६ चैत्र बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरले गैंडाको खागसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकावाट गैंडाको खाग बरामद गरेको पहिलो घटना हो ।
गैंडाको खाग विक्रीका लागि एक करोड रुपैयाँमा मोलमोलाई भइरहेकै सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनु भयो ।
उहाका अनुसार गैंडाको खागसहित नवलपरासीको बुलिङ्टार गाउँपालिका–२, का ३५ बर्षिय कृष्ण पुलामी मगर र सिन्धुली ग्यङ्लेख गाउँपालिका–५, का ३४ का सुरेश सिजाली पक्राउ परेका हुन् ।
लामो समयदेखि वन्यजन्तु चोरी तस्करीमा लागेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पछ्याउने क्रममा कोहलपुर नगरपालिका–११ बाट पक्राउ गरिएको हो ।
कोहलपुर नगरपालिका–११ मा शंकास्पदरुपमा हिँडिरहेका दुई जनालाई चेकजाँच गर्ने क्रममा कृष्ण पुलामी मगरको साथबाट दुई थान त्रिभुज आकारको गैंडाको खाग बरामद भएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिनु भयो । नायव उपरीक्षक खनालका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा पठाइएको छ ।
यसअािघ बिहीबारमात्रै चिसापानी बजारबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला, भालुको पित्त र कस्तुरीको बिनासहित ३ जनालाई पक्राउ गरिएको थियो । प्रहरीले बरामद गरेको सामान झण्डै दुई करोड रुपैयाँ बराबरमा बिक्रीका लागि मोलमोलाई भएको थियो । मोलमोलाई भइरहेकै अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस