वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा हुम्लाका महेन्द्र पाण्डे पक्राउ

६ माघ, काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा हुम्लाका महेन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

हुम्लाको अदानचुली गाउँपालिका–४ घर भइ काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसी भनिने महेन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेको हाे ।

उनलाई टोखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

पक्राउ परेका उनीविरुद्ध प्रहरी वृत्त सिंहदरबारबाट अनुसन्धान अघि बढाइएको छ ।

माघ २ गते त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौंको दक्षिण गेट बाहिर कुटपिट भएको थियो ।

प्रहरीले यसअघि कुटपिटको आरोपमा ललित केसी नाम गरेका व्यक्तिलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस