आयात रोक्न नसक्नु नेपालको कमजोरी: नेता विषम

चैत ५, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले नुनदेखि सुनसम्म आयातमा भरपर्दा मुलुक गरिबीको दलदलमा फसेको बताउनु भएको छ ।

नेपाली राजनीतिक दलहरूले कुर्सी मात्र परिवर्तन गर्न जानेका, देशको नीति अर्थतन्त्र सुधारका लागि उत्पादन वृद्धिका लागि र आयात रोक्न नसक्नु दलका नेताहरूको कमजोरी भएको उहाँले टिप्पणी गर्नुभयो ।

शनिबार नेकपा कालिकोटले आयाेजना गरेको सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बाेल्दै नेता विषमले यस्तो टिप्पणी गर्नु भएको हो ।

नेता विषमले सीमा, नेपाली भूमिको रक्षा र नेपाली जनताको आफ्नो मौलिकतामाथि विदेशीले हस्तक्षेप गर्दा वर्तमान सरकारले प्रतिवाद गर्न नसक्नु दास मनोवृत्ति भएको उहाँले आरोप लगाउनु भयाे ।

उहाँले जनयुद्धका कमाण्डर नै वर्तमान सरकारका प्रमुख रहनु भएका प्रचण्ड नेता बन्न सफल भए पनि कम्युनिष्ट हुन नसकेको टिप्पणी गर्नुभयो ।

खुर्सानी पनि भारतबाट आयात गर्ने, दश रुपियाँको साग किन्न सीमा क्षेत्रका नागरिकले भारत जानुपर्ने विडम्बनापूर्ण अवस्था रहेको भन्दै उहाँले नेपाललाई आत्मनिर्भर बनाउने तर्फ सरकार तथा दलका नेताहरूले ध्यान दिन नसकेको बताउनुभयो ।

नेताहरू आत्मकेन्द्रित, परिवारवाद र नातावादमा फसेको उहाँको आरोप छ । नेताहरू देशलाई आत्मनिर्भर बनाउनु भन्दा शक्ति केन्द्रको चाकडी मात्र गर्ने काममा लागेको उहाँले बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का नेता तथा संविधान सभा सदस्य तुलाराज विष्टले प्रचण्ड मुलुकको प्रधानमन्त्री हुँदैमा कम्युनिष्ट नेतृत्वको सरकार भन्न नमिल्ने बताउनु भयो ।

देशको रूपान्तरण र विकासका लागि सबै कम्युनिष्ट शक्तिहरू एक भएर अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनु भयो ।

कालिकोट जिल्ला इन्चार्ज बलवान् सीकाे अध्यक्षतामा रहेको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा कर्णाली मुक्ति मोर्चाका संयोजक विराट सी, मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी, केन्द्रीय सदस्य अविचल सी, जिल्ला अधिकारी जाेरासिंह माझी, प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल, अनुसन्धानका डिएसपी नित्यानद ढुंगाना, सम्पूर्ण राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि, पत्रकार लगायत विभिन्न सरकारी गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिकाे सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस