रुकुम पश्चिमको झड्पका तीनजना घाइते नेपालगञ्ज ल्याइयो


७ माघ, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारमा मंगलबार भएको झडपमा परी घाइते भएका वडाअध्यक्षसहित तीनजनालाई थप उपचारका लागि नेपालगञ्ज पुर्याइएको छ ।
नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा कांग्रेस निकट आठबीसकोट नगरपालिका –९, का वडाध्यक्ष तारकबहादुर शाहीसहित पाँचजना घाइते हुनु भएको थियो । घाइते वडाध्यक्ष शाहीसहित तेजविक्रम आरसी र दीपक केसीलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक लालबहादुर सुनारले बताउनु भयो । अन्य दुईजनाको भने आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।
प्रनि सुनारका अनुसार सोमबार बेलुका सुरु भएको झडप मंगलबार दिनभर चलेको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाई फायर गर्नुका साथै केही सेल अश्रुग्यास पनि प्रहार गरेको थियो । मंगलबार बेलुकी ५ बजेदेखि राडी बजारमा अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
दुवै पक्षबीच छलफल गराउने तयारी भइरहेको नेपाली कांग्रेस रुकुम पश्चिमका उपसभापति धिरेन्द्रकुमार बटालाले बताउनु भयो ।
उपसभापति बटालाका अनुसार मंगलबार इलाका प्रहरी कार्यालय आठबीसकोटमा छलफल भइरहेका बेला नेकपा निकट वडा नम्बर–८ का वडाध्यक्ष मानबहादुर चदाराले प्रहरीको अगाडिनै चक्कु प्रहार गरेपछि विवादले उग्ररुप लिएको थियो ।
विवादमा संलग्न ८ जनालाई नियन्त्रयामा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले बताउनु भयो । डीएसपी श्रेष्ठका अनुसार नेकपा निकट वडा नम्बर–८, का वडाध्यक्ष मानबहादुर चदारा र वडा नम्बर–३ का वडाध्यक्ष केशरमान विकसहित आठ जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई सुरक्षा र थप उपचारका लागि जिल्ला सदरमुकाम खलंगा ल्याइएको डीएसपी श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस