रास्कोटको एक स्वास्थ्य केन्द्र आफै विरामी, औषधि र भवन अभावले गाईगोठ

४ जेठ, कालिकोट । विरामी मान्छेको उपचार गर्न स्थापना गरिएको रास्कोट नगरपालिकाको एक स्वास्थ्य केन्द्र आफै विरामी परेको छ ।

रास्काेट नगरपालिकाको वडा नम्वर ८ पाटेडिलमा स्थापना गरिएको विकल्प स्मृति आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रयाप्त औषधि र भवन नहुदा आफै विरामी भएको हो ।

अहिले स्वास्थ्य केन्द्र अधुरो भवनका कारण गाईगोठमा परिणत भएको छ । स्थानीयवासीहरुले स्वास्थ्य केन्द्रको भवनमा पराल राख्ने देखि गाईगोरु राख्ने गरेका छन ।

पुरानो एककोठे कच्ची भवनबाट सेवा दिइरहेको स्वास्थ्य केन्द्रमा एक महिनादेखि सामान्य रुगाखोकी र ज्वरोसम्मको औषधिको पनि अभाव छ ।

स्वास्थ्य केन्द्रका एक कर्मचारीले आफूहरुसंग एक महिनादेखि सिटामोल, मेट्रो, डाइजिन, एकोक्सिलिङ्ग र जीवनजल मात्रै रहेको र शनिवार मात्र केही औषधि पुगेको जनाएका छन ।

सेवाग्राहीहरुले सामान्य रुखाखोकी ज्वरो आउदा स्वास्थ्य केन्द्रमा पुग्दा समेत औषधि नपाउने गरेको गुनासो गरेका छन ।

उनले ३९ प्रकारको औषधि निशुल्क उपलब्ध हुनुपर्ने भएपनि स्वास्थ्य केन्द्रमा प्रयाप्त औषधि नहुने गरेको बताए ।

स्वास्थ्य केन्द्रमा औषधि र जनशक्तिको समस्या त छदै थियो तर विरामीको आराम गरी उपचार गर्ने भवन नहुदा निकै अप्ठ्यारो भएको छ । स्वास्थ्य केन्द्रको अहिलेको प्रमुख समस्या भनेको अधुरो भवन हो ।

अहिले पुरानो गाविस हुदा बनाईएको गाउँघर क्लिनिकको जस्तापाताले छाएको त्यो पनि भत्किन लागेको एक कोठे भवन छ । त्यसै भवनबाट सेवा दिनुपर्ने बाध्यता रहेको स्वाथ्यकर्मीले बताएका छन ।

स्वास्थ्य केन्द्रको शौंचालय समेत नहुदा नजिकै रहेको विद्यालयको शौंचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा ३५ लाख बजेटमा वर्थिङ सेन्टरको लागि भवन बनाउन खोजिएपनि त्यो बजेट अभावले अधुरो भई गाईगोठमा परिणत भएको हो ।

बर्थिङ्ग सेन्टरको भवनका लागि आर्थिक बर्ष २०७८/०७९ को अन्तिमतिर ३५ लाख बजेट आएपनि उपभोक्ता समितिले काम गर्न नसक्दा १५ लाख फिर्ता गएको छ । अहिले २० लाख बजेटमा भवनको पिलर हालेर र ढलानसम्म गरिएको छ । अरु कुनै काम भएको छैन ।

समय अभावले काम गर्न नसक्दा १५ लाख बजेट फिर्ता गएको स्थानीयले बताएका छन । त्यसपछि अपुग बजेट थप गरेर भवन पूर्ण बनाउनुपर्नेमा अझैसम्म हुन नसकेको स्थानीयले दुखेसो पोखेका छन ।

नगरसरकारले भने यसप्रति कुनै ध्यान दिन नसकेको स्थानीयको गुनासो छ । नगरपालिकाका उपप्रमुख मनिराज बरालको घरपनि सोही स्थानमा छ । जनप्रतिनिधिहरुले पनि ध्यान दिन नसकेको गुनासो छ ।

सरकारले तीन–तीन वर्षसम्म पनि बजेट व्यवस्थापन गरेर स्वास्थ्य केन्द्रको भवन बनाउन नसक्दा विरामीहरुले समयमै उपचार त पाउन सकेका छैनन नै स्वयम स्वास्थ्य केन्द्र नै विरामी परेको छ ।

विरामी स्वास्थ्य केन्द्रको समयमै उपचार गर्न र त्यसपछि विरामी मान्छेको उपचार गर्ने बातावरण बनाउन सम्बन्धित पक्षसंग स्थानीय वासीहरुले जोडदार माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस