फागुन ५ , काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उहा अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन् ।
सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्नु हुन्थ्यो र माघ २१ गते बुधबार विद्यालयबाट घर हिँड्नु भएकी उहाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।
दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल उहाको शव भेटिएको थियो ।
घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो संलग्नता स्वीकार गरेकाले आज सार्वजनिक गर्ने तयारी रहेको प्रहरी स्रोतले बताएको छ ।
भट्टले घटनामा संलग्नता स्वीकार्दै साबिती बयान दिएको भन्दै बैतडी प्रहरी स्रोतले भन्यो, ‘बदला लिन यस्तो गरेँ भनेका छन् ।’ उसो त प्रहरीले घटनामा संलग्न हुनसक्ने आशंकामा कञ्चनपुरबाट एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको थियो ।
घटनामा उहा संलग्न भएको हुनसक्ने आधारहरु देखिएको प्रहरीको दाबी थियो । तर उहाले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै डीएनए परीक्षण गर्न चुनौति दिनु भएको थियो ।