४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौर,मदन आश्रित र दरबार हत्याकाण्डको छानविन हुनुपर्ने वताउनु भएको छ । उहाँले विगतका भयानक र विभत्स हत्याकाण्डकहरुको पुनः छानबिन हुनुपर्नेमा जोड दिनु भएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विगतका हत्याकाण्डहरुको नयाँ शिराबाट छानबिन गर्नुपर्ने वताउनु भएको हो ।
आम जनता पार्टीका संयोजनक तथा सांसद साहले रौतहटको गौरमा २०६३ सालमा भएको हत्याकाण्डको छानबिन के भइरहेको छ ? अपराधीहरु कानुनको दायरामा आउँछन् कि आउँदैनन् ? भनी प्रश्न सोध्नु भएको थियो ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले गौर मात्र नभई दरबार हत्याकाण्ड, मदन भण्डारी र जीवराज आश्रितको मृत्युको घटनाको पनि अनुसन्धान गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो ‘विगतका सबै विभत्स र भयानक हत्याकाण्डहरुको नयाँ शिराबाट छानबिन हुनुपर्छ । चाहे त्यो गौरको केस होस् चाहे त्यो भयानक दरबार हत्याकाण्ड नेपालको इतिहासकै सबैभन्दा विभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छ’ ।‘मदन आश्रितको पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ ।’ यस्ता घटनाको पुनः छानबिनका लागि राजनीतिक स्तरमा सहमति हुनुपर्छ ।’
तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी २०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र विभत्स हत्याकाण्ड भएको थियो । यस्तै विस २०५० साल जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रितको त्रिसुलीमा षड्यन्त्रपूर्ण गाडी खसाली हत्या गरिएको थियो ।
यस्तै विस २०६३ साल चैत्र ७ गते रौतहटको गौरमा तत्कालिन नेकपा माओवादीका २७ जना कार्यकर्ताको हत्या गरिएको थियो ।
यी हत्याकाण्डका दोषिहरु अझै पत्ता लगाउन सकिएको छैन भने उनीहरु माथि कार्वाही पनि भएको छैन । सरकारले वेला वेला छानविन पनि वनाएपनि केवल झाराटार्ने काम वाहेक कुनै प्रगति हुन सकेको छैन ।