्नुपर्‍यो। काठमाडौं महानगरको मेयर हुँदा कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि केशव स्थापित प्रदेश ३ को मन्त्री पदबाट राजीनामा दिन बाध्य हुनु भयाे । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री दीर्घ सोडारीको नाम एक महिलासँग जोडिएपछि नेकपाले उहाँलाई कारबाही गर्‍यो भने मन्त्रीबाट पनि हटायो।

किर्ते अभियोग लागेका नवराज सिलवाल प्रतिनिधिसभामा ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि लामो समय प्रहरीको खोजीमा रहनु भयाे । नेकपा नेतृत्वको सरकार गठनपछि मात्रै उहाँ सार्वजनिक हुनु भयाे । मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सदस्य निर्वाचित राजीव गुरुङ अर्थात् दीपक मनाङे पनि लामो समय ‘भूमिगत’ हुनुपर्‍यो। १३ वर्ष अघिको कुटपिट घटनाका कारण मनाङेको सांसद पद धरापमा परेको थियो। उहाँले सांसद निर्वाचित भएको महिनौंपछि शपथ लिनु भयाे ।

दण्डहीनताका कारण राजनीतिको आवरणमा अपराध बढेको विश्लेषक भट्टको निष्कर्ष छ। ‘नेताहरूले राजनीतिलाई पेसाका रूपमा अगाडि बढाए, पेसाको सुरक्षाका लागि उनीहरूले जे पनि गर्न थाले’, उहाँ भन्नुहुन्छ, ‘दण्डहीनताले पनि राजनीतिमा अपराधीकरण हावी भयो।’ राजनीति र ब्युरोक्रेसीबीचको नेक्ससका कारण पनि अपराधले बढावा पाएको उहाँको ठम्याइ छ। ‘प्रभावशाली व्यक्तिहरूको आपराधिक कार्यप्रति सबै निकायले आँखा चिम्लने अवस्था रह्योे’, उहाँ भन्नुहुन्छ, ‘उनीहरूको अपराधकर्मको संरक्षण भयो।’ यो खबर खगेन्द्र भण्डारीले अन्नपूर्ण पाेष्टमा लेख्नु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस