प्रधानमन्त्रीले गरे उपराष्ट्रपति र सभामुखको आलोचना


८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुखको आलोचना गर्नु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन सरकारविरुद्ध भाषण गर्दै हिडेको र सभामुख अग्निप्रसाद सापकोटा झगडिया भएको उहाले बताउनु भयो ।
नेकपा ओली समूहले शनिबार बिराटनगरमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले निर्वाचनको पक्षमा उभिन उपराष्ट्रपतिलाई आग्रह गर्नु भयो । ‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गरेर हिँड्नु भएको छ’ उहाले भन्नु भयो , ‘म उहाँँलाई भन्न चाहन्छु, उहाँको पदले सरकारविरुद्ध भाषण गरेर हिँड्ने, संविधान मिचियो, प्रतिनिधिसभा विघटन गरेर वेठिक भयो भन्न मिल्छ ।’
चुनाव नगर्ने पृष्ठभूमिबाट आएपनि अब चुनावतिर आउनुस् भन्दै उहाले व्यंग्य समेत गर्नु भयो ।
प्रधानमन्त्री ओलीले सरकारसँग झगडिया बनेको भन्दै सभामुखको पनि आलोचना गर्नु भयो ।
संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्ध सभामुख सापकोटाले सर्वोच्चमा मुद्धा हाल्नु भएको छ । त्यसतर्फ संकेत गर्दै प्रधानमन्त्रीले भन्नु भयो , उहाँ सरकारविरुद्ध मुद्दा हाल्न कुद्नु भएको छ । सरकार विरोधी झगडया हो सभामुख ।’
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी छिट्टै पक्राउ पर्ने बताउनु भयो ।
भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनापछि प्रधानमन्त्रीले महिलाहरुको बलात्कार र हत्या गर्नेहरुलाई पानी मुनी गएपनि नछाड्ने भनेको र त्यसलाई आफूहरुले पुरा गरेको उहाले बताउनु भयो । गृहमन्त्री बादलले भन्नु भयो , ‘निर्मलाको बलात्कारी, हत्यारा पनि कानूनको पञ्जा नजिक आइसकेको छ । त्यसलाई पनि हामी छिट्टै कानूनी कठघरामा उभ्याउने छौं ।’

 

 

प्रतिक्रिया दिनुहोस