बेथिति रोक्न माग गर्दै पचालझरना गाउँपालिकालाई नेकपाकाे खबरदारी

 

 असार, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले स्थानीय तहमा हुने बेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै पचालझरना गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

आईतवार नेपाल कम्युनिष्ट पार्टीले पचालझरना गाउँपालिकामा हुने गरेका विभिन्न विकृति विसंगति तथा वेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै नेकपाले गाउँपालिकालाई ज्ञापनपत्र बुझाउदै खवरदारी गरेको हो ।

नेकपाका जिल्ला सेक्रेटरी शाहसी सीको नेतृत्वमा नेकपाका पचालझरना गाउँ कमिटी इन्चार्ज दिलमान सी, सेक्रेटरी दिपराज सी, जिल्ला कमिटी सदस्य तखत सी, सुजन सी लगायतको टोलीले गाउँपालिका अध्यक्ष देवराज शाहीको कार्यकक्षमै भेट गरी ज्ञापनपत्र वुझाउदै पालिका भित्रका हरेक विकासे योजना तथा सेवामुलक कार्यहरुको जनता समक्ष सार्वजनिक सुनुवाई गर्न माग गरेको छ ।

नेकपाले स्थानीय सरकारका जनप्रतिनिधिहरुले जनताको रकम काम नगरेर विल मिलाई खाने,योजनाको कमिशन माग्ने,कार्यकर्ता पोस्ने, नीतिगत देखि योजनागत भ्रष्टाचार गर्ने लगायतका बेथितिहरु प्रयाप्त देखिको जनगुनासाहरु आएको भन्दै जनताको करवाट उठेको पैसाको उचित प्रयोजन नगरे त्यस्ता भ्रष्टहरुमाथि नेकपा जनकार्वाही गर्न वाध्य हुने चेतावनी दिएको छ ।

नेकपाले पालिका सरकारलाई पेश गरेको आफ्नो १९ बुँदे ज्ञापनपत्रमा उपभोक्ता समिति वनाउदा सेटिङ्ग मिलाउने गरेको,वास्तविक पीडित जनताले राहत नपाउने गरेको, कर्मचारी नियुक्तिमा नातवाद र कृपावाद तथा घुसपैठ गर्ने गरेको, श्रम ऐन अनुसार अस्थायी कर्मचारीहरुलाई पारिश्रमिक नदिएको जस्ता कार्यहरु भईरहको तर्फ सचेत गराउदै यस्ता कार्य रोक्न माग गरेको छ ।

यस्तै नेकपाले पालिका भित्र लघुवित्तको व्याजदर १ अंकमा कायम गरिनुपर्ने, यातायात व्यवसायीको मनपरी भादादर रोकिनुपर्ने, यातायात दुर्घटना रोक्नका लागि बाटोको स्तर बृद्धि गर्नु पर्ने, नाफामूलक भन्दा सेवा मुलक काममा यातायात सेवा प्रयोग हुनुपर्ने,कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिनुपर्ने, एनजीओ आइएनजिको राजनीतिकरण बन्द गरिनुपर्ने, जातीय भेदभाव गर्ने माथि कडा कार्वाही गरिनुपर्ने, पालिका भित्र समान र गुणस्तरीय शिक्षा लागु गरिनु पर्ने, पालिकाले जनताको विमा गर्ने वातावरण मिलाउनु पर्ने, एम्वुलेन्स सेवा सहुलियत हुनुपर्ने, जाँड रक्सी जुवातास बन्द गरिनुपर्ने लगायतका मागहरु राखेको छ ।

नेकपाका जिल्ला सेक्रेटरी शाहसी सीले हस्ताक्षेर गरेको ज्ञापनपत्र गाउँपालिका अध्यक्ष देवराज शाहीलाई हस्तान्तर गर्दै नेता साहसीले आफ्ना मागहरु प्रति व्यवास्ता नगर्न विशेष ध्यानाकर्षण गराउनु भयो ।

सो अवसरामा पालिका सरकारको तर्फवाट अध्यक्ष देवराज शाहीको जनसरोकारका विषयका मागहरुमा स्थानीय सरकारले विशेष ध्यान दिने प्रतिवद्धता जनाउनु भएको नेकपा श्रोतले जनाएको छ ।

यसअघि नेकपाले स्थानीय तहमा हुने बेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै शुक्रबार रास्काेट नगरपालिकालाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस