६ जेठ कालिकोट । रास्कोट नगरपालिकाको मुखैमा रहेको पञ्च आधारभूति विद्यालय खानेपानी अभाव,चोरी र कमिशनको घेरामा परेको छ ।
नगरपालिकाको वडा नम्वर ७ पुछ्रेगाउँमा रहेको यो विद्यालय खानेपानी अभाव, चोरी र कमिशनको घेरामा परेको हो ।
विद्यालयमा खानेपानी अभाव भएको करिव दुई बर्ष विति सक्यो । खानेपानी नहुदा विद्यार्थीहरुले दुषित कुलोको पानी पिउनु पर्ने बाध्यता छ । अधिकास साना वालवालिकाहरुले कुलोको पानी पिउने गरेको अभिभावकहरुले बताएका छन ।
२०८० को बर्षायाममा आएको बाढीले बगाने खोला नजिकै हुभिडबाट ल्याएको पानीको मुहान बगाएर लगेपछि विद्यालयमा खानेपानीको समस्या हुदा बालबालिकाहरु कुलोको पानी पिउन बाध्य भएका हुन ।
नगरपालिकाको कार्यालयको मुखैमा रहेको यस विद्यालयमा पानी अभावले शिक्षक विद्यार्थीहरु तड्पिएको झण्डै २ बर्ष पुगेपनि नगरसरकार भने कानमा तेलहालेर सुतेको छ । विद्यालयको समस्याप्रति कुनै जिम्मेवारी बोध देखिएको छैन ।
विद्यालयका एक शिक्षकले कार्यालय सहयोगीले गाउँको टाढा मुहान भएको धाराबाट एक जर्किन पानी ल्याएर शिक्षकहरुले पिउने गरेको बताएका छन । तर उनले भने ‘ विद्यार्थीहरु शौंचालयको लागि भनेर ल्याएको कुलाको पानी पिउन बाध्य छन’
शिक्षकले नाम नखुलाउने गरी भने ‘पानीको लागि धेरै राजनीति भयो । हुरूण्डेक संस्थाले विद्यालयमा पिउने पानीको लागि भन्दै निर्माण सामग्री र ज्यालाको लागि ३ लाख रुपैया दिएको थियो । पानीको मुहान सम्झौताको नाममा राजनीति भयो । दिनकै पानीको नाममा पार्टी गर्दै एक लाख बढीको रक्सी खाए । तर अन्ततः मुहान सम्झौता गर्न नसक्दा संस्थाले निर्माण सामग्री सहित योजना फिर्ता लियो ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल रोकायाले अध्यक्ष हुदा विद्यालयलाई जग्गा दान दिन्छु भन्दै अध्यक्ष भएर पछि विद्यालयलाई जग्गा नदिएपछि विवाद हुदा अभिभावकहरू पानीको मुहान विद्यालयलाई दिन नमानेको उनले बताएका छन ।
बनपनेराबाट पानी ल्याउने भनेपछि हुरूण्डेक भन्ने गैरसरकारी संस्थाले निर्माण सामग्री र ज्याला बापत ३ लाख दिने बचन दिएको थियो । तर पानीकै मुहानको विषयमा सल्लाह नमिल्दा संस्थाले आफ्नो योजना फिर्ता लिएको एक स्थानीयले बताएका छन ।
व्यवस्थापन समितिका अध्यक्ष विशाल रोकायाले विद्यालयमा पिउने पानीको समस्या भएको स्वीकार गर्नुभयो ।
उहाँले बालबालिकाहरुलाई कुलोको पानी नखान वारम्वार भनेको र अभिभावकहरुलाई समेत बोतलमा पानी दिएर वालवालिका विद्यालय पठाउन सुझाव दिएको बताउनु भयो ।
चोरी काण्ड
विद्यालयमा पानीको समस्या त छदै थियो त्यसैमा चोरीको समस्यामा पनि थपिएको छ । विद्यालयमा बेला –वेला अनियमितता र चोरी हुने गरेको स्थानीयवासीले गुनासो गरेका छन ।
हालसम्म विद्यालयमा २ पटक चोरी भएर ४ बटा कम्युटर हराएको एक शिक्षकले बताएका छन । कम्प्युटर चोरी गर्ने चोरहरुलाई समेत पत्ता लगाएर २ लाख ५० हजार तिर्नेसम्म सहमति भयो ।
तर सहमतिको उल्लंघन गर्दै विद्यालयलाई १ लाख ७० हजार मात्रै दिएको एक शिक्षकले बताएका छन । उनले त्यो पैसा पनि विद्यालयको खातामा जम्मा नगरेको खुलासा गरेका छन । विद्यालयका शिक्षकबाटै पनि २ बटा ल्यापटप गायव पारिएको सूचना प्राप्त भएको छ ।
एक शिक्षकले भने ‘ल्यापटपको विषयमा बारम्बार कुरा उठ्छ, तर बिग्रिएको छ बनाउन दिएको छ भनिन्छ, कहिल्यै ल्यापटप ल्याईदैन । सरकारी समान त बिग्रे पनि दाखिला त गर्नुपर्ने होला’
कमिशन काण्ड
यस्तै यो विद्यालयमा खानेपानी र चोरीको समस्यासंगै एउटा ठुलो कमिशन काण्डको समस्या पनि थपिएको छ ।
आर्थिक बर्ष २०७८। ०७९ मा विद्यालयबाट माओवादी केन्द्रका नेताहरुले बजेट हालिदिने नाममा अग्रीम ४ लाख कमिशन खाएको तथ्य सार्वजनिक भएको छ ।
विद्यालयका तत्कालिन प्रअ उपेन्द्र न्यौपानेले आफै रकम लिएर माओवादी नेतृ उषालाई दिएको खुलासा गर्नु भएको छ ।
नगरका धेरै विद्यालयबाट पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही, नेतृ उषा, नगरप्रमुख धर्मराज शाही (पोषण) माओवादी नेता भैरे तिरुवा र माओवादी शिक्षक उपेन्द्र न्यौपानेले लाखौं कमिशन संकलन गरी खाएको समाचार यसअघि पनि प्रकाशित भएको थियो ।
यो विद्यालयमा ८० लाख बजेट हाल्ने शर्तमा ७ लाख कमिसन मागेपनि ४ लाख मात्रै कमिशन बुझाएपछि बजेट ४० लाख आएको विद्यालयका शिक्षकले नै बताएका छन ।
यसरी हेर्दा यो विद्यालय समस्या –समस्याहरुकै घेरा भित्रबाट चलिरहेको छ । स्थानीयवासीहरुले शिक्षा जस्तो पवित्र ठाउँमा सबै प्रकारका बेथितिहरु रोक्न माग गरेका छन ।
उनीहरुले विद्यालयको खानेपानी देखि अन्य विद्यालयका समस्याहरु समाधानतिर पहल लिन पनि नगरसरकारसंग अनुरोध गरेका छन ।