कर्णालीमा स्ववियु निर्वाचन : अखिल क्रान्तिकारी १५, नेविसंघ १२, अनेरास्ववियु ५ र १ मा स्वतन्त्र विजयी

चैत ६, कालिकोट । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत कर्णालीका ३३ वटा क्याम्पसको परिर्णाम सार्वजनिक भएको छ।

जसमा माओवादी निकट अखिल क्रान्तिकारीले लिड गरेको छ। सोमबारसम्म परिणाम सार्वजनिक भएका ३३ क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारी १५, नेपाली कांग्रेस निकट नेविसंघ १२, नेकपा एमाले निकट अनेरास्ववियु ५ र एक स्वतन्त्र स्ववियु सभापति निर्वाचित भएका हुन्।

कर्णालीमा मध्यपश्चिम विश्वविद्यालय र त्रिभूवन विश्वविद्यालय अन्तर्गतका ३८ वटा क्याम्पस र १ विश्वविद्यालय छन् भने तीनवटा विश्वविद्यालयका आंगिक क्याम्पस प्रदेश बाहिर छन् ।

प्रदेशभित्रका ३९ वटामध्ये ३३ वटा क्याम्पसहरूको नतिजा सार्वजनिक भइसकेको छ। मध्यपश्चिम विश्वविद्यालयसहित चारवटा क्याम्पसमा विविध कारण चुनाव हुन सकेन ।

मध्यपश्चिम विश्वविद्यालय र त्यसका आंगिक क्याम्पस नारायण बहुमुखी क्याम्पस दैलेख, मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिममा स्ववियू निर्वाचन हुन सकेन ।

मध्यपश्चिम विश्वविद्यालय र मुसिकोटमा उच्च अदालतमा रिट परेको कारण चुनाव हुन सकेन भने नारायण क्याम्पसमा विद्यार्थी संगठन र निर्वाचन टोलीबीचमा आपसी मदभेदका कारण चुनाव हुन सकेन।

यस्तै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका जाजरकोटको नलगाड बहुमुखी क्याम्पस र दैलेखको कोटदेवल क्याम्पस अवलपराजुलमा पनि विवादका कारण चुनाव रोकिएको छ ।

नलगाडमा मतदानको अन्तिमतिर फर्जी मत हालेको विषयलाई लिएर विवाद भएकाले पुन: चुनाव गर्ने वा त्यसैलाई सहमतिका आधारमा अघि बढ्ने भन्ने विषयमा निर्णय आएको छैन।

यस्तै सबैले प्रतिष्ठाको विषय बनाएको सुर्खेत बहुमुखी क्याम्पसको नतिजा पनि आउन बाँकी छ। प्रारम्भिक नतिजामा नेकपा एमाले निटक अनेरास्ववियुले लिड गरिरहेको छ ।

नतिजा आएका करिब १७ वटा क्याम्पसमा निर्विरोध रुपमा चुनाव सम्पन्न भएको थियो भने आइतबार १८ वटा क्याम्पसमा चुनाव भएको थियो। त्यसमध्ये नलगाडमा बीचैमा विवाद हुँदा चुनवा रोकिएको छ।

कपुरकोट बहुमुखी क्याम्पस सल्यानमा भने स्वतन्त्र उम्मेदवार रामप्रसाद आचार्यले जितेका छन्। उनी नेविसंघबाट टिकट नपाएपछि स्वतन्त्र लडेका थिए।

प्रतिक्रिया दिनुहोस