स्वास्थ्य कार्यालय कालिकोटमा बिरामी बढे चिकित्सक छैनन्

मङि्सर २, कालिकोट । स्वास्थ्य सेवा कार्यालय कालिकोटमा दिन प्रतिदिन बिरामीको संख्या बढ्दै गए पनि चिकित्सकको भने अभाव छ। चिसो मौसम सुरु भएसँगै स्वास्थ्य सेवा कार्यालय बिरामीको चाप बढ्दै गएको छ।

बिरामीको चापअनुसार चिकित्सक छैनन्। मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, झाडापखाला, दम, निमोनिया, टाइफाइडलगायत विभिन्न सरुवा रोगको संक्रमण बढेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. भीष्म पोख्रेलले दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि अस्पताल आउने गरेको बताउनु भयाे । मौसम परिवर्तनसँगै बिरामी बढे पनि अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी नहुँदा बिरामीको उपचारमा समस्या भएको उहाँको भनाइ छ।

चाप बढेपछि बिरामीलाई नाम लेखाउनकै लागि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ। बिरामीले टिकट काट्न संघर्ष गर्नुपर्ने उपचारका लागि आएका सन्तोष मल्लले बतानु भयाे । उहाँका अनुसार स्वास्थ्य सेवा कार्यालयमा दक्ष चिकित्सक भेटाउन मुस्किल पर्छ। पोख्रेलका अनुसार दरबन्दीअनुसार जनशक्ति नहुँदा समस्या भएको हो। आवश्यक दरबन्दी पूरा गर्न प्रदेश सरकारसँग पटक पटक अनुरोध गरे पनि माग सुनुवाई नभएको उहाँले बतानु भयाे ।

आठ जना डाक्टर हुनुपर्ने स्वास्थ्य सेवा कार्यालयमा हाल एकजना डाक्टर मात्रै छन्। स्वास्थ्य सेवा कार्यालयमा जम्मा २९ जनाको दरबन्दी छ। तीनजना विशेषज्ञ डाक्टरको दरबन्दी खाली छ। स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले राज्यले दरबन्दीअनुसार चिकित्सक नपठाउँदा समस्या भएको तर्क गर्नुभयो । याे समाचार बिस्नप्रसाद न्याैपानेले अन्नुपूर्ण पोष्टमा लेख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस