तालिमको संदेश, अवसर र चुनौतिहरु

कर्ण बिश्वकर्मा ।

क्रान्तिकारी पत्रकार संगठन नेपालको आयोजनामा तिन दिने जनपक्षीय पत्रकारिता तालिमको २०७५ साल पौष २६ गते कालिकोट जिल्लाको राष्कोट नगरपालिकाको आरसिपि बजारमा उद्घाटन हुदै थियो । म भन्ने कार्यालयको कामले सदरमुकाम मान्ममै थिए । सदरमुकाम मान्ममा तालिमको आयोजना गर्न सम्भव थिएन । म पौष २६ गते बिहान सदरमुकाम मान्मबाट रास्कोट लागे । रास्कोटमा कर्णाली अञ्चलका सवै जिल्ला बाट पत्रकार साथिहरु सहभागी थिए । तालिम दिउसो ३ बजे बाट सुरु हुदै थियो ।

“आस्था, विचार, प्रेस तथा अभिव्यक्ति स्वत्रन्त्रताको सुनिश्चितता श्रमजीविको हक, हित र जनपक्षीय पत्रकारिताको बिकासमा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ ३ महिने जन सञ्चार अभियान अन्तरगत तीन दिने तालिमको क्रान्तिकारी पत्रकार संगठन नेपाल भेरी कर्णाली ब्युरो संयोजक टिका केसीको अध्यक्षतामा उदघाटन भयो ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम बिष्ट, कोषाध्यक्ष जानकी चौधरी, धौलागिरी गण्डकी ब्युरो संयोजक ओम हमाल, केन्द्रीय सदस्य जगदिशनाथ योगि, नेकपा नेता समर, रणदिप, कन्चन शाही, निर्देशन सुनार र जिल्ला जनसरकार प्रमुख सम्रग लगायतका नेता तथा पत्रकारको सहभागीता रहेको थियो ।

उदघाटन कार्यक्रममा अध्यक्ष प्रकाश डुम्रेले जनपक्षीय पत्रकारिता मार्फत सोषण दमन र उत्पीडनमा परेका जनताको आवाजलाई बुलन्द बनाई समाजको आमूल परिवर्तनको लागी जनपक्षीय पत्रकारहरूले समाचार संकलन गर्ने, लेख रचनाहरु सम्पादन तथा प्रकाशन गरि जनताई सूसुचित गनुपर्ने बताउनु भयो । सम्बोधनका क्रममा अध्यले डुम्रेले आस्था, विचार, प्रेस तथा अभिव्यक्ति स्वत्रन्त्रताको सुनिश्चितता श्रमजीविको हक, हित र जनपक्षीय पत्रकारिताका बारेमा सधै आफ्नो संगठनले ओकालत गर्ने पनि प्रतिबद्धता गर्नु भयो ।

मैले भन्ने तालिमको उदघाटनमा अतिथि तथा सहभागी साथिलाई आयोजकको तर्फबाट स्वागत गरेको थिए । त्यो दिन उद्घाटन कार्यक्रम भव्य र सभ्य रुपमा सकियो । अव भने अर्को दिन वाट विधागत विषयमा तालिम सुरु हुदै थियो ।

सोही शिलशिलामा पौष २७ गते देखि २९ गते सम्म विधागत तालिम संचालन भयो । तालिममा कर्णाली अञ्चल बाट ४० जना पत्रकार साथिहरुको सहभागिता रहेको थियो । तालिममा जनपक्षीय पत्रकारिताको बारेमा पनि तालिम दिएको थियो । संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले सहभागीहरुलाई जनपक्षीय पत्रकारिताको माध्यमबाट जनताका जनजिवीका र राष्ट्रियताका मुद्धाहरुलाई प्राथमिकता दिदै समाज परिवर्तनको पहरेदार बन्न आग्रह गर्नु भयो ।

तालिममा संगठनका केन्द्रीय महासचिव हिम विष्ट, कोषाध्यक्ष जानकी चौधरी, धौलागिरी गण्डकी ब्युरो इन्चार्ज ओम हमालले सहभागी साथिहरुलाई खोजमुलक पत्रकारिता, जोखिम पत्रकारिता लगायत विभिन्न विधामा प्रशिक्षण दिनु भयो । समग्रमा तालिमले समाजमा हुने विकृति, विसंगति, भ्रष्टाचार, हत्या हिंसा, बलात्कार कालो वजारी, कमिसन खोर तथा दलालीकरणको पूर्ण अन्त्यको लागि आफ्नो खबरदारीको यात्रा जारी राख्न निर्देशन दिएको छ । साथै कर्णाली प्रदेशका जिल्लाहरु भित्र लुकेर वसेका विभिन्न घटनाहरु बाहिर ल्याउनु, आर्थिक, सामाजिक, साँकृतिक रुपमा जनताको जीवनस्तरमा परिवर्तन ल्याउन भुमिका खेल्नुपर्ने पनि तालिमको संदेश रहेको छ ।

बिकट दुर्गम अविकसित गाउँ, सहर वस्तिहरुका समस्याहरुलाई उजागर गरी समस्याको सामाधान खोज्नुका साथै मुलुकभरका समस्याहरुको समाधान खोज्न जसका लागि म मेरो भन्ने विचारलाई निरुत्साहित गर्दै हामी र हाम्रो भन्ने विचारको प्रोत्साहन गर्दै जनपक्षीय पत्रकारिता गर्न पनि तालिमले निर्देश गरेको छ ।

पौष २९ गतेको दिन थियो । तालिमको अन्तिम दिन पनि हो । जसरी पनि त्यो दिन ३ बजे सम्म तालिम सक्ने लक्ष्य थियो । लक्ष्य अनुसार विहान ८ बजे बाट शुरु भएको तालिम दिउसो ३ बजे पछि समापन भयो । तालिम समापन संगै जिल्लाको पत्रकारहरुको संगठन वनाउने कार्यक्रम पनि थियो । सोही योजना अनुसार स्वय मेरो संयोजकत्वमा ९ सदस्सीय जिल्ला भेला आयोजक समितिको गठन भयो । नयाँ जिम्मेवारी मेरो लागि अवसर र चुनौति दुवै थियो ।

अवसर र चुनौतिहरु

अवसर भन्ने कुरा दुई खाले हुन्छन । एउटा सजिलो वेलाको अवसर र अर्को चुनौति र जोखिम उठाउन तयार हुने अवसर । सजिलो अवसर जोकोहि लिन तयार हुन्छन । तर चुनौति र जोखिम उठाउने अवसर जो कोहि लिन तयार हुदैनन् । सजिलो अवसर भित्र गन्धा फोहरी, असमानता, विभेदका कुरा हुन्छ भने चुनौति र जोखिम अवसर भित्र सुन्दरता, समानता र मुक्तिका कुरा हुन्छन । त्यसैले त्यस्तो अवसर प्राप्त गर्न चुनौतिको सामना गर्न जोकोहिलाई आउनु पनि त पर्यो ? यो मेरो लागि महान अवसर पनि हो । जनताको पक्षमा कलम चलाउने कुरा सामान्य कुरा पनि होइन । सर्वहारावर्गको पक्षमा कलम चलाउने कुरा र नेतृत्व गर्ने कुरा मैले मेरो जीवनको लागि महान अवसरका रुपमा लिएको छु । लिनु पनि पर्छ भन्ने लागेको छ ।

अर्कोकुरा जनपक्षीय पत्रकारहरूले आम जनताको पक्षमा कलम चलाउनु पर्छ । शोषण र उत्पीडनमा परेका जनताको पक्षमा कलम चलाउनु पर्छ । भ्रष्ट ,दलालहरुको विकृति विसंगति हटाउन र सभ्य समाज निमार्णका पक्षमा कलम चलाउनु पर्छ । जनताको पक्षमा कलम चलाउदा चलाउदै आवश्यकतामा वलिदान दिन पनि तयार वन्नु पर्छ । विगतमा कृष्णसेन इच्छुक लगायतका दर्जनौ पत्रकारहरुले गणतन्त्र ल्याउने महाअभियानमा आफ्नो वलिदान दिएका छन । यस्तै यस्तै चुनौतिहरु मेरो काँधमा थपिएको अनुभूति भएको छ ।

नयाँ जिम्मेवारी र नेतृत्व गर्नु आफैमा एउटा चुनौतिको विषय पनि हो । अझै दलाल संसदीय व्यवस्थाको गुणगान गाउने र संरक्षण गर्ने पत्रकारीताका विरुद्ध जनपक्षिय पत्रकारीताको कलम चलाउने कुरा सामान्य कुरा पनि होइन । त्यसैले पनि धेरै चुनौतिहरु मेरो काँधमा छन । त्यस्ता चुनौतिहरुको सामना गर्न तयार नै छु भन्ने लाग्छ । आउने दिनमा अवसर र चुनौति दुवैलाई सहि तरिकाले सदुपयोग गर्ने मार्गमा दृढतापूर्व लाग्ने छु । साथै तालिमले दिएको संदेश र जिम्मेवारी पुरा गर्नेछु ।

प्रतिक्रिया दिनुहोस