दैलेखमा सवारी दुर्घटना हुँदा ३ को मृत्यु, ३ गम्भीर घाइते


कार्तिक ४ सुर्खेत । गुराँस गाउँपालिकाको बान्द्रे र तल्लो डुगेश्वरमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मंगलबार दिउँसो गुराँस गाउँपालिकाको बान्द्रेमा बा–४ ख ६७७१ नम्बरको टिपर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।
मृतकको पहिचान खुल्न नसकेको र घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले बताउनु भएको छ । टिपर सडकबाट करिब ९ सय मिटर तल लोहोरेखोलामा खसेको छ
त्यस्तै सुर्खेतबाट जम्भुकाँध जाँदै गरेको ना–३ ख ५५१९ नम्बरको बस तल्लो डुंगेश्वरमा दुर्घटना हुँदा चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका ललित नेपालीको मृत्यु भएको छ ।
कर्णाली राजमार्गको तल्लोडुंगेश्वर नजिकै सडकमा रोकिएको टिपरमा बस ठोकिँदा दुर्घटना भएको डीएसपी श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार बसमा सवार १४ यात्रु घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस