अन्तरजातीय बिहे छुटेपछि ‘आत्महत्या’, दुरुत्साहन मुद्दा चलाउन माग

७ असार, विराटनगर । भोजपुरको षडानन्द नगरपालिका– १४ बोयाका १९ वर्षीय संगम ठटाल (दर्जी) मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको मुद्दा चलाउन अधिकारकर्मीले माग गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै उनीहरुले वडाध्यक्ष झङ्कबहादुर रोकाको रोहबरमा ठटाललाई कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिनेलाई आत्महत्या दुरुत्साहनको मुद्दामा कानुनी कारबाही गर्न माग गरेका हुन् । ठटाल जेठ १५ गते मृत भेटिनु भएको थियो ।

भोजपुरको षडानन्द नगरपालिका– १४ बोयाका १९ वर्षीय संगम ठटाल (दर्जी) ट्याक्टरमा मजदुरी गर्नु हुन्थ्यो । विपन्न परिवारका संगमको षडानन्द–१३ बोयाकै श्रेष्ठ थरकी किशोरीसँग प्रेम थियो ।

जेठ १० गते उनीहरुबीच प्रेम विवाह भयो । भोलिपल्ट किशोरी खोज्दै प्रहरी, जनप्रतिनिधि र आफन्त संगमको घर पुगे । दुवैलाई प्रहरी चौकी बोयामा झिकाइयो । संगम र किशोरीले राजीखुसी विवाह गरेको भन्दै छुट्न चाहेनन् ।

तीन घण्टाको छलफलपछि युवती १६ वर्षकी भएको भन्दै प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरका दुवैलाई आफन्तको जिम्मा लगायो ।

जेठ ११ गते दिउँसो करिब ३ बजे संगमलाई बुबा गोरखबहादुर दर्जीले घरमा लिनु भएको थियो । भोलिपल्ट निस्किएका संगम दुई दिनसम्म घर नफर्किएपछि १४ गते वडाध्यक्ष झङ्कबहादुर रोकालाई सम्पर्क गर्नु भयो । खोजी गर्दा १५ गते बेलुका घरदेखि करिब डेढ घण्टा टाढा रहेको जंगलमा ठटालको शव भेटियो ।

प्रहरीमा मिलापत्र गराउनुअघि ठटाललाई कुटपिट गरी धम्की दिइएको दलिक अधिकारकर्मी उमेश विश्वकर्माले वताउनु भएको छ ।
धम्की र यातनाका कारण आत्महत्या गरेकाले वडा अध्यक्षसहितलाई दुरुत्साहनको मुद्दा चलाउन माग गर्दा प्रहरीले उजुरी नलिएको उहाले बताउनु भयो ।

घटनालगत्तै आत्महत्या दुरुत्साहनसहित जातीय भेदभाव छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को कानुनी प्रावधान अनुसार मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाउन आग्रह गर्दा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको उहाले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस