२ साउन,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले सबै कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध बनाई समाजवाद तिर लैजान समाजवादी मोर्चा बनेको बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा मंगलबार जनपत्रकार संगको अनौपचारिक कुराकानीका क्रममा प्रवक्ता प्रकाण्ड सीले समाजवादमा जान २००६ साल देखीका सबै क्रान्तिकारी कम्युनिष्टहरू एकतावद्ध हुनुपर्ने बताउनु भएको हो ।
प्रवक्ता प्रकाण्डले नेपालमा दलाल पूँजीवादले देश संकटमा परेको दाबी गर्दै दलाल पूँजीवादी व्यवस्था परिवर्तनका लागि एकमात्र उद्देश्य राखि समाजवादी मोर्चा बनेको बताउनु भयो ।
अहिले समाजवादी मोर्चा गठनले कम्युनिष्ट, क्रान्तिकारी, शक्ति, प्रगतिशील, बामपन्थी, देशभक्त शक्ति बीच सकारात्मक प्रभाव परेको बताउदै उहाँले नेपाली जनताको प्रमुख दुश्मन दलाल पूँजीवाद भएको बताउनु भयो ।
उहाँले माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सहभागी समाजवादी मोर्चा मात्र नभई सबै नेपालका कम्युनिष्ट क्रान्तिकारी, प्रगतिशील शक्तिहरुलाई समेत सहभागी गराउने उद्देश्यले मोर्चा गठन भएको बताउनु भयो ।
उहाँले भन्नु भयो ‘यो मोर्चालाई साँधुरो घेराबाट हेर्नु हुदैन, यसको उद्देश्य सबै समाजवाद चाहने शक्तिलाई समेट्ने छ । यसमा एमाले, तथा काङ्गेस भित्रका प्रगतीशील समाजवादी पनि आउन सक्छन ।’
प्रवक्ता प्रकाण्डले नेपालमा अब संसदीय व्यवस्थाको ठाउँमा नेपाली विशेषताको समाजवादी गणतन्त्र स्थापना अनिवार्य भएको पनि जिकीर गर्नु भयो ।